धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पूर्ण जानकारी आमाहरुलाई नै थाहा हुने भएकोले पछिल्लो समय भयावह बन्दै गएको लागू औषध प्रयोगकर्ता र कारबारीको संख्या घटाउन आमाहरुद्वारा नै सहज हुने देखेर प्रहरीले आमाहरुलाई प्रशिक्षण दिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिकाको लर्निङ हलमा आयोजित कार्यक्रममा धरानका २० वटै वडाका आमाहरु, जनप्रतिनिधि, महिला जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसरमा उपस्थित आमाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगु र प्रहरी निरीक्षक दिवस कुवरले प्रशिक्षण दिएका थिए ।
१३ बर्षकै उमेरदेखि लागू औषध प्रयोग गर्ने गरेको, कक्षा १२ सम्मका विद्यार्थीहरु बढीमात्रामा लागू औषध प्रयोगकर्ता रहेको लगायतका कुराहरु प्रशिक्षणमा सिकाइएको थियो ।
आमाले छोराको आनीबानी सबै थाहा हुने भएकोले आमालाई प्रशिक्षण दिएको खण्डमा लागू औषध प्रयोगकर्तामा नियन्त्रण आउने भएकै कारणले आमा लक्षित प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रहरी निरिक्षक दिवस कुवरले बताए ।
उनले भने–‘आमालाई छोराछोरीको खानपिन, आनीबानी तथा व्यवहार सबै कुरा थाहा हुने भएकोले आमाले भनेको कुराछोराछोरीले कुरा एकआद्या बाहेक अरुले काट्न नसक्ने भएकोले आमालक्षित प्रशिक्षण कार्यक्रम राखेका हौ ।’
उनका अनुसार पछिल्लो समय बालबालिका तथा युवा पुस्ता बढी लागू औषधको कुलतमा फसेकाले उनीहरु आमा बुबाकै छत्रछायामा रहने भएकोले पनि आमा लक्षित प्रशिक्षण कार्यक्रम राखेको बताएका थिए ।
सो अवसरमा प्रहरी निरीक्षक कुवरले वर्तमान अवस्थामा युवा पुस्ता लागु औषधमा फसेको तथ्यांक समेत आमाहरु समक्ष पेश गरेका थिए ।
प्रशिक्षणमा सहभागी आमाहरुले यो कार्यक्रम अत्यन्तै लाभदाय भएको बताएका थिए ।
उनीहरुले लागू औषध प्रयोग गर्ने नानीहरुको आनीबानी कसरी थाहा पाउने, उनीहरुलाई कुलतबाट कसरी छुटाउने भन्ने विषयमा प्रशिक्षण दिएकोले आफूले सिकेको कुरा अरु दिदीवहिनीलाई सिकाउने र छोराछोरीहरुलाई पनि कुलतबाट बचाउन सहज हुने कुरा सिकेको बताएका थिए ।
प्रशिक्षणमा सहभागी भएकी धरान १८ की सीता राईले छोराछोरीहरुलाई कुलतबाट आमाहरुले बचाउन के भूमिका खेल्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाएको बताइन् ।
उनले भनिन्–‘छोराछोरीले गरेको नाराम्रो काम लुकाउँदा भविष्यमा आफैलाई घाटा हुने रहेछ, यसले छोराछोरीको भविष्य डावाडोल हुने तथा परिवारले समेत दुःख पाउने कुरा प्रशिक्षणबाट सिकियो, लागू औषध प्रयोगकर्ता छोराछोरीलाई थाहा पाउने वित्तिकै लुकाउने, उनीहरुलाई अपहेलना गर्ने भन्दा पनि राम्रो् व्यवहार गरेर सुधार्न सकिन्छ भन्ने कुरा यहाँबाट मैले सिके ।’
उनले आफूले सिकेको कुरालाई अन्य दिदीवहीनी आमाहरुलाई पनि बुझाउने बताइन् ।
धरान १३ की उषा लिम्बुले भने प्रशिक्षणबाट धेरै कुरा सिकिए पनि लागू औषध प्रयोगकर्ताहरुलाई सुधार्न भने अत्यन्तै कठीन भएको बताइन् ।
उनले भनिन्–‘आफ्नो छोराछोरी नबिग्रिउन भन्ने त लाग्छ, तर लागूऔषध प्रयोग गर्न थालेपछि आमा बुबाको कुरा नसुन्ने, रिसाउने लगायतका बानी व्यहोरा देखाउने भएकोले कहिलेकाही आमा बुबाले पनि भनेको नमान्दा भने समस्या हुने गर्छ, यसको समाधानको उपाय भने केही पनि छैन ।’
सो प्रशिक्षण कार्यक्रममा धरानका पुरुष जनप्रतिनिधि तथा महिला जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
यस्ता खालका कार्यक्रमले आमाहरुलाई कुलतमा लागेका छोराछोरीलाई कुलतबाट बचाउन केही सहज हुने धरान उपमहानगरपालिका १४ नं. वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
उनले भने–‘सबै आमाहरुले तालिमपश्चात सबै मिलेर अभियान नै चालेको खण्डमा छोराछारीलाई कुलतबाट बचाउन सकिन्छ ।’ उनले सिकेका कुरालाई व्यहारमा उतार्न सकेको खण्डमा प्रहरीले दिएको प्रशिक्षणले ठूलो सहयोग पुग्ने बताएका छन् ।
कोशी प्रदेशमै लागू औषध प्रयोगकर्ताको संख्या भयावह रहेको छ , यसमा पनि धरानमा सबै भन्दा बढी रहेको पाइएको छ ।
प्रहरीले यस भन्दा अगाडि पनि स्कुल स्कुलमा गएर लागू औषध सचेतना कार्यक्रमको आयोजना गर्दे आएको थियो भने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले समेत प्रत्येक शुक्रबार धरानका चौक चौकमा पुगेर लागू औषधसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।
तर पनि लागू औषध प्रयोगकर्ताको संख्यामा कमी भने आउन सकेको छैन ।