‘३१ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउँछु’ भगवती चौधरी

  • कार्तिक २८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले यसपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगवती चौधरीस“ग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः

१) निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर टोल र क्षेत्रीय समितिहरु सक्रियताका साथ लाग्नु भएको छ । ३ नं. क्षेत्र निर्वाचन परिचालन मूल कमिटीका संयोजक लिलम बस्नेतको नेतृत्व र निर्देशनमा चुनाबी अभियानहरु अगाडी बढाइरहेका छौं । जनताले यो पटक भारी मत दिएर मलाई जिताउनेमा ढुक्क छु ।

२) तेश्रो पटक उही प्रतिष्पर्धीसँग चुनावी मैदानमा हुनुहुन्छ, जनता माझ जाने तपाईको नयाँ एजेण्डा के छ ?

निर्यातमुखी कृषि, युवा स्वरोजगार, प्राविधिक शिक्षा मैले उठान गरेका मुख्य एजेण्डा हुन् । सुनसरी क्षेत्र नं. ३ विकासका दृष्टिकोणले ३१ औं वर्षदेखि पछि परेको छ । विगतमा निर्वाचित भएर गएका प्रतिनिधिले काम नगर्दा जनताहरु विकासका आधारभूत कुराबाट बञ्चित छन् । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटन स्थलको विकास, कृषिमा आधुनिकीकरण, आर्थिक तथा महिला सशक्तिकरण, युवा स्वरोजगार जस्ता कुराहरु मैले प्राथमिकताका साथ उठाएको छु । साथै, नेकपा एमालेको ‘सुखी नेपाली समृद्ध’ नेपाल अभियानसँगै पार्टीको घोषणा पत्र अनुसार यो क्षेत्रको विकास, यहाँका जनताको जीवनस्तर उकास्नु मेरो मुख्य लक्ष्य हो ।
यो क्षेत्रमा नयाँ नेतृत्व र नयाँ भिजन चाहिएकामा म योग्य छु, नेतृत्व लिन तयार छु । ३१ वर्षमा हुन नसकेको विकास ५ वर्षमा गरेर देखाउने रोडम्याप म सँग छ ।

३) प्रत्येक पटक पराजित हुँदा प्रतिष्पर्धीलाई धाँधली गरेको आरोप लगाउँदै २०७० र ०७४ को निर्वाचनमा पछि अदालत पनि जानुभयो, यो पटक पुनः त्यही नियति दोहोरिने पो हो कि ?

२०७४ साल र ०७० सालको निर्वाचनमा प्रतिपक्षीले धाँधली र सत्ताको दुरुपयोग गरेको सुनसरी क्षेत्र नं. ३ का जनताको निष्कर्ष हो । जनताले मलाई २ पटक नै मत दिएका हुन् । अझैपनि गाउँघरमा आमाबुबा दाजुभाई दिदिबहिनीहरु ‘भगवतीलाई भोट दिएकै हौं र दिन्छौं तर, धाँधली गरेर हराउँछ’ भन्नु हुन्छ । तर, यसपाली त्यस्तो हुँदैन । निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी सबैले निष्पक्ष निर्वाचन गर्नु हुनेछ ।
आम मतदातालाई कुनैपनि डर त्रास र छलकपटको परिवन्दमा नपरी निर्धक्क मतदान गर्न आब्हान गर्छु । योपटक २ वटा निर्वाचनका परिदृश्यहरु दोहोरिने छैनन् । जनताको सम्पत्ति (मत) को सुरक्षामा जनता आफैं सजग छन् ।

४) तपाई सामाजिक, आर्थिक अभियानकर्मी पनि यो क्षेत्रको बर्तमान अवस्था कस्तो छ ?

यो क्षेत्र विगत ३१ वर्षदेखि विकासका दृष्टिकोणले धेरै पछि परेको छ । इटहरी, दुहवीका केही शहरी क्षेत्रमा सामान्य विकास भयो होला, तर, यहाँका जनताको वास्तविक अवस्था, विपन्नता, चरम गरिबी बुझ्न उत्तरी र दक्षिणी भेग जानै पर्दछ । बर्जु, गढी, सत्तेरझोडा, इनरुवाको चाँदबेला, सोनापुरकै छातावेलीका गरिब, विपन्न र श्रमिक वर्गको घर घर छिर्नुभयो भने थाहा हुन्छ गरिबी । मैले २०५१ सालदेखि सामाजिक काम गर्दैगर्दा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणका अभियानहरु चलाउँदा जनताको दुखः पिडा देखेको छु ।
यहाँका गरिब, विपन्न, दलित, मुस्लिम समुदायका जनताको जिवनस्तर ३० वर्ष अगाडी जे थियो त्यो भन्दा विग्रिएको छ । अझ थारु समुदाय जोसँग पहिला दुई कठ्ठा जमिन थियो त्योसमेत सुकुम्बासी हुने अवस्थामा छन् । साहु महाजनको ऋणमा जमिन गुमाउँदै छन् । सामुदायिक विद्यालयको शिक्षा नाम मात्रको छ । गतिलो अस्पताल छैन । सुकुम्बासी समस्या छ । खानेपानीको ट्यांकी बन्यो १५ वर्षदेखि पानी छैन । साक्षरता कम छ । बेरोजगारी बढ्दो छ । २१ औं शताब्दीमा सामान्य रुपमा कसरी जीवनयापन गरिन्छ त्यो समेतबाट जनता बञ्चित छन् ।

५) यस्तो परिस्थिति सिर्जना हुनुको मुख्य कारण के हो ?

सबैको जड राजनीति हो । ६ पटक सांसद हुँदै १३ पटक मन्त्री उपप्रधानमन्त्री भएकाले जनतालाई दास जस्तै ठान्दा यो परिस्थिति आएको हो । आफुलाई आदिवासी जनजाति, थारुको ‘मसिहा’ भन्दै जनतालाई भोट बैंकमा रुपमा प्रयोग गर्ने तर, सत्तामा पुगेपछि तानाशाह बन्ने प्रवृत्तिले विकास भएन ।
राज्यलाई चलाउने राजनीतिले हो । र, नेतृत्वमा पुगेकाले दुरदृष्टी नराख्दा अथवा जनतालाई जे गरेपनि हुन्छ ‘यिनीहरु मेरो दास हुन्’ भन्ने सोच राख्नाले समस्या भएको हो । यसलाई बदल्न पनि नयाँ नेतृत्व अपरिहार्य छ ।

६) आर्थिक सवलीकरणका नाराअघि सार्दै राजनीतिमा हुनुहुन्छ, तर पछिल्लो समय तपाईले नेतृृत्व गर्नुभएको माइक्रोफाइनान्सले जनतालाई चर्को व्याज लियो भन्ने गुनासो छ नि ?

पहिलो कुरा फरवार्ड माइक्रोफाइनान्स मेरो एकलौटी सम्पत्ति हैन, मैले यसबाट कुनैपनि प्रकारको तलब भत्ता पाउँदिन । संस्था सञ्चालनका लागि छुट्टै सञ्चालक समिति छ । म कार्यकारी हैसियतमा छैन, यसमा लाखौं सर्वसाधारण जनताको शेयर छ, लगानी छ ।
दोश्रो कुरा माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर उसको नीति नियममा रहेर काम गर्ने ‘घ’ बर्गको इजाजत प्राप्त संस्था हो । यसले गरिब विपन्न नागरिक र समुदायमा राष्ट्र बैंकले नै तोकिदिएको दररेट अनुसार मात्र कर्जा प्रवाह गर्दछ ।
तेश्रो माइक्रोफाइनान्सले वित्तीय कारोबार गर्दा बैंकहरुको भन्दा बढी प्रशासनिक खर्च गर्नुपर्छ । कर्जा प्रवाह गर्दा र किस्ता उठाउँदा गाउँगाउँमा कर्मचारी पठाउनु पर्छ, वित्तीय साक्षरता, सीपमुलक तालिम प्रदान गर्नुपर्छ । सँगै हामीले धेरै मात्रामा विनाधितो कर्जा प्रवाह गर्नुपर्ने भएकाले बैंकहरुको भन्दा जोखिम पनि बढी छ । यसकारण बैंकहरुको दाँजोमा हाम्रो ब्याजदर थोरै बढी भएको देखिएको हो ।
अर्को, माइक्रोफाइनान्सहरुले क, ख र ग वर्गका बैंकहरुबाटै कर्जा लिएर काम गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले कुनै सहुलियत दिँदैन । बजारमा राष्ट्र बैंकबाट २, ३ प्रतिशतमा पैसा लिएर महंगोमा लगाउँछ जसले भनिरहेको छ त्यसलाई म चुनौति दिन चाहन्छु कुन निकायले कहाँबाट यती सस्तो पैसा दिन्छ ? त्यस्तो छभने हामी जनतालाई ५, ६ प्रतिशतमै विना धितो लगानी गर्न सक्छौं । जसले यो आरोप लगाईरहनु भएको छ उहाँले यतिका वर्षसम्म के हेरेर बस्नु भयो ? गरिब विपन्न नागरिकको उत्थानका लागि लगानी गर्नुस । त्यसकारण यस्ता हल्ला र अफवाह फैलाउनु समाजलाई दिग्भ्रमित मात्र पार्नु हो । त्यत्रो वर्ष सत्तामा रहेको, नियम कानुन बनाएकासँग बैंक तथा वित्तीय संस्थाहरु कसरी चल्छन् भन्ने सामान्य ज्ञान पनि रहेनछ ।

७) तपाईलाई जनताले किन मत दिने ?

