एकाएक आज दिउँसो एउटा फेटा गुथेको भर्भराउँदो अनुहार भएको सरदारजी घरको गेट अघिल्तिर उभिए ।
उनी कतै घुम्न निस्केका यात्रु होलान् भनेर मैले ठाने । म तिर फर्किएर उनले सोधे “भाइ यो पोखरेलको घर हो?” मैले “हो नि, कसलाई खोज्नु भा हो हजुरले?” भनेको उनी केही नबोली मेरो गेटबाट भित्र छिरे । “बालक, तिमीले बा आमालाई ढाँटेकोमा चिन्ता लिइ रहेको जस्तो लाग्छ नि, हो ? ” भन्दै आगनको पिङमा बसे ।
यिनले कसरी थाह पाए रु म सोच्न थालेँ । “के भाको थियो भेलोरमा, मलाई सुनाऊ” भने बुढाले ।
मैले बेलिबिस्तार लगाए “पिताजीको घाँटीबाट खाना निलिन कठीन हुन थालेपछि हामीले दक्षिण भारतको भेलोरमा भएको CMC (क्रिस्चियन मेडिकल कलेज) मा जँचाउन लाने सल्लाह गर्यौं । भाइजीले ‘पैसाको चिन्ता नगर्नु, म छु’ भन्दिए पछि उपचारमा जाने आँट हाम्रो आयो ।
पिताजीलाई लिएर आमा, भाइजी र म भेलोर जाने भयौं । ट्रेनको टिकट किन्न सिलिगुडी जानुपर्थ्यो त्यो बेला । मैले टिकट लिएर आएँ सिलिगुडी पुगेर – न्यु बंगाइ गाउँबाट त्रिभेन्द्रम जाने ट्रेनको । २०४२ साल भदौ ११ गते एन।जे। पि। बाट हिनेको ट्रेन ४४ घण्टा लाएर भेलोरको काटपाडी स्टेसन पुग्यो झण्डै आधारातको समयमा ।
ट्याक्सीले अस्पताल अगाडि छोडिदियो र MG Road मै हामीले पनि एउटा होटल लिएर त्यो रात गुजार्यौं ।“
म भन्दै गएँ “बेथेल गेस्ट हाउसमा भोलि पल्ट स्थायी बास बनाउने तय भयो । दुइटा कोठा र भान्साको भाडा पर्थ्यो दिनको ३५ रुपियाँ । त्यसैमा स्टोभ, कराई, कुकर, डाडुपुन्यु, थाल कचौरा गिलास, पानी थाप्ने बाल्टी र जग, चप बोर्ड, छुरी, आरी, नाङ्लो यावत सामग्री पाइने ।
सस्तो जुग थियो त्यो – अंगुर ४ रुपियाँ किलो, मौसम ५ रुपियाँ दर्जन् । दुधको कथा झनै रोचक देखियो पहिलो पल्ट – गाई र बाल्टी अनि नाप्ने लिटरका भाँडा लिएर घरघरै आउँदा रहेछन् ग्वालाहरु । १ लिटर दुध माग्योभने तुरुन्त गाई दुहुने र नापेर दिइहाल्ने । फेरि अर्को ग्राहककोमा गइहाल्ने ।
गाई पनि कति साधु ? जतिपटक दुहे पनि नाइनास्ति छैन ।“
मैले बिस्तारै सुनाएँ “१८ दिन भेलोर बसियो पिताजीको चेकअपका लागि ।
डाक्टरले “बढीमा ६ महिना हो उहाँको, इसोफेगसमा मेलिग्ना छ” भन्दिए पछि भाइजी र मैले सल्लाह गर्यौं कि यो खबर आमा पिताजीलाई नसुनाउने ।
बरु डाक्टरसंग केही नयाँ नामका भिटामिनजन्य औषधी लेखिमाग्ने र “६ महिनामा फेरि आउनु भनेर डाक्टरले यी दबाईहरु दिएर पठायो” भनेर ढाँट्ने । हामीले आमा पिताजीलाई ढाँट्ने पाप पनि दक्षिण भारतको भेलोरमा पुगेर कमायौं । आमाले “तेसो हो भने तिरुपति र जगन्नाथपुरी हामी पुगेका छैनौ, त्यहाँ पुर्याओ त हामीलाई” भन्नु भो ।
हामी लजबाट बाहिर निस्कियौं र पर्सी पल्टको जगन्नाथ पुरी जाने ट्रेनको टिकट काट्यौं । अनि तिरुपतिका लागि अहिल्यै निस्कौं, उतै बास बसौंला भनेर लज फर्कियौं ।“
“त्यसपछि हामी एकरात तिरुपति बसेर वेङ्कटेश्वरको दर्शन गरेर भोलिपल्ट फेरि भेलोर बसेर अर्को दिन जगन्नाथका लागि निस्क्यौं । जगन्नाथ पुरीमा एकरात बस्यौं । पुरीको समुद्रको मजा लिएर हामी पुन कलकत्तामा बास बस्न आयौं । त्यसपछि सिलिगुडी हुदै अर्को दिन धरान फर्कियौं ।“
“पिताजीले हामीलाई त्यसै सालको माघ ७ मा छोडेर जानुभयो । भेलोरका डाक्टरले ६ महिनाको मुहलत दिएका थिए तर पिताजी त ५ महिनामै ‘। । ऊ बेला ढाँटेको अझै खिन्नता म भित्र जीवित छ” मैले सबिस्तार उनलाई भनेँ ।
पिङ्बाट जुरुक्क उठे उनी । फेटा खोलेर फ्याल्दिए । बुढा त चित्रगुप्त पो रहेछन् । “बा आमालाई चिन्ता बढ्छ भनेर राम्रो सोचेर मायाले ढाँटेको पाप लाग्दैन” भनेर हावा मै बिलाए उनी । मलाई आज भने मनको गह्रुँगो भारी बिसाएर हल्का भएको महसुस भयो ।
म उनी बसेकै ठाउँमा पिङ्मा गएर एकछिन बसेँ र मैले चित्रगुप्तको स्पर्शको न्यानो अनुभूति लिएँ ।
प्रा.डा राजेन्द्र शर्मा-धरान