धरानमा फुटबलको ग्रासरुट प्रशिक्षण: विश्वकपको माहोलमा बढ्दो उत्साह

  • मंसिर १९, २०७९
  • स्नेहा श्रेष्ठ
alt

धरान/ धरानलाई खेलकुदको सहर भने पनि हुन्छ । धरानलाई विकास गर्ने दलका मुख्य एजेण्डामा पर्छ, खेलकुद । विश्वका प्राचीन खेलदेखि आधुनिक खेल सबैको अभ्यास गरिन्छ यहाँ । जिम्न्यास्टिक, दौड, बक्सिङ, म्याराथन, आर्चरी, रेसलिङका संस्थागत क्लब छन् । गल्फ, बास्केटबल देशमै पहिलो पटक धरानबाटै सुरुवात भएको इतिहास पाइन्छ । थाइ बक्सिङ, सेफाकटाक्रो लगायतका खेल विकासका लागि संस्थागत क्लब छन् ।

त्यसो त धरान मिनी ब्राजिल हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन् । जसले नियमित फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्र्मी, जेसिज, व्यापारिक प्रतिष्ठान, यातायात व्यवसायीका आ–आफ्नै क्लब छन् । विश्वकपमा मिनी ब्राजिल रंगिन बन्छ । चोकचोकमा प्रोजेक्टर, होटल, रेस्टुराँ, बार रव क्लबमा आगन्तुकलाई आकर्षित गर्न डिजिटल प्रोजेक्टर राखिएका छन् । ब्राजिलका अधिक फ्यान र ब्राजिलकै जस्तै फुटबल संस्कृति भएका कारण पनि धरानलाई मिनी ब्राजिलका रूपमा व्याख्या गरिन्छ । युवाका बाइकमा मनपर्ने देशको झन्डा, शरीरमा जर्सी । मैदानमा खेलाडीबीचको प्रतिस्पर्धा समर्थकमा समर्थनको स्पर्धा । धरानमा अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जर्मनीका अधिकांश समर्थक छन् । फुटबलमा देखिएको पागलपनले धरानलाई मिनी ब्राजिलका रुपमा चित्रित गरिरहन्छ ।

विश्वकपको उत्साहमा ग्रासरुट प्रशिक्षण
एल्बिन राई (१२) अर्जेन्टिनाका फ्यान हुन् । मेस्सी उनका हिरो । जारी विश्वकपमा अर्जेन्टिनाले पहिलो खेल गुमाउँदा एल्बिनलाई कोहीसँग बोल्न मन लागेन । अर्जेन्टिनाको कमब्याकपछि उनी उच्च मनोबलका साथ समर्थन गरिरहेका छन् । शनिबार ग्रासरुट प्रशिक्षणमा देखिएका उनी राम्रो फुटबल खेल्न पाए हुन्थ्यो भनेर तालिम लिन आएको बताउँछन् । प्रत्येक शनिबार उनी बिहानै धरान १६ स्थित रंगशाला आइपुग्छन् । स्वीकृति श्रेष्ठ (१२) को घर धरान १७ हो । जहिल्यै सँगै आउने साथी महिमा सन्चो नभएका कारण प्रशिक्षणमा आउन पाइनन् । तर उनी आज छिटोछिटो आइन् । धरानका मेयर हर्क साम्पाङ पनि खेल्न आउने भन्ने थाहा पाएपछि हतारिएर आएको बताइन् । जुभेन्टसको जर्सीमा देखिएका उनी पोर्चुगललाई समर्थन गर्छिन् । उनका हिरो सिआरसेभन हुन् । धरानमा ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई फुटबल खेलप्रतिको आकर्षण बढाउन प्रत्येक शनिबार ग्रासरुट प्रशिक्षण भइरहेको छ ।

