विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता विपरित बजेट ल्याएको भन्दै सोमबारको प्रदेश सभामा चर्को विरोध भएको छ ।
गत शनिबार कार्कीले प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक आइतबार सर्वसम्मत पारित भएको पनि विनियोजन विधेयक माथि भने चर्को विरोध गरेका हुन् ।
मुख्यमन्त्रीले मनमौजी रुपमा आफ्नो निर्वाचन क्षेत्र र निकट सांसदको क्षेत्रमा मात्र बजेट हालेको र अन्य क्षेत्रको बजेट कटौती गरेको भन्दै सांसदहरुले विरोध गरेका थिए । प्रदेशसभामा बोलेका १५ जना सांसदहरु सबैले विनियोजन विधेयकको विरोध गरेका थिए ।
आर्थिक मामिला मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले कुनै स्रोतविना हावादारी कार्यक्रम समावेश गरेको, आफ्नो निर्वाचन क्षेत्रमा २५ करोडभन्दा बढि बजेट विनियोजन गरेको र २५ लाखभन्दा मुनीका योजना समावेश नगर्ने घोषणा विपरित आफ्नो अनुकुलका कार्यक्रममा ५–६ लाखका योजना पनि समावेश गरेको भन्दै सांसदहरुले आपत्ती जनाए ।
नेकपा एमालेको सांसदहरुले आफूहरुको पनि समर्थनमा मुख्यमन्त्री कार्कीले मनपरी गरेको भन्दै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने चेतावनी दिए ।
अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्न ल्याएको बिधेयकमा मनपरी रुपमा पहाडी जिल्लाको बजेट कटौती गरेको भन्दै तेह्रथुमका सांसद किशोरचन्द्र दुलालले शुन्य समयमा विरोध गरे । अध्यादेशका यसअघि आएर जनताको बिचमा गइसकेको बजेट तलमाथि नगर्ने प्रतिबद्धता विपरित मुख्यमन्त्रीले मनपरी गरेको भन्दै उनले विरोध गरेका थिए ।
सांसद दुलालले उभिएर विरोध गरिरहँदा बैठक रोक्नुपर्नेमा सभामुखको आसनमा रहेका जेष्ठ सदस्य इस्राइल मन्सुरीले काँग्रेस सांसद हिमाल कार्कीलाई बोल्ने समय दिएका थिए ।
सांसदले उभिएर विरोध गरिरहँदा सभा सञ्चालन गरेको भन्दै एमाले सांसदहरु बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीले नियमापत्ती गरेका थिए । तर, अध्यक्षको आसनमा रहेका मन्सुरीले त्यसलाई वेवास्ता गर्दै कार्कीलाई भनाई निरन्तर राख्न निर्देशन दिएका थिए ।
प्रदेशसभाको सोमबारको बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयकलाई छलफलको लागि सुशासन तथा योजना समितिमा पठाउने निर्णय गरेको छ । विनियोजन विधेयकमाथिको छलफल जारी रहेको छ । बैठक मंगलबार पनि बस्नेछ ।