धरान । चौतर्फी विरोध पछि अन्ततः धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्रबाट कार्यभार सञ्चालन शुरु गरेका छन् ।
फागोलाई मेयर हर्कराज राईले कावाको जिम्मेवारी दिएर युके गएपनि मेयरको कार्यकक्षमा ताला लागेको थियो भने सहयोगी बस्ने स्थानबाट कार्य सञ्चालन गरेका थिए । तर चौतर्फी विरोध भएपछि भने विहीबारदेखि भने मेयरकै कार्यकक्षमा टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् ।
उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११ नम्बर वडाध्यक्ष फागोले हिजोबाट कामकाज थालेका हुन् ।मामा ससुरा नाता पर्ने वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर हर्क साम्पाङ श्रीमती र छोरासहित लन्डन उडेका छन् । ताला खोलेर फागो त्यहीँ बसेर काम गरिरहेका छन् । केही सिफारिसहरूमा तोक लगाएको उनले बताए ।फागोले भने, ‘सेवाग्राहीहरू कम आएका छन् आएकाहरूको अधिकारले पाए सम्मको काम गरिरहेको छु । ’
आफू कार्यालय भन्दा बढी फिल्डमा खटिएको भन्दै उनले भने, ‘मैले मागेर लिएको होइन । मेयरले दिनु भयो मैले मेयरले दिएको जिम्मेवारी निर्वाह गरिरहेको छु ।’उनले प्रमुख प्रशासकीयसँगको सल्लाहमा आफूले सिफारिसहरूमा तोक लगाउने काम गरिरहेको बताए ।
फागोले थपे,‘कानून हेरेर नै मेयर सा’बले मलाई जिम्मेवारी दिनु भएको होला । कानून अनुसार छ छैन उहाँले जान्ने हो ।
मैले होइन ।’‘मेयर सा’बले मलाई कावा दिएर हिँडेपछि विवाद सुरू भएको छ । मलाई पनि काम गर्न समस्या होला भन्ने लागेको थियो । मेयर साप धरानमा भइन्जेल कसैले छलफल गर्नु भएन अहिले नभएपछि विवाद झिकिएको छ । उहाँ हुँदा हुँदै छलफल गरेको भए समस्या समाधान हुन्थ्यो’, उनले भने ।आफूलाई कार्यवाहकको जिम्मेवारी दिएको विषयको जिम्मा मेयर सापले नै लिने भन्दै फागो भन्छन्, ‘ मैले मागेर पाएको होइन ।
उहाँले विश्वास गरेर दिनुभयो । उहाँले पनि कानून हेरेर दिनुभएको होला । यसबारेमा मेरो केही भन्नु छैन ।’वडाध्यक्ष फागो भन्छन्, ‘तपाईँलाई पनि सबै कुरा थाहा नै छ । मलाई किन कानूनको कुरा भन्न लाउनु हुन्छ ? मैले अह्राएको काममात्रै गरेको हो । अहिले म हानेको ढुंगा भएको छु ।’वडाध्यक्ष फागो नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।
उनी कार्यवाहक तोकिएको विषयमा नेपाली काङ्ग्रेस धरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । वुधबार कांग्रेस बाहेक धरानमा क्रियाशील ६ दलले मेयर कदम कानूनविपरीत र नीच भएको टिप्पणी गरेका थिए ।
आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको पत्र थमाएपछि उपमेयर आइन्द्रविक्रम बेघाले भने कानूनी उपचार खोज्ने बताएका छन् । उनले कानूनको रक्षाका लागि अदालत जाने पत्रकार सम्मेलन नै गरी आफुले कार्यबाहक मेयरको जिम्मेवारी कानुनी रुपले पाउनु पर्ने दाबी गर्दै आएका छन् ।
तस्वीर,संजिता धमलाको फेसबुकबाट