धरान/ पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
धरानमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका हुन ।
नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ ।
सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् ।
अहिले विजयपुरमा मात्र सरदर दैनिक ५ हजार भन्दा बढी सर्वसाधारण आउने गरेको बताइएको छ ।
लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिनुभयो । इलाम हुँदै इटहरी बसेर धरान आइपुग्नु भएकी उनलाई धरान असाध्यै राम्रो लागेको बताछिन् । पहिलो पटक धरान आएकी ढकालले कहिल्यै नआउनेलाई पनि एक पटक धरान आउन अनुरोध गरिन् ।
सुजातासँगै आएका लमजुङकै चन्द्रप्रसाद गुरुङले पनि धरान सोचेभन्दा राम्रो भएको बताइन् ।
उनले पूर्वका विभिन्न स्थान घुमिसकेर धरानको विजयपुरमा रहेको बुढासुब्बाको महिमा धेरै सुनेकोले दर्शन गर्न आएको सुनाइन् ।
उनले पहिलो पटक धरान आएको बताउदै बुढासुब्बा मन्दिरमा दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका साथ दर्शन गर्न आएको बताइन् ।
बुढासुब्बामा रहेको टुप्पो विनाको बासको विषयमा लमजुङ समेत चर्चा बढी भएकोले पहिलादेखि नै आउने मन भए पनि संजोगले यस पटक आउन पाएकोमा खुशी व्यक्त गरिन् ।
लमजुङबाट मात्र हैन काठमाण्र्डाैबाट धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा दर्शन गर्न आउनु भएका रुपा गुरुङ र सुनिता श्रेष्ठको भनाई पनि उस्तै छ । धरान पूरै घुम्न नपाए पनि जति घुम्यो त्यति रमणीय स्थल भएको उनीहरुको भनाई छ । यहाँको मठमन्दिर, वातावरण सबै राम्रो लागेको उनीहरुको भनाई छ ।
पोखराकी सुस्मिता केसीले समेत धरान घुम्न आउन पाएकोमा आफूलाई भाग्यमानी भएको सुनाइन् । पहिलो पटक समूहमा सवारी साधन रिजर्व गरेर आएकी उनले समेत धरानका विजयपुरमा रहेको मठमन्दिर, धरानको स्वच्छ वातावरण तथा रमणीय स्थलको अवलोकन गरेको बताइन् ।
उनीहरुमात्र हैन पछिल्लो समय धरानमा पूर्वदेखि पश्चिमसम्मका सर्वसाधारण समूह बनाएर घुम्न आउन थालेका छन् ।
यसले गर्दा धरानको चहलपहल समेत बढ्दै गएको छ । पूर्वको इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा घुमिसकेपछि आउने ठाउँ नै धरान बनेको छ । यहाँको रमणीय स्थलसँगै विजयपुरमा रहेका पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिरको दर्शन गरेर फर्किने गरेका छन् ।
पूर्वकै धार्मिक पर्यटकीय गन्तव्य स्थल धरान बन्दै गएको छ । यहाँ आउने अधिकांश पर्यटकले खानेपानीको असुविधालाई सुधार्न जरुरी रहेको सुझाव दिएका छन् ।
यहाँका तीनै सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिँदै बाह्य पर्यटक समेत भित्र्याउने वातावरण सिर्जना गर्ने खालका काम गर्न भने जरुरी देखिएको छ ।