विराटनगर/ विराटनगरबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट अहमदलाई पक्राउ गरिएको जानकारी दिए । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए ।
उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।अहमदले करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।
उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।
त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो । अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने छ ।
पक्राउ परेका कैदीका बारेमा थप अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । बिहीबार (आज)दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।