धरान । धरान उपमहानगरपालिका वडा न.. १४ ले सर्वसाधारणलाई उन्नत जातको फलफुलको विरुवा वितरण गरेको छ ।
वडाले आफ्नै लगानीमा ६ सय ३० वटा आप तथा लिच्चीका विरुवा सर्वसाधारणलाई वितरण गरेको हो ।
एक घर एक विरुवा अभियान अभियान अन्तर्गत वडाले प्रत्येक घरलाई आप र लिच्चीको विरुवा वितरण गरेको हो । पछिल्लो समय जनघनत्व बढ्दै जादा जग्गाको क्षेत्रफल समेत खुम्चिएपछि वातावरण प्रदुषित भएकोले सर्वसाधारणलाई आप र लिच्चीका विरवा वितरण गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
एनले रुख विरुवा नहुदा जंगली जनावर तथा पशुपंंक्षी समेत लोप हुदै गएको बताउदै वातावरणसँरक्षण सँगै जनावरको संरक्षण गर्न पनि फलफूलका विरुवा वितरण गरिएको बताए । उनले विगतमा धरान १४ मा प्रसस्त सुगा भेटिने गरे पनि अहिले जंगल र फलफूलका बोटहरु मासिएपछि धरान १४ मा सुगा देख्नै नपाइने उदाहरण पेश गरे ।
वडाबाटै धरानको दन्तकाली माविमा फलफूलका विरुवा वितरण गरेपछि वडाबासीहरुले तछाडमछाड गरेर विरुवा लिन पुगेका थिए । अहिले वितरण गरिएको फलफूलको विरुवा सबैलाई नपुग्ने भएकोले आगामी दिनमा पनि वितरण गर्दै जाने उनले बताए । वितरण गरिसकेपछि सर्वसाधारणले फलफूलको विरुवा रोपे वा नरोपेको विषयमा वडाले अनुगमन समेत गर्ने वडाध्यक्ष भट्टराईले बताए ।