इटहरी/ मोरङमा एक वृद्धलाई छोराबुहरीले जंगलमा लगेर छोडेको चार दिनमा उद्धार गरिएको छ ।
बेलबारी नगरपालिका ७ का ७० वर्षीय वृद्ध जामुनलाल झाँगडलाई उनकै छोराबुहारीले बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रको बीच जंगलमा लगेर छोडेका थिए ।
चारदिन यता वृद्धलाई जंगलको बीचमा लगेर छाडिएको पाइएपछि मंगलबार उद्धार गरिएको छ ।
चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उद्धार गरिएका वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ ।
‘जोकोही मानिस पुग्नै नसक्ने ठाउँमा जंगलको बीचमा लगेर छाडिएको रहेछ,’ उनले भने, ‘वनको गस्ती टोली हात्ती निरीक्षण गर्न जाँदा बीच जंगलमा देखेपछि सोधीखोजी हुँदा घटना बाहिरिएको हो ।’
गस्ती टोलीले सोधखोज गर्ने क्रममा चारदिन यता छोराबुहारीले आफूलाई जंगलमा छाडेको वृद्धले बताएका छन् ।
‘जंगलमै लगेर छाडिएको हो भन्ने पुष्टि हुने आधार पनि छ । गस्ती टोलीले बाइक जंगलमा गएको डाम पनि पत्ता देखेका कारण जंगलमै लगेर छाडेको देखिन्छ,’ उनले भने, ‘हामीले दुईतिर बोरामा घोचा हालेर प्राथमिकी स्ट्रेचर बनाएर गाडी आउने ठाउँसम्म बोकेर ल्यायौँ । त्यसपछि गाडीमा हालेर अस्पतालसम्म पु¥याएका छौँ ।’
सव डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र बेलबारी नगरपालिकाका प्रतिनिधिसहितको रोहबरमा उद्धार गरिएको उनले जनाए । वृद्धको भनाइ उदृत गर्दै उनले भने, ‘छोराबुहारीले यहाँ ल्याएर छाडेपछि चारदिनदेखि यहीँ बसिरहेको छु ।’
अध्यक्ष गिरीका अनुसार वृद्धको शरीरमा चोट देखिएको छ । थरथर काँपिरहेको अवस्थामा भेटिएका उनी राम्ररी बोल्न सक्ने अवस्थामा पनि छैनन् । ती वृद्ध वडा नं. ७ डाँगी टोलमा बस्ने गरेको खुलेको वडाध्यक्ष सुनीता चौधरीले पुष्टि गरिन् ।
आफूले छोराबुहारीलाई वडामा ल्याउन भनेको उनले बताइन् । ‘छोराबुहारीलाई वडामा ल्याउन प्रहरीलाई भनेको छु,’ उनले भनिन् ।
उनका अनुसार बेलबारी ७ स्थित एक परिवारमा आफन्तकहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए ।
जेठो छोराकहाँ बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारको सिलसिलामा छन् ।
‘एक छोरा पञ्जाबमा बस्ने, एकजना सुन्दरहरैँचामा बस्ने र आउजाउ गर्ने हुँदोरहेछ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीबाट हिँड्नुभएको रहेछ,’ वडाध्यक्ष चौधरीले भनिन्, ‘बेलबारीमा भने छोराकै रिलेसनजस्तो रहेछ ।
केहीदिन अघि आएर फेरि छोराकोमा जान्छु भनेर हिँडेको पुष्टि भएको छ ।’ उनका अनुसार भारतमा रहेका कान्छा छोरा भने सम्पर्कमा आएका छन् ।
तर, जेठा छोरासँग भने सम्पर्क हुन सकेको छैन । उनले भनिन्, ‘बेलबारीबाट जेठा छोराकोमा गएको भनेर हिँडेको र हालसम् यो घटना बाहिरिएपछि जेठो छोरा हालसम्म सम्पर्कमा आएका छैनन् । हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’
फाेटो श्रोत : प्रदेश खबर