धरान/ कुनै बेला विवाह ब्रतबन्ध जस्ता सास्कृतिक पर्वमा नौमति बाजा अर्थात पञ्चे बाजा अनिवार्य थियो । दमै बाजाको रुपमा चिनिएको यो बाजा नबजाई विवाह र ब्रतबन्ध भएजस्तो गाउँ समाजमा हुदैनथ्यो ।
विशेष गरी पहाडी जिल्लामा विवाह गर्दा रातिको लगनमा गर्ने चलन थियो । बाजागाजासहित गएका जन्तिहरु त्यही पञ्चेबाजामा नाचगान गरेर रात कटाउँथे र विहान बेहुली अन्माएपछि बाजागाजासहित र फर्किन्थे ।
अहिले त्यो परम्परा हराउँदै गएको छ भने रातिको लगनमा विवाह नै हुन छाडेको छ भने विवाहमा बेण्डबाजा तथा हिन्दी गीत बजाउने र त्यसमा नाच्ने प्रचलन बढ्दै गएको छ ।
परम्परागत सँस्कृतिलाई मर्न दिनु हुदैन भन्ने सोच राखेर तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिका (बसन्तपुवडा नं. ७ मा बसोबास गर्दै आएका मगर समुदायहरु पञ्चे बाजा संरक्षणमा जुटेका छन् ।
नेपालमा हरेक समुदायले शुभ कार्यमा प्रयोग गर्दै आएको पञ्जे बाजा बजाउनेहरुको पछिल्लो समय अभाव हुँदै गएपछि त्यसलाई लोप हुन नदिन मगर समुदायहरु संरक्षणमा जुटेका हुन् ।
पञ्चे बाजा तथा नौमति बाजा विस्तारै हराउदै गएको, त्यसको सट्टामा भड्किला व्याण्ड बाजा, विदेशी गीत संगीतहरुले प्रश्रय पाउँदै गएको महसुस गरेर यसको संरक्षणमा जुटेको सुङनामका धनकुमार मगरले बताए ।
उनले भने –‘यही परिस्थिति रहने हो भने अहिलेका पुस्तामा विदेशी बाजाप्रतिको मोह बढ्दै जाने हो भने नौमति बाजा बजाउने नै नरहलान् जस्तो भएर हामीले एक आपसमा सल्लाह गरेर यसको संरक्षणमा जुटेका हौं ।’
संरक्षणमा जुटेक सुङनामकै रमेश मगरले आजकल विवाह, ब्रतबन्ध लगायतका सामाजिक संस्कारमा पञ्चे बाजा नै बच्न छाडेको र पुख्यौली पेशाकै रुपमा अंगाल्दै आएका दमै जातिले समेत यो पेशा छोड्दै गएकोले संरक्षण जस्ले गर्दा पनि हुन्छ भन्ने सोचेर संरक्षणमा जुटेको बताए ।
उनले भने–‘ आजकल विवाह, ब्रतबन्ध लगायतका चाडपर्वमा नौमति बाजा बजेको सुन्न नै छाडिएको छ ।’
अहिले बाजा बजाउनका लागि १५ जना मगरहरुले तालिम लिइरहेका छन् ।
उनीहरुले दुई नरसिंगा, दुई दमाहा, दुई ट्याम्का, दुई सनाई र एउटा झ्याली जोहो गरेर तालिम लिइरहेको बताएका छन् ।
संरक्षणमा जुटैका धनकुमार भन्छन्–‘नौमति बाजाका लागि यतिको सामाग्री भए पुग्छ ।’