प्रशिक्षणमा कम्तिमा २ सयजना बालबालिका सहभागी हुन्छन् । धरान उपमहानगरपालिकाले प्रशिक्षकका रुपमा अर्जुन राईलाई नियुक्त गरेको छ । प्रशिक्षक राईसँगै धरानका १६ जना पूर्व खेलाडीहरु स्वयंसेवकका रुपमा खटिएका छन् । ‘नहुँदा पनि १ सय ५० देखि २ सय जना नानीहरुलाई ट्रेनिङ दिइरहेका छौं, प्रशिक्षक राई भन्छन्, नानीहरुलाई फुटबलमा मोह जगाउन ट्रेनिङ गरिएको हो ।’
बालबालिकाहरुमा प्रगति देखिइरहेको नगर खेलकुद विकास समितिका पूर्व संयोजक तथा गोधुली क्लबका उपाध्यक्ष सतिस केसी बताउँछन् । फुटबलसँगै दौडन नसक्नेहरु पनि प्रशिक्षणका कारण सक्षम भइरहेको केसी बताउँछन् ।

धरान उपमहानगरपालिकाको वार्षिक २ लाख रुपैयाँको बजेटमा प्रशिक्षण सञ्चालन भइरहेको छ । प्रशिक्षणमा खारिएका १२ वर्षमाथिका बालबालिकालाई स्पेसल कोर्सको समेत व्यवस्था गरिएको प्रशिक्षक अर्जुन राई बताउँछन् । उनले १२ वर्षमाथिका बालबालिकालाई बुधबार, बिहीबार र शुक्रबार ३ दिन स्पेसल कोर्स गराउँदै आइरहेका छन् । ‘हामीले राम्रो खेल्ने थुप्रै खेलाडीलाई नोटिस गरेका छौं, उनीहरुलाई बेग्लै तीन दिन बुधबार, बिहीबार र शुक्रबार बेलुका स्पेसल कोर्स गराइरहेको छौं ।’ प्रशिक्षक राईले भने । धरानभित्रका पटनाली, विष्णुपादुकालगायतका ग्रामीण क्षेत्रबाट पनि बालबालिका आइरहेको प्रशिक्षक राई बताउँछन् । प्रशिक्षण लिनेको संख्या बढ्दै गइरहेको छ । शनिबार ग्रासरुट प्रशिक्षण अवलोकन गर्न धरान रंगशाला पुगेका एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई र धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले बालबालिकालाई प्रोत्साहित गरे । बालबालिकाले निरन्तर अभ्यासबाट सिकेका प्रतिभा र सीपलाई परीक्षण गर्न मासिक फुटबल टुर्नामेन्टको आयोजना गर्नुपर्ने एन्फाका बरिष्ठ मानार्थ उपाध्यक्ष राईले बताए । उनले धरान उपमहानगरलाई सुझाव पनि दिए । राईले धरान फुटबल क्लब र एन्फाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राईले साना खेलाडीलाई प्रोत्साहित गर्दै राम्रो तयारी गर्न हौसला दिए । उनले युनिश बुढाथोकीले धरानबाट देशकै नाम अन्तर्राष्ट्रिय स्तरमा फैलाएकाले उनी जस्तै मिहिनेत गरेर खेल खेल्न खेलाडीलाई आग्रह गरे । ‘धरान खेलकुदको शहर हो, फुटबलको उर्वरभूमि हो,’ राईले भने, ‘धरानलाई अन्तर्राष्ट्रिय जगतमा फुटबलले चिनाउने छ ।’
प्रत्येक वर्ष आयोजना भइरहेको तर आर्थिक अभाव र कोभिडका कारणले स्थगित भएको बुढासुब्बा फुटबल प्रतियोगितलाई धरान उपमहानगरपालिकाले अभिभावकत्व लिन नगर प्रमुख हर्क साम्पाङलाई आग्रह गरे । सचेत धराने समूह र धरान उपमहानगरपालिकाबीचको मैत्रीपूर्ण फुटबल खेलमा सहभागिता जनाउन मेयर साम्पाङ मैदानमा उत्रिए । उनले ग्रासरुट प्रशिक्षणमा रहेका बालबालिकालाई मिहिनेत गर्न आग्रह गरे ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved