प्रतिनिधिसभामा घण्टीको ‘क्रेज’:मतदाताले उमेद्वार नै चिनेका छैनन्

  • मंसिर ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्थानीय निर्वाचनमा चुनाव चिन्ह ‘लौरो’ को क्रेज प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ‘घण्टी’ ले लिएको छ । काठमाण्डौका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङले ‘लौरो’ चुनावचिन्ह देशभरि नै चर्चामा थियो र यी दुवैले निर्वाचन जिते पनि ।

ठिक यस्तै छ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह । धेरैले उमेद्वारलाई चिनेकै छैनन् । पूर्व सञ्चारकर्मी रवि लामिछानेले असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि प्रतिनिधिसभाको चुनावमा होमिएको पार्टीले ‘घण्टी’ चुनाव चिन्ह लिएसँगै यो चुनाव चिन्हको क्रेज स्थानीय तहमा दुई पालिकाका मेयरका उमेद्वारले लिएको चुनाव चिन्ह ‘लौरो’ भन्दा कम चर्चामा छैन ‘घण्टी’ चुनाव चिन्ह । यही क्रेजकै कारण यो पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा ७ वटा जित हात पारिसकेको छ ।

सुनसरी क्षेत्र न. १ को कुरा गर्ने हो भने प्रतिनिधिसभा सदस्यको उमेद्वारमा स्वतन्त्र पार्टीकी उमेद्वार गोमा तामाङ दुई गठबन्धनका उमेद्वार भन्दा अगाडि छिन् । यो समाचार तयार पार्दासम्म यो प्रदेशमा ५५ हजार ३ सय ५१ मत गणना भइसकेको छ । प्राप्त मत गणना अनुसार गोमाले ११ हजार ४ सय ५३ मत प्राप्त गर्दै अग्र स्थानमा छिन् भने उनलाई नेकपा एमाले र जसपाको गठबन्धनका उमेद्वार जसापाका संघीय परिषद अध्यक्ष अशोक कुमार राईले पछ्याइरहेका छन् । राईले १० हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर ७ सय ६४ मतको रहेको छ । यस्तै सत्ता गठबन्धनबाट उमेद्वार दिएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्साम हाङ मेन्याङ्बोले ८ हजार ६ सय ११ मत ल्याउदै तेस्रो स्थानमा छन् ।

दल दर्ता भएको छोटो समयमै यतिको क्रेज बनाएको यो पार्टीको उमेद्वारलाई सुनसरी क्षेत्र नं. १ का मतदाताले चिनेकै छैनन् । धरान १२ की ८० बर्षीय मनकुमारी खत्रीले भोट ‘घण्टी’ मा हालेको बताइन् । तर उनलाई ‘घण्टी’ चुनावचिन्ह लिएर को उमेद्वार छ भन्ने कुरा थाहा छैन । उनी भन्छिन्–‘उमेद्वार को छ थाहा छैन, तर रवि लामिछानेलाई जिताउन घण्टीमा भोट हालेकी हुँ ।’


उनी मात्र हैन धरान १५का ६२ बर्षीय सुमन तामाङको भनाई पनि खत्रीकै जस्तो रहेको छ । उनलाई पनि घण्टी चुनाव चिन्हमा को उठेको छ थाहै छैन । तर सबैले घण्टीलाई भोट हाल्दा राम्रो हुन्छ, विकास हुन्छ सुनेकै भरमा भोट हालेको सुनाए । उनले भने–‘काँग्रेस, एमाले, माओवादीलाई धेरै पटक भोट हालियो, कहिल्यै देशको विकास भएन, घण्टीले विकास गर्छ कि भनेर भोट हालेको हुँ ।’
कतिपय सर्वसाधारणले विगतमा पार्टीमा ज्यान फालेर लागे पनि अरुको लागि भन्दा पनि आफ्नो र आफन्तको स्वार्थ पूर्तिमा लागेकाले यस पटक जनताले फरक स्वाद चाख्न खोजेको बताएका छन् । स्थानीय श्याम भुजेलले विगतमा आफू पार्टीमा आवद्ध भए पनि पार्टीका नेताहरुले जनताको भावना अनुरुप काम नगरेको बताए । उनले भने– ‘पार्र्टीका जनप्रतिनिधिले जितेर गएपछि केही काम गरेनन्, भ्रष्टाचार दिनप्रतिदिन मौलाउदै गयो, महंगीको मारमा जनताहरु परे, सरकारी काम गर्न जाँदा पैसा नदिई कामै भएन, सक्षम नेताको खोजीमा भोट नयाँ पार्टी र स्वतन्त्रलाई गएको हो, यो सबै पार्टीप्रतिको वितृष्णाको उपज हो ।’

यी त प्रतिनिधि पात्र मात्र हुन चुनावचिन्ह घण्टीमा भोट हाल्ने अधिकांश मतदातालाई प्रदेश १ को प्रतिनिधिसभा सदस्यको उमेद्वार को छ भन्ने थाहै छैन । रवि लामिछानेको नाम सुनेका उनीहरुले यहाँ भोट हाल्दा लामिछानेले भोट पाउँछन् भन्ने भ्रममा धेरैले मत हालेको पाइएको छ । घण्टी चुनावचिन्हको ‘क्रेज’ को विषयमा दलका नेताहरुको भने फरक मत रहेको छ । दलका नेताहरुले समेत विगतमा दलहरुले जनताको हितमा काम नगरेको परिणाम भनेर सहज रुपमा लिएका छन् ।

यस्तो ट्रेन स्थानीय तहको निर्वाचनबाटै विग्रिएर गएको उनीहरुको ठम्याई छ । नेपाली काँग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले धरानले शिक्षित सहरको परिचय बोकेको भए पनि उम्द्वार छान्ने विषयमा भने धरानेहरुले विवेक नपु¥याएको टिप्पणी गर्छन । उनले स्थानीय तहमा स्वतन्त्रलाई जित्दा धरानेहरु धेरै पछि परेको बताउदै अहिले पनि राष्ट्रिय राजनीतिमा पहुँच राख्नेलाई पाखा लगाएर नयाँ अनुहार आउँदा सोचेजस्तो विकास नहुने बताए । उनले भने–‘धरान शिक्षित सहर हो, यहाँका सबै शिक्षित छन्, तर भोट हाल्दा विवेक पु¥याएको पाइएन, विगतमा स्थानीय निर्वाचनमा पनि यस्तै देखियो, जसले गर्दा धरानको विकास पछाडि परेको छ, प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि विवेक पु¥याएको देखिएन ।’

यता नेकपा माओवादी केन्द्रका स्थानीय नेता अशोक राईको भनाई भने फरक छ । निर्वाचनको प्रक्रिया र जनतामुखी काम गर्ने नेता मतदाताले खोजेको स्पष्ट हुने उनको ठम्याई छ । उनले भने–‘यो दलप्रतिको वितृष्णा हो, जनताले सामान्य काम गर्न पनि सहज रुपमा पाएनन्, सम्बन्धित कार्यालयमा जाँदा धेरै झन्टिलो प्रक्रिया व्यहोरे, आधा घण्टामा हुने काम कार्यालयका कर्मचारीहरुले तीन दिनसम्म धाउनुपर्ने अवस्था देखियो, यस्ता हरेक कुराले वाक्क दिक्क भएका सर्वसाधारणले जनमुखी नेता चाहेका छन्, यसबाट दलहरुले पाठ सिक्नुपर्छ ।’

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved