धरान/ धरान खेलकुद मञ्चले स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ।
विहीबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चले मनोनयनको सुचि सार्वजनिक गरेको छ । यही शुक्रबार प्रदान गरिने अवार्ड छनौट समिति बनाएर पुरस्कारको लागि सुचि तयार गरेको मञ्चका अध्यक्ष किशोर राईले बताए ।
धरानका एक महिला र एक पुरूष खेलाडीलाई धरान वर्ष खेलाडी २०८०÷८१ को अवार्ड प्रदान गरिने बताउनुभयो ।
समितिले १० वटा खेल विधाबाट छ महिला सहित १४ जनाको प्रारम्भिक सूची तयार गरेको थियो । जसबाट ६ जनाको सूची सार्वजनिक गरेको छ।उत्कृष्ट वर्ष खेलाडी पुरुष तर्फ टेबल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम सोदेम्बा लिम्बू रहेका छन् ।
महिलातर्फ जुडो कुरासकी दीपिका आचाजु र बक्सिङकी जुनु लिम्बु रहेका छन् ।
त्यस्तै प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा लामा रहेका छन् । यी मध्ये पुरुषतर्फ १, महिलातर्फ १ र प्रशिक्षकतर्फ एक जनाले अवार्ड प्राप्त गर्नेछन् भने ६ जना मध्येबाट एकजनालाई मस्ट पपुलर राइजिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।
त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिने मञ्चका अध्यक्ष किशोर राईले बताउनुभयो ।
खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने लाइफटाइम अचिभमेन्ट अवार्डका लागि नगद रु ११ हजार र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले बताएको छ ।