चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र सञ्चालित सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि लेखा व्यवस्थापन तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (NFRS) सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ।
बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको उक्त तालिममा नगर क्षेत्रभित्रका सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक विकास शाखाले उक्त तालिमको आयोजना गरेको हो।
आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार, सहकारी संस्थाहरूमा आर्थिक अनुशासन, परिमार्जित नियमहरू, नीति तथा प्रणालीहरूको विकाससँगै लेखा व्यवस्थापन र NFRS लागू गर्नुपर्ने आवश्यकता बमोजिम तालिम प्रदान गरिएको हो।
तालिममा NFRS अपनाउँदा सहकारी संस्थाको वित्तीय पारदर्शिता, जोखिम व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय मान्यता वृद्धि हुने विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो।
तालिममा कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा तालिम कार्यालयका प्रमुख हरिबहादुर खत्री, चार्टर्ड एकाउन्टेन्ट प्रज्वल अधिकारी तथा शाखा प्रमुख मातृका तिवारीले सहजीकरण गरेका थिए।
समापन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख नन्दकुमारी सुनुवार, लेखा अधिकृत विरेन्द्र यादव लगायतले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।