केही समययता सुनसरी, मोरङ र झापाका कतिपय स्थानमा सर्वसाधारण नागरिक जङ्गली हात्तीको त्रासबाट आतङ्कित छन् ।
झापा र मोरङका दक्षिणी क्षेत्रमा अवस्थित केही बस्तीमा त जङ्गली हात्तीको आतङ्क नयाँ होइन । त्यस्ता बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट थुप्रै नागरिकले ज्यान गुमाइसकेका छन् ।
केही समययता भने जङ्गली हात्तीको समूह पहाडी क्षेत्रतर्फ देखिन थालेको छ । पहिले जङ्गली हात्तीको आवागमन खासै नहुने क्षेत्रमा पनि जङ्गली हात्तीको आवागमन हुन थालेको छ ।
धरान–६, पानबारीमा पर्ने माछापुच्छ्रे बस्तीका बासिन्दा पनि हात्ती–आतङ्कबाट पीडित छन् । यहाँ भने पहिल्यैदेखि जङ्गली हात्तीले दुःख दिने गरेका छन् । करिब पाँच दर्जन घर–परिवारको बसोवास रहेको यो बस्तीका बासिन्दा जङ्गली हात्तीको त्रासका कारण रातभरि निदाउन सक्दैनन् ।
यहाँका बासिन्दाको दुःख यतिमै सीमित छैन । यहाँ रातभरि जङ्गली हात्तीको त्रास छ भने दिउँसो बाँदरको आतङ्क छ । त्यसो त वर्षा याममा खोलामा आउने बाढीको त्रासले पनि उनीहरूलाई निदाउन नदिने समाचार प्रकाशमा आएको छ ।
बस्तीमा दलित र जनजातिहरूको बसोवास छ । खोलामा आउने बाढीलाई नियन्त्रण गर्न नसक्दा बस्ती नै जोखिममा परेको समाचारमा उल्लेख छ । बस्ती संरक्षणका लागि स्थानीय सरकार, सांसद्लगायत पार्टीका नेताहरूलाई पटक–पटक गुहारे पनि कसैले वास्ता नगरेको बस्तीका बासिन्दाहरूको भनाइ छ ।
बस्तीलाई संरक्षण गर्न तारजाली लगाएर खोलालाई छेक्नु आवश्यक छ । यो चिन्ताको विषय हो । विपन्न समुदायको बसोवास रहेको यो बस्तीका मानिसहरूको दुःख सरकारको दृष्टिमा परेको छैन ।
बनिबुतो गरेर जसोतसो साँझ–बिहानको छाक टार्ने यी नागरिकहरूतर्फ स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।
आफ्ना नागरिकहरूको जीउधनको सुरक्षा गर्ने दायित्व सरकारको हो । पहिलो दायित्व स्थानीय सरकारको हो ।
स्थानीय सरकारले प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर तारजालीको व्यवस्था गर्नु अपेक्षित छ । विकास निर्माणका अन्य कामभन्दा नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखिनुपर्छ ।
राज्य धनीहरूको मात्र होइन, गरिबहरूको पनि हो भन्ने अनुभूति गरिबहरूले गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।
यसका लागि सबै तहका सरकारहरू नागरिकप्रति उत्तरदायी बन्नुपर्छ । नागारिकप्रति अनुत्तरदायी सरकार हुनु र नहुनुको कुनै अर्थ हुँदैन । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।