इलाम/ शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् ।
बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् ।
विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् ।
मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन् । विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन् ।
बाढीले काबेली करिडोर एक सय ३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख विजुलीप्रसाद यादवले बताए । सो प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिकाको महमाईमा रहेको ५१ नम्बरको टावर ढलेपछि तार तानिएर ५०, ५२ र ५३ नम्बरलाई क्षति पुगेपछि विद्युत् अवरुद्ध भएको उनले बताए ।
तीन दिनअघि गएको पहिरोले महमाईमा काबेली करिडोरको टावर ढलेको थियो ।
बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ती तीन जिल्लामा सञ्चालनमा रहेको आयोजनाको झण्डै एक सय ८५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।
टावरमा क्षति पुग्नुअघि यो लाइनबाट दैनिक एक सय ८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने र यी क्षेत्रमा विद्युत् सेवा वितरण सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।
यसैबीच, विद्युत प्राधिकरणले बत्ती बाल्ने प्रयास भइरहेको जनाएको छ । प्राधिकरण इलाम प्रमुख यादवले क्षतिग्रस्त टावर मर्मत भइरहेकाले सकेसम्म चाँडो विद्युत् सेवा सुरु गर्ने प्रयास भइरहेको बताए ।
‘मर्मतको काम धमाधम भइरहेको छ, सम्भवत आजसम्म लाग्न सक्छ’, उनले भने
भोजपुरमा पुरै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध
भोजपुर । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो ।
वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जोड्ने भोजपुर–घोडेटार सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ ।
वर्षाका कारण सडक हिलाम्मे बन्दा यातायात सञ्चालनमा समस्या भएको हो । अविरल वर्षाका कारण जिल्लालाई पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमाअन्तर्गत लेगुवा–भोजपुर–चखेवा सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।
यो सडकखण्डको अरुण गाउँपालिका–४ माङसुवा, ओदाने र टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीमा खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएकोे छ ।ग्रामीण क्षेत्रका सडकमा पहिरो खस्दा स्थानीयलाई समस्या भएको छ ।
हतुवागढी गाउँपालिकाको घोडेटार–होम्ताङ सडकमा पहिरो खसेर अवरोध भएकाले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिका क्षेत्रका धेरैजसो सडकमा क्षति पुगेकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको अध्यक्ष राईले बताए ।
दक्षिणी क्षेत्रको तराईका जिल्लासँग जोड्ने एक मात्र विकल्पका रूपमा रहेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार झोलुङ्गे पुलमा बाढी क्षति पु¥याएको छ ।
अविरल वर्षाका कारण हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुर बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीको झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा समस्या भएको हो । यहाँ पक्की पुल नहुँदा यही झोलुङ्गे पुलको मध्यमबाट मानिस तराईका जिल्ला पुग्ने गरेका थिए ।
योसहित दक्षिणी क्षेत्रका चारवटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
वर्षासँगै आएको पहिराले भोजपुर नगरपालिका–४ की चन्द्रकला श्रेष्ठको घर र वडा नं ५ मसिनेबेँसीका भीमबहादुर दाहाल घरमा क्षति पुगेको, टेम्केमयुङ गाउँपालिका–६ गुठाका डिकबहादुर सार्कीको गोठ पुरिँदा दुई बाखा र तीन बोका गरी पाँच वटा चौपाया मरेका, टेम्केमैयुङ–६ कै स्वास्थ्यचौकी पनि पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।