पाँचथर/ पाँचथरको फिदिममा चिया पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले ‘स्काई डोम’ निर्माण गरिएको छ ।
कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो । फिदिम नगरपालिका–१ कञ्चनजङ्घा टी स्टेटदेखि १० मिनेट पैदल दुरी यात्रापछि पुगिने एकान्त स्थलमा पाँच वटा डोम निर्माण गरिएको हो ।
जगमा सिमेन्ट राखिएका प्रत्येक डोममा दस जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजङ्घा टी स्टेटका प्रबन्ध निर्देशक निरानन्द आचार्यले जानकारी दिए । स्काई डोम चिया बगानका माझमा निर्माण गरिएको छ । यसरी निर्माण गरिएका डोम हेर्नमा पनि आकर्षक छन ।
बाह्य पर्यटक घुमफिरमा आउँदा एकान्त, शान्त र मनोरम दृश्यमा रमाउँछन ।चियाको अध्ययन र अनुसन्धानसँगै चियाकै स्वादमा रमाउने आन्तरिक पर्यटकलाई लक्षित गरेर डोम निर्माण गरिएको बताइको छ ।
डोम क्षेत्रमा वायु र ध्वनि प्रदूषण नहुने भएकाले ध्यान, योग र साधना गर्नेका लागि पनि उपयुक्त हुने बताइएको छ ।