धरान/ ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई हाम्रा बुढापाकाहरुले उखानको रुपमा प्रयोग गर्दै आए ।
यी र यस्ता उखानहरु मानिसको जीवनयापनमा ठ्याक्कै मिल्ने गरेको पाइएको छ । माथिको उखानसँग भने धनकुटा जिल्लाको चौवीसे गाउँपालिकाकी ४३ बर्षीय पद्मा लिम्बुसँग ठ्याक्कै मिल्न पुगेको छ ।
विविध कारणले अध्ययनलाई बीचैमा छोड्नु भएकी लिम्बुले २६ बर्षपछि पुन:अध्ययनलाई निरन्तता दिँदै सबैको प्रेरणाको पात्र बन्न सफल हुनु भएको छ ।
२०७४ सालको स्थानीय तहमा चौवीसे गाउँपालिकाको वडा सदस्य, सोही सालमा जिल्ला समन्वय समिति धनकुटाको सदस्य भई आफ्ना छोराछोरीलाई आफ्नै खुट्टामा उभिने ल्याकत बनाइसक्नु भएकी लिम्बुले २६ बर्षपछि परिवारकै सर्पार्टमा धरान ८ मा रहेको सहीद स्मृति माविमा गत बर्ष कक्षा ८ मा भर्ना गरेर आफनो पढाईलाई निरन्तता दिनुभएको हो ।
विद्यालय छेउमै डेरा लिएर अध्ययन गर्दै आउनुभएकी लिम्बु अहिले कक्षा ९ मा अध्ययनरत रहनु भएको छ । तीन सन्तानकी आमा लिम्बुले छोरीले अध्ययन सकेपछि युके पठाउनु भएको छ भने दुई छोरा समेत आफ्नै खुट्टामा उभिन सफल भएका छन् ।
घरपरिवारको जिम्मेवारी पूरापछि समाजसेवा अर्थात गाउँपालिका र जिल्ला समन्वय समितिकी सदस्य समेत बन्नु भएकी लिम्बुलाई जीवनमा पढ्ने धोको अझै नमरेका कारण २६ बर्षपछि चार दशकभन्दा बढी उमेर भइसक्दा पनि पढाईलाई निरन्तता दिनुभएको हो ।
विगतमा गाउँले परिस्थिति, विद्यालय जान टाढा धाउनुपर्ने बाध्यता र समयमै विवाह वन्धनमा बाधिएका कारण पढ्न नपाउनु भएको हो ।
अहिले उहाँको इच्छा कक्षा १२ पाससम्म गर्न पाए हुन्थ्यो भन्ने उद्देश्यले कम्मर कसेर अन्य कामलाई थाँति राखेर पूरै ध्यान पढाईतिर केन्द्रित गर्नुभएको छ ।
उहाँ जनप्रतिनिधिमात्र हैन कलाकारितामा समेत उत्तिकै दख्खल राख्नेमा पर्नुहुन्छ । उहाँले जनप्रतिनिधि हुदाताका नै दुई वटा लोक साँस्कृतिसँग सम्बन्धित दुईवटा गीत समेत आफै बनाएर आफै गाउनुभएको दृष्टान्त समेत सुनाउनुभयो । उहाँले गीत समेत सुनाउनुभएको थियो ।
यो उमेरमा पनि पढाईप्रति यति रुचि हुनुमा उहाँका शिक्षकहरुले समेत उहाँको इच्छा मर्न दिएका छैनन् ।
चौवीसे गाउँपालिकामा रहेको एक विद्यालयमा तीन बर्ष शिक्षण पेशा अंगालेर धरानको सहीद स्मृति माविमा आउनु भएका कक्षा शिक्षक महेन्द्र भट्टराईल लिम्बुको छोरीलाई पढाउनु भएको थियौ ।
त्यसबेला पद्मकुमारी लिम्बु अभिभावको भूमिकामा रहनु भएको र अहिले विद्यार्थीको भूमिकामा देख्दा उहाँको जोश जागरको प्रशंसा गर्नुभयो ।
उहाँलाई कम उमेर अर्थात आफ्ना छोराछोरीको उमेर सरहका साथीसँगीसँगै बसेर बढ्दा कुनै अफ्यारो महासुस नहुने बताउनुहुन्छ । उहाँलाई कक्षा ९ को मनिटरको जिम्मा समेत दिइएको विद्यालयका प्रद्यानाध्यापक रामबहादुर बिस्ट बताउनुहुन्छ ।
उहाँले गाउँबाट आएर विद्यालय नजिकमै कोठा भाडामा लिएर अध्ययनलाई निरन्तता दिनुभएबाट नै उहाँको पढ्ने इच्छा कति छ भन्ने कुरा प्रमाणित गर्ने प्र.अ. विस्ट बताउनुहुन्छ ।
जीवनको हरेक पाटोको अनुभव बटुलिसक्नु भएकी लिम्बुले जीवनमा पढाइको महत्वभन्दा ठूलो केही रहेनछ भन्ने बुझेरै कक्षा कक्षा ७ मा पढ्दापढ्दै बीचमै पढाई छाड्नु परेको पीडा अझै थियो ।
तर पढाईलाई जहिल्यै भएपनि निरन्तता दिने अठौट बोकेकी लिम्बुले २६ बर्षपछि भएपनि उमेरको कुनै प्रवाह नगरी अध्ययनलाई निरन्तता दिनु नै पढ्न नपाएर पछाडि परेका महिलाहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । पढ्नलाई केही कुराले छेक्दैन भन्ने दरिलो पात्र उहाँ बन्नुभएको छ ।