म युवा हुँ, पढेलेखेकी छु, देश विदेशको अनुभव छ । मुलुक र समाजलाई कसरी विकास गर्न सकिन्छ भिजन बनाएकी छु । विगत २५ वर्षदेखि मैले समाज सेवा, आर्थिक तथा महिला सशक्तिकरणका क्षेत्रमा गरेको कामको अनुभवलाई समाज निर्माण, देश विकासका पक्षमा खर्च गर्नपनि जनताले मुल्यांकन गर्नुपर्छ । तपाई जन्मेर ३० वर्षको युवा हुनुभयो, पढ्नु भयो, घरगृहस्थी गर्नुभयो तर, तपाईलाई नेतृत्व गर्ने व्यक्ति चैं ३० वर्ष अगाडी कै ? उहाँबाट समय सापेक्ष काम हुन सक्दैन । उहाँलाई रिटायर्ड गर्नु नै यो क्षेत्रमा विकासको स्वर्णिम युगको सुरुवात गर्नु हो ।

intro

 ८) सुनसरी क्षेत्र नं. ३ लाई कसरी विकास गर्न सकिन्छ ?

यो क्षेत्र कृषिका लागि उर्वरभूमी हो । ८० प्रतिशत जनता किसान हुनुहुन्छ । कृषि कर्मलाई आधुनिकीकरण गर्दै निर्यातमुखी बनाउनु पर्दछ । युवाहरुलाई गाउँघरमै स्वरोजगार बनानु पर्छ । प्राविधिक शिक्षाका लागि गुणस्तरीय स्कुल, कलेज र प्राविधिक विश्वविद्यालयको आवश्यक छ । एक गाउँ एक उद्योग स्थापना गरेर श्रमिक मजदुरलाई रोजगार बनाउनु पर्छ । पर्यटन क्षेत्रको विकासबाट यो क्षेत्रका दक्षिणी र पश्चिमी भेगका जनतालाई आर्थिक सवलीकरणमा जोड्नु पर्छ । त्यसका लागि बर्जु ताल प्राकृतिक सम्पत्ति हो । उत्पादीत कृषिजन्य वस्तुहरुको बजारीकरण गर्ने, किसानहरुलाई समयमै विउविजन उपलब्ध गराउने, बेलाबेलामा सम्मान, राहतका कार्यक्रम ल्याउनु पर्छ ।

९) यो क्षेत्रमा करिब ३० प्रतिशत जनताहरुसँग लालपुर्जा छैन, उनीहरुलाई कसरी संवोधन गर्ने ?

कुनैपनि नागरिक भूमिहिन हुनुहुँदैन, गाँस बास र कपासबाट बञ्चित हुँनु हुँदैन भन्ने नेकपा एमालेको नीति नै हो । वास्तविक भूमिहिन नागरिकको पहिचान गरी उनीहरुलाई लालपुर्जा दिने, व्यवस्थापन गर्ने कार्यमा म सदैव लाग्नेछु । राज्यको नीति नियम अनुसार भूमिहिन जनताको जीवनस्तर उकास्न पहल र पैरवी गर्नु मेरो दायित्व हो । साथै, उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा पहुँच पुर्याउन म प्रतिबद्ध छु ।

१०) नागरिकताका सवालमा पनि समस्या छ त्यसलाई कसरी समाधान गर्ने ?

नेपालको कुनौपनि भू–भागका जन्मिएका नागरिक पहिचानहिन बन्नु हुँदैन । नागरिकता समस्यामा राज्यले समुचित निर्णय लिनुपर्छ । नेपाली नागरिकलाई पहिचान दिने सवालमा राज्यले अपनाउने नीतिले राष्ट्रियता पनि कमजोर हुँनुहुँदैन ।

११) यो निर्वाचनबाट विजयी हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहन्छ ?

जनताले जिताई सक्नु भएको छ, खाली मंसिर ४ गते ब्यालेटमा खस्ने जनताको मतपत्र गनेर घोषणा मात्र गर्न बाँकी छ । विगतका निर्वाचनमा मलाई देखाउनु भएको सदभाव कायमै छ । योपटक जनताले यो क्षेत्रको विकास र समृद्धिका लागि ऐतिहासिक भोट दिनुहुनेछ भन्नेमा म ढुक्क छु ।

१२) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले विजयी भएर आएपछि नेपाललाई नयाँ बाटोमा लैजानेछ । सुनसरी क्षेत्र नं. ३ मा पनि परिवर्तनको स्वर्णीम सूर्योदय हुनेछ । जनतालाई कुनै डर, त्रास, लोभ लालच नराखी निष्पक्ष ढंगले सूर्य चिन्हमा मतदान गरिदिनु आग्रह गर्दछु ।

 

why

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved