धरान/ धरान–१५ स्थित के।के।इन्टरनेसनल स्कुलमा शुक्रबार नमुना संसद्को अभ्यास सम्पन्न भएको छ ।
विद्यार्थीहरूलाई संसद्को अभ्यास गराउन विद्यालयमा सङ्घीय प्रतिनिधिसभाको नमुना बैठक बिहीबार नै सुरु भएको थियो ।
सो अभ्यासमा कक्षा–६ देखि १० सम्मका २ सय ७५ विद्यार्थीहरू सांसद्का रूपमा सहभागी भएका थिए । नमुना बैठकमा सभामुख तपस्या भण्डारीले अनुमति दिएपछि शिक्षामन्त्री विशेष अग्रवालले ‘विद्यालय शिक्षा विधेयक–२०८१’ प्रस्तुत गरेका थिए ।
त्यस क्रममा सांसद् औरिक पाण्डेले विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा अघि नै सरोकारवालाहरूसँग छलफल नगरिएकाले धेरै विषय समेट्न बाँकी रहेको धारणा राखेका थिए ।
अर्का सांसद् सुप्रन श्रेष्ठले विधेयकलाई आम जनतासमक्ष छलफलमा लैजानका लागि माग गरे ।
सांसद् श्रेष्ठको प्रस्तावबमोजिम सभामुख भण्डारीले शिक्षा विधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्नका निम्ति प्रचार गरियोस् भन्ने प्रस्तावलाई संसद्मा निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
सो प्रस्ताव संसद्को बहुमतबाट अस्वीकृत भएको थियो । त्यसपछि विधेयकमाथि छलफल सुरु भएको थियो । बिहीबार समय अपुग भएपछि सभामुखले बैठक स्थगित गरेकी थिइन् ।
विधेयकमाथि व्यापक छलफल भएपछि सभामुख भण्डारीले शुक्रबार विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिन् । यसरी ‘विद्यालय शिक्षा विधेयक–२०८१’ बहुमतले पारित भयो । संसद्बाट पारित भएको विधेयक सभामुखबाट प्रमाणीकरण भएपछि राष्ट्रपति उज्ज्वल लिम्बूसमक्ष पठाइएको थियो । राष्ट्रपति लिम्बूले हस्ताक्षर गरेर प्रमाणीकरण गरेका थिए ।
लोकतन्त्रमा बिभिन्न दलहरू हुने भएकाले नमुना संसद्मा तीनवटा राजनीतिक दलहरू रहेका थिए । नमुना प्रतिनिधिसभामा नेपाली नेसनलिस्ट पार्टी, डेमोक्रेटिक पार्टी नेपाल र रिपब्लिकन पार्टी नेपालका सांसद्हरू सहभागी थिए ।
संसद्मा रहेको ठुलो दल नेपाली नेसनलिस्ट पार्टीका संसदीय दलका नेता दर्पण गौतमको नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो ।
सोही पार्टीका सांसद् अग्रवाल शिक्षामन्त्री भएका थिए । डेमोत्र्mयाटिक पार्टीका तर्पmबाट विश्वजित तिरुवा उपसभामुख बनेका थिए ।
पुस्तकमा रहेका सैद्धान्तिक ज्ञान प्रयोगात्मक तरिकाले विद्यार्थीहरूलाई बुझाउने उद्देश्यले नमुना संसद्को अभ्यास गराइएको स्कुलका अध्यक्ष प्रबिन अग्रवालले जानकारी दिए ।
पढाएरभन्दा प्रयोगात्मक तरिकाले सिकाउँदा विद्यार्थीहरूले छिटो बुझ्ने स्कुलका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले बताए । नमुना संसद् अभ्यास कार्यक्रमको समन्वय स्कुलका शिक्षक टेकबहादुर बस्नेतले गरेका थिए ।
यसका लागि राजेश विद्रोही र तीर्थ कार्कीले विद्यार्थीहरूलाई दुई सातासम्म प्रशिक्षण दिएका थिए ।