रणध्वज लोहार
धरान । धरान उपमहानगरपालिकाले हरेक वर्ष खेलकुद क्षेत्रको विकासको लागि भनेर ठुलो भोल्युमको वजेट छुट्याएर कार्यान्वयन गर्ने गरेको भएपनि विद्यालय स्तरमा हुने त्यस्ता खेलको लागि भने बजेट नै छुटयाएर प्रतियोगिताहरुलाई सहयोग गरेको छैन ।
आधारभुत तहदेखि मावि तह सम्मको खेल आयोजना गर्दा चन्दाको भरमा प्रतियोगिताहरु आयोजना गर्ने गरेको पाइएको छ ।उपमहानगरले छुट्टै बजेट नदिँदा त्यस्ता विद्यालयहरुले आयोजना गर्ने टुनामेण्टहरुलाई प्रतियोगिता सम्पन्न गर्न टाउको दुखाई बन्ने गरेको छ ।
जस्ले गर्दा बालबालिका र विद्यार्थीहरुको लागि आयोजना गरिने त्यस्ता प्रतियोगिताहरु निरन्तरता गर्न कठिनाई हुने गरेको छ। शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाल विद्यालय स्तरमै आयोजना गरिने खेलकुदको लागि भनेर प्रावि स्तर र मावि स्तर भनेर बजेट बिनियोजन नभएको बताए । विबिध खेलकुद शीर्षकमा समग्र धरानका विद्यालयको लागि भनेर मात्रै डेढ लाख रुपैया मात्रै छ ।
छुट्टै शीर्षकमा वजेट विनियोजन हुने गरेको छैन । उपमहानगरको युवा तथा खेलकुद महाशाखा अन्र्तगत १ करोड वजेट बिनियोजना भए पनि त्यो बजेट विद्यार्थीको लागि भनेर छुट्याईदैन ।यसको ज्वलन्त उदाहरण निरन्तर विगत तीन बर्षदेखि सञ्चालित दीपेन्द्र कप पनि हो , उक्त प्रतियोगिता उपेक्षामा परेको छ । धरानलाई खेलकुदको उर्वर भुमिमा आधारभुत तहका विद्यार्थीको खेलकुदको विकासको लागि धरान १७ स्थिती दीपेन्द्र आधारभुत विद्यालयले आयोजना गर्दै आएको छ ।
तर खेल सम्पन्न गर्नको लागि आर्थिक कठिनाई हुने गरेको आयोजकको गुनासो छ । उक्त प्रतियोगितामा धरानभरीका सरकारी विद्यालयका विद्याथीहरु त्यो पनि कक्षा ५ सम्म अध्ययन गर्ने खेलप्रेमी विद्यार्थीको लागि आयोजना गरिँदै आएको भएपनि आर्थिक घाटामा खेल हुने गरेको छ ।
खेल आयोजना गर्नको लागि करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान भएपनि न्युनतम खर्चमा कार्यक्रम सम्पन्न हुँदै आएको छ । तर त्यहीँ खर्च जुटाउन पनि आयोजकलाई अत्यन्तै कठिनाई हुने गरेको छ ।
सोमबार मात्रै उक्त कप समापन गरिएको छ । तर आयोजकलाई भने खेल सम्पन्न गरेको आर्थिक कसरी तिरोतारो गर्ने भनेर टाउको दुखाई सुरु भएको छ । दीपेन्द्र आधारभुत विद्यालयका पूर्ब प्रधानाध्यापक पर्वत सञ्जेलका अनुसार प्रतियोगिता फुटवल क्षेत्रको विकास गर्न बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको भएपनि संम्बन्धित निकायको वेवास्ता र उपेक्षाका कारण खेललाई निरन्तरता दिन कठिनाई उत्पन्न हुने गरेको दुखेसो गरे ।
उनले भने,“हरेक वर्ष २ लाख भन्दा बढी खर्च हुन्छ,वडाले थोरै सहयोग गर्ने गरेको छ, नगरपालिकाबाट अलिकती र बढी चाहिँ सहयोगी हातहरुको चन्दा सहयोगबाट हामी खेल सम्पन्न गर्न बाध्य छौ ।”
उनले भने, जग राम्रो भयो भने न एउटा दह्रो घर बन्छ ,त्यसैले बाल खेलाडीको लागि स्थानीय सरकार र सरोकार राख्नेको ध्यान नै गएको देखिँदैन अनि कसरी सक्षम र सबल खेलाडी उत्पादन हुन्छ ।
खेलकुदको विकासका लागि विरुवा देखि नै प्राथमिकता दिनु पर्ने उनी बताउँछन् । अहिले सम्म हामीले जसोतसो कार्यक्रम चन्दाकै भरमा भएपनि गर्दैछौं अरु तिर पनि त्यस्तै होला, आगामी वर्षदेखि बाल खेलाडीलाई प्रोत्साहन गर्नको लागि बार्षिक कार्यक्रम र बजेट नै राख्नको लागि उनको माग रहेको छ ।
उपेक्षामा दीपेन्द्र कप
सरकारी विद्यालयको आधारभुत तहमा अध्ययन गर्ने विद्यार्थीको खेलकुद क्षेत्रमा विकास गर्ने उद्धेश्यले आयोजना गरिएको दिपेन्द्र कप २०८१ को समापन भएको छ ।
आयोजक दिपेन्द्र आधारभुत विद्यालय धरान १७ को आयोजना रहेको उक्त प्रतियोगितामा श्री दिपेन्द्र आधारभूत विद्यालयले पञ्चकन्या माविलाई हराएर विजेता भएको छ । सोमबार भएको प्रतियोगितामा दिपेन्द्रले पञ्चकन्यलाई ३ गोल गर्दै विजेताको उपाधी जितेको हो । उप विजेताको विद्यार्थीले गोल रहित खेल खेलेका थिए ।
प्रधानाध्यापक नन्दिका भण्डारीका अनुसार समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र टूफीसहित नगद १५ हजार र उपविजेता पञ्चकन्याले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच दिपेन्द्रका विवेक माझी, वेष्ट गोल किपर दिपेन्द्रका सन्देश दर्जी र वेष्ट प्लेयरको उपाधी दिपेन्द्रकै पावल विश्वकर्माले प्राप्त गरेका छन् ।
खेलको समापन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो भने खेल सम्पन्न गर्न सहयोग गर्ने सहयोगी हातहरुलाई हार्दिक आभार सहित सम्मान गरिएको पूर्ब प्रधानाध्यापक सञ्जलले बताए ।
सञ्जले कार्यरत रहेका बेला धरानमा नै पहिलो पटक आधारभुत तहका विद्यार्थीहरुलाई खेलकुद क्षेत्रको विकासको लागि दिपेन्द्र कप आयोजना शुरु गरेका थिए ।यो प्रतियोगिता तेश्रो संस्करण हो ।
एकदमै नयाँ र राम्रो कार्यक्रम शुरुवात भएपनि प्रतियोगिता सम्पन्न गर्नको लागि आर्थिक कुराले गाह्रो हुने गरेको सञ्जलले बताए ।