इलाम उपचुनावमा एमाले र कांग्रेसको दावेदारी, माओवादी र पहिचानवादीको बेग्लै तयारी

  • फाल्गुन १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ ।
२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ ।

किराँत धर्मगुरु आत्मानन्द लिङदेनको वासस्थान र किराँतीहरुहरुको धार्मिक आस्थाको केन्द्र मांसेवुगं यसै निर्वाचन क्षेत्रमा पर्दछ ।

अघिल्ला निर्वाचनमा उनीहरू निर्णायक शक्तिका रूपमा देखिएका थिए । प्रदेशको नाम कोशी राखिएपछि उनीहरू एमाले प्रति आक्रोशित बन्दै आएका छन् । यसले यस पटकको निर्वाचनको परिणाम कता जाला भन्ने अनुमान लगाउन मुस्किल देखिन्छ ।

नामकरणपछि सुरु भएको पहिचानको आन्दोलनको भविष्यको नापजाँच समेत यो निर्वाचनले गर्ने भएकाले इलाममा आगामी वैशाख १५ मा हुने निर्वाचनलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रदेशको नाम कोशी राखिएपछि कोशी खारेजीको माग राख्दै प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

संघर्ष समितिले उप निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट छुट्टै उम्मेदवार बनाउने घोषणा गरिसकेका छन् ।

अहिले नै को उम्मेदवार बनाउने र कस्तो खालको मोर्चा बनाउने भन्ने विषयमा टुङ्गो नलागे पनि उम्मेदवार उठाउने विषयमा एकमत भएको प्रदेश नम्बर १ पुन नामकरण अभियान समितिका संयोजक डाकेन्द्र सिङ थेगिमले बताए ।

उनले दलहरूसँग मिलेर पहिचान पक्षधरहरूको उम्मेदवार बनाउनेकी छुट्टै उम्मेदवार बनाउने भन्ने बिषय टुङ्गो नलागेको बताए ।

टुट्ला त गठबन्धन ?

२०७९ सालको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरू मोर्चा बन्दी गरेर निर्वाचनमा होमिएका थिए ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीका तर्फबाट कांग्रेसका डम्बर बहादुर खड्का उम्मेदवार बनेका थिए । उनलाई एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङले पराजित गरे ।

एक वर्षअघिको निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ ३० हजार २० मतका साथ विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङ आफ्नो चुनावी राजनीतिको अन्तिम र अपराजित यात्राको पाँचौँ संस्करणमा जम्मा १ सय १४ मतको झिनो अन्तरमा विजयी भएका थिए ।

तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार प्रकाश सापकोटाले १३८० मत पाएका थिए भने चौथो स्थानमा मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले १३६३ र जनमुक्ति पार्टीका खड्ग प्रसाद पालुङवाले १२७२ मत पाएका थिए ।

जसपाका याम प्रसाद लिम्बुले ७२४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द लिम्बुले ६८४ मत पाएका थिए ।

चौथोदेखि सौतासम्मका सबै दल पहिचानवादी हुन् । यहाँ माओवादी र नेकपा एसले भने काँग्रेसलाई समर्थन गरेका थिए । एमाले एक्लै चुनाव लडेको थियो । यहाँ राप्रपाका गणेश दुलालले ५१० मत पाएका थिए ।

इलाम नगरपालिका समेत समेटिएको यो क्षेत्र सहरी बसोबासका साथै आदिवासी जनजाति त्यसमा पनि लिम्बुहरूको उल्लेख्य जनसंख्या रहेको निर्वाचन क्षेत्र हो । यो निर्वाचन क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ सँग पनि जोडिन्छ ।

सत्ता गठबन्धन भित्र अहिले गठबन्धन गर्ने की नगर्ने बहसको विषय बनेको छ । भरखरै सकिएको नेपाली काँग्रेसको महासमिति बैठकमा गठबन्धन नगर्ने विषयमा चर्को बहस उठेको छ ।

त्यसमाथि राष्ट्रिय सभाको निर्वाचनमा माओवादीका उम्मेदवार चम्पादेवी कार्कीको पराजयले माओवादी भित्र पनि गठबन्धनका विषयमा प्रश्न र बहस सुरु भएको छ । गठबन्धन भएर पनि काँग्रेसले धोका दिएको भन्दै माओवादी पनि गठबन्धन गरेर फाइदा नभएको निष्कर्षमा पुगेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौला भारी मतले विजयी हुँदा गठबन्धनकी उम्मेदवार कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइरालाले कोशीबाट विजयी भएकी थिइन् ।

राष्ट्रिय सभाको निर्वाचनले माओवादी कांग्रेससँगा आक्रोशित बनेको छ । पराजयपछि माओवादीका प्रदेश स्तरका नेताहरूले सामाजिक सञ्जालमा काँग्रेस प्रति कडा विरोध जनाएका थिए ।

माओवादीका नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोले तीन दिन अघि सामाजिक सञ्जालमा लेखिएको कुराले पनि गठबन्धनका बारेमा अन्यौलता भएको देखिन्छ ।

उनले फेसबुकमा लेखेका छन्, काङ्ग्रेस सङ्गको गठबन्धन अर्थात् कलहको पोखरीमा डुबुल्की मार्न हामी पनि खास इच्छुक छैनौँ, किन ०८४ को चुनावमा मात्र अहिलेकै गठबन्धनमा पुनर्विचार गर्ने भए नि हामी तयार नै छौँ नि ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्बांग मिक्सोले इलाम क्षेत्र नम्बर २ मा माओवादीकै उम्मेदवार उठाउने बताए ।

उनले इलाम निर्वाचन क्षेत्र नम्बर २ को पार्टी कमिटीको फागुन १० गते भएको बैठकले माओवादीकै उम्मेदवार निर्वाचनमा उठाउने निर्णय गरेको बताए ।

उनले भने, ‘हामी त्यही अनुसारको तयारीमा छौ । क्षेत्रमा यसरी नै नेता र कार्यकर्ता परिचालन भएका छौं ।’

कस्तो छ दलीय शक्ति ?

