धरान l धरान उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिकाको ०७८÷०७९ को नगर सभा (बर्खे अधिवेशन) असार ८ गते बस्ने निर्णय भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले विवादमा रहेका एजेन्डालाई समेत सर्वपक्षीय रुपमा पारित गरेको छ ।
सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको विषयमा यस भन्दा अगाडिको वैठकमा विवाद भएका थियो तर आइतबार बसेको बैठकल ठेक्का सम्बन्धी एजेन्डामा व्यापक छलफलपछि नगरपालिका स्वयमले संकलन गर्ने सम्मत पारित गरिएको थियो ।
यसैगरी उपमहानगरपालिकामा एक जना प्रवक्ता रहने प्रावधान अनुसार कार्यपालिका बैठकले कार्यपालिकाको प्रवक्तामा धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) लाई सम्मत ढंगले तोकिएको छ ।
यसैगरी आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाईलाई प्राथमिकताको आधारमा राख्ने निर्णय कार्यपालिका बैठकले सर्वसम्मत ढंगले पारित गरेको छ । धरानको पुर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने निर्णय बैठकले गरेको छ । त्यस्तै कार्यपालिकाको बैठकले दलित र मजुदर डेस्क स्थापना गर्ने निर्णय समेत सर्वसम्मत पारित गरेको छ ।
वैसाख ३० गतेको निर्वाचनबाट निर्वाचित भएकाहरुलाई एक अर्कामा परिचित गराई आगामी दिनमा काम गर्न सहज होस् भन्ने उद्देश्ले निर्वाचित जननिर्वाचिचहरुको परिचयात्मक बैठक असार २ गते उद्योग वाणिज्य संघको हलमा गर्ने एजेण्डा पनि पारित गरेको छ ।
यसैगरी विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिका विरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण कार्वाही गर्ने अधिकार नगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।