धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् ।
विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् ।
धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएकाहरुले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताएका छन् ।
पश्चिम पोखराबाट बुढासुब्बा मन्दिर दर्शनको लागि आएका सुमन पोख्रेलले पहिलो पटक धरान विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा दर्शन गर्न आएको बताए । उनले भने, ‘बुढासुब्बा मन्दिरको चर्चा पहिला धेरै सुनेको थिएँ, आउन पाएको थिएन, पहिलो पटक आउँदा अत्यन्तै राम्रो लाग्यो ।
धरान उपमहानगरपालिका १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लाने योजना स्थानीय सरकारले गरेको बताए ।
उनले बुढासुब्बा मन्दिरमात्र हैन यहाँका चर्चामा रहेका मठमन्दिर र चर्चा हुन नसकेका मन्दिरको पनि प्रचार अभियानलाई अगाडि सारेको बताए ।
बुढासुब्बा मन्दिरको ऐतिहासिता बुझेर सर्वसाधारणमा समेत विश्वास बढ्दै गएको पाइन्छ । बुढासुब्बा मन्दिरमा पूजआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासले पूजाआजाका लागि आएको भक्तजनहरुले बताउने गरेका छन् ।
पछिल्लो समयमा बुढासुब्बामा भक्तजनहरुको घुइचो बढ्दै गएको छ । पूर्वकै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएपछि भक्तजनहरु समेत बढ्दै गएका छन् ।