इलाममा नेकपा एमाले २०४८ सालको निर्वाचनदेखि नै बलियो र अपराजित शक्ति हो ।

सुवास नेम्वाङले चुनाव जितेको क्षेत्रमा एक पटक नेपाली काँग्रेसका केबी गुरुङ जितेबाहेक सबै २०५६ मा नेम्वाङ उम्मेदवार बनेदेखि उनैले जित्दै आएका छन् । २०४८ मा पनि एमाले नै जितेको थियो ।

नेम्वाङका लागि यो पटकको चुनाव निकै प्रतिस्पर्धापूर्ण रह्यो दुई कारणले । एक त उनी विरुद्ध गठबन्धन थियो, अर्को भनेको प्रतिस्पर्धी उम्मेदवार खड्का पैसावाल ठेकेदार समेत भएकाले त्यसको प्रभाव हुने नै भयो । नेम्वाङ उसै पनि पाँच पटक प्रतिस्पर्धामा थिए ।

इलाम क्षेत्र नम्बर २ मा नेम्वाङले ३० हजार मत पाएर जित्दा समानुपातिकतर्फ भने एमालेको २६ हजार ५६२ मत आयो । नेम्वाङले पार्टीको भन्दा करिब ३५ सय मत बढी पाएका थिए ।
समानुपातिकतर्फ दोस्रो रहेको काँग्रेसले २२ हजार ३३३ मत पाएको थियो । जबकि कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय मत पाएका थिए । उनले पार्टीको भन्दा ६ हजार बढी मत पाए । जसमा माओवादी र नेकपा एसको समानुपातिक मत जोड्दा बराबर हुन्छ ।

सो क्षेत्रमा समानुपातिकतर्फ तेस्रो रहेको माओवादी केन्द्रको मत ५ हजार १५३ र चौथो रहेको रास्वपाको मत ४ हजार ६८६ थियो ।

त्यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१,राष्ट्रिय जनमुक्ति पार्टी १४१३,सङ्घीय लोकतान्त्रिक मञ्च १३२९,राप्रपा ११९१,जसपा ९०६ र नेकपा एसको ५८६ मत थियो ।

यी हुन् उम्मेदवार आकांक्षी

इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा एमालेबाट सुहांग नेम्बांग उम्मेदवार बन्ने पक्का पक्की जस्तै छ ।

उनले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताए । उनले भने म राजनीतिमा आउने हो । पार्टीले योग्य ठान्छ भने म तयार नै रहने छु । उनी एमाले उपाध्यक्ष स्व सुभाष नेम्बांगका छोरा हुन् ।

उनी केपी ओलीसँगै हिँडिरहेका छन् । एमालेले मंसिरमा सम्पन्न गरेको झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि संकल्प यात्रामा जोडिएका थिए । उनी अहिले पार्टी कार्यालयमा पनि ओलीसँगै हुन्छन् । आमा छोरालाई ओलीले दसैँकै बेला बोलाएर उपचुनावको लागि तयार रहन भनेका थिए ।

उनीबाहेक प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बन्न उदय राई पनि लागिपरेका छन् ।

उनी एमाले इलामका उपाध्यक्ष हुन् । यस्तै गणेश बराल, उमेश गुरुङ र रवीन्द्र सुवेदी पनि उम्मेदवारको आकांक्षी छन् । गुरुङ एमाले इलामका सचिव र सुवेदी उपसचिव हुन् । युवाहरूका माझमा सुवेदी लोकप्रिय छन् ।

पहिचानवादीका तर्फबाट साझा उम्मेदवार बन्ने चाहाना सहित पत्रकार मिलन लिम्बुले पनि तयारी थालेका छन् । एक साता अघि इलाम पुगेर उनले उम्मेदवारी घोषणा गरेका छन् । उनी फोनिजका महासचिव हुन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताए ।

उनले भने पहिचान पक्षधरका तर्फबाट उम्मेदवारी दिनका लागि छलफल भइरहेको छ ।

निष्कर्षमा छलफल नपुगे पनि आफू उम्मेदवार बन्ने बताए । उनी किराँत धर्म गुरु आत्मानन्द लिंदेनको कुटी भएको मांसेवुंगका स्थायी बासिन्दा हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका काङ्ग्रेस इलामका सभापतिसमेत भएका खड्का उपनिर्वाचनका पनि प्रमुख दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकट खड्का यस पटक पनि उम्मेदवार हुने काङ्ग्रेस इलामका नेताहरू बताउँछन् ।

नेपाल शिक्षक संघ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा पार्टीका जिल्ला सचिव पूर्णप्रसाद गौतम पनि उम्मेदवारको दौडमा छन् ।

उनीबाहेक काँग्रेस इलामका पूर्व सभापति केशव थापा पनि उम्मेदवार हुने दौडमा छन् ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved