संस्कार संस्कृति वाम्बुले राईको ढ्वाङकुम पर्व मनाउँदै

  • भदौ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् ।

खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् । उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ ।

Bambhu

वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रुपमा यो पर्व मनाउने चलन छ ।

सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ । उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रुपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाइरहेका छन् ।

प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगाको मासु थुन्सेमा लगेर सामूहिक रुपमा पूजा गर्ने गर्छन् ।

‘हुन त यो पर्व कहिलेदेखि मनाउँदै आएको भन्ने थाहा छैन तर मुगल सेन राजाहरुको पालादेखि मनाउँदै आएको किंवदन्ती छ’, मानेभन्ज्याङ गाउँपालिका–३ उँबुका स्थानीय लक्ष्मण राईले भने, ‘हाम्रो समुदायको प्रमुख चाड नै ढ्वाङकुम हो ।’बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो (पुजारी) हरुले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन छ । राँगा काटेर काँचो र पकाएको मासुले विभिन्न सिकारी देवताहरुको पूजा गरिन्छ ।

उहिले माले गोरु काटेर पूजा गर्ने प्रचलन भए पनि राणाकालमा मुलुकी ऐन लागू भएदेखि गोरु काट्न छोडिएको थियो ।

पूजास्थलमा नयाँ अन्नबालीका रुपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पुजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन् ।

पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरुमा खनजोत गर्न रोक लगाउने गरिन्छ । खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरु एकै ठाउँ जम्मा भएर संगिना नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन् । यो चाडमा अन्नबाली कागुनी र मकै पाकिसकेपछि सामूहिक रुपमा प्रकृति, भूमि र सिमलाई आभार प्रकट गरिन्छ । लिब्जुलाई चढाउने सबैभन्दा उत्कृष्ट अन्न जा (कागुनी) मानिन्छ ।

पहिलेपहिले कागु्नी मकैभित्र पातलोसँग छर्ने चलन थियो । यो अन्न सबैभन्दा पहिला पाक्ने अन्न हो । भूमि पिता अर्थात् लिब्जुलाई वैशाख पूर्णिमामै भाका मागेर कागुनी पाक्ने बित्तिकै जनै पूर्णिमाको दिन लिब्जुलाई पूज्दै ढ्वाङकुम मनाइने मानेभन्ज्याङ गाउँपालिका–३ ओखलढुङ्गाकै विकास सौगात राईले बताए ।‘तपाईंलाई वैशाख पूर्णिमामा मनाउनुपर्नेमा सकेनौँ । च्यामाखा (धर्तीमाता) तपाईं नरिसाउनूहोस् । हामीलाई कुनै पनि नराम्रो नहोस् । अशुभ नहोस् । बालीनाली राम्रो होस् । हाम्रो दैनिक जीवनमा नराम्रो नगर्नूहोस् ।

हामी तपाईंलाई ससम्मान ढ्वाङ्कुम (जनै पूर्णिमा)मा मान्छौं’, राईले भने, ‘यसरी फलाकेर आज हामी लिब्जुको पूजा गर्दै रमाउछौँ । यो नै ढ्वाङकुम पर्व हो ।’ विसं २०७८ को जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषीको संख्या १५ हजार दुई सय ६८ देखिए पनि मुलुकभर ५० हजार वाम्बुले भाषी रहेको वाम्बुले राई समाजको दाबी छ ।

‘जनगणनाकै बेला पनि भाषाको महलमा वाम्बुले लेख्नुपर्ने ठाउँमा केन्द्रिय तथ्याङ्क विभागले याम्बुले लेखिदिएर गलत ग¥यो’, वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले भने, ‘त्यसैले हाम्रो संख्या वास्तविक आउन सकेन ।’
अध्यक्ष राईले ढ्वाङ्कुम यस समुदायको सबैभन्दा ठूलो सांस्कृतिक चाड रहेको उल्लेख गरे ।

वाम्बुले राई समुदायले वैशाख पूर्णिमादेखि जनैपूर्णिमासम्म उभौलीका रुपमा लिन्छन् भने मंसिर पूर्णिमादेखि उधौली मनाउने गर्छन् ।

रासस

 

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved