धरान /अखिल नेपाल फुटबल संघ एन्फाको ४ स्थानका रहेका एन्फा एकेडेमीका लागि यु–१३ का बालबालिकाको छनौट प्रक्रिया बुधवार देखी धरानमा सुरु भएको छ ।
सातै प्रदेशमा छानिएका ९० जना यु–१३ का बालबालिकाहरूलाई विद्यालय शिक्षा सहित ४ वर्ष सम्म एन्फाको ४ स्थानमा रहेको एकेडेमीमा आवासीय फुटबल प्रशिक्षण दिइने एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।
धरानमा बुधबार बिहान एन्फा एकेडेमीमा कोशी प्रदेशको छनौट प्रक्रिया सुरु गर्दै अध्यक्ष राईले भने, ‘अबको दश वर्षमा नेपाली फुटबललाई विश्वकप सम्म पुराउने लक्ष्य एन्फाले लिएको छ ।’
एन्फाको लक्ष्य पुरा गर्न अब राज्य, स्थानीय सरकारका साथै अभिभावक समुदायको सहभागिता पनि आवश्यक भएको उनले बताए ।
एन्फाले यस वर्ष देखी फुटबलमा महिला प्रतिभा उत्पादनलाई प्राथमिकता दिएको उनको भनाई छ ।
यु–१३ मा छनौट भएका बालिकाहरूलाई रौतहट स्थित एन्फा एकेडेमीमा विद्यालय शिक्षा सहित विशेष प्रशिक्षण दिइने छ ।
धरानमा कोशी प्रदेश स्थित १४ जिल्लाबाट छनौट भएर आएका बालबालिकाको छनौट प्रक्रिया ४ दिन सम्म चल्नेछ ।
बुधबार पहिलो दिन जिल्लाहरूबाट छनौट भई आएका ४० बालिकाहरूको छनौट प्रक्रिया सुरु भएको हो ।
छनौटका लागि एन्फाबाट आएका ग्रास रुट फुटबल निर्देशक पंकज शाही सहित जिल्ला फुटबलका प्रशिक्षकहरू संलग्न छन् ।
छनौट कार्यक्रमको उद्घाटन कार्यक्रम कोशी प्रदेश फुटबल संघ अध्यक्ष राईको सभापतित्वमा भएको थियो ।
उपाध्यक्ष शिव न्यौपानेले कार्यक्रममा उपस्थित अभिभावक, अतिथिहरूलाई स्वागत गरेका थिए ।
एन्फा ग्रास रुट प्रमुख पंकज शाहीले छनौट प्रक्रिया एन्फाको मापदण्ड अनुसार सहभागीहरूको खेल प्रतिभा, टिम वर्क क्षमता, व्यवहार र फुटबलप्रतिको प्रतिबद्ध जस्ता ४ विषयमा केन्द्रित रहने बताए ।