चितवन / चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुलाई १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर महासंघसँग सम्झौता गरेको हो ।
आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरि कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए ।
नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको रु १० लाखको दुर्घटना बीमा गर्न लागेको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिनेछ ।