धरान क्षेत्रमा रहेका खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन् गर्ने कि नगर्ने भन्ने मुद्दा अहिले पेचिलो बन्न पुगेको छ । धरान उपमहानगरपालिकाको आइतबार सम्पन्न पहिलो कार्यपालिका बैठकमा नगर प्रमुख हर्कराज राई साम्पाङले नदीजन्य सामग्री उत्खनन् नगर्ने प्रस्ताव अगि सारेपछि यो विषय चर्चामा आएको हो । प्रमुखले यो प्रस्ताव गरेपछि विभिन्न वडाध्यक्षहरूले यस विषयमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । यस विषयमा अहिले सर्वसाधारणका तहमा पनि फरक–फरक धारणाहरू आइरहेका छन् ।
कतिपयले अतिवादी धारणा प्रस्तुत गरिरहेका छन् । दुवै कोणबाट अतिवादी धारणाहरू आइरहेका छन् । एउटा पक्षले कुनै पनि अवस्थामा नदीजन्य सामग्रीको प्रयोग गर्नु हुँदैन भन्ने धारणा राखेको छ भने एउटा पक्ष प्रयोग गर्नैपर्छ भन्ने धारमा छन् । हरेक विषय र वस्तुको दुइटा पाटो हुन्छ । प्रकृति र प्राणी जगत् एक–अर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । प्रकृतिको प्रयोग नगरी कुनै जीव पृथ्वीमा बाँच्न सक्दैन । त्यसैले प्राकृतिक स्रोतको प्रयोग गर्नु हुन्न भन्ने मान्यता शतप्रतिशत सही होइन तर प्रकृतिको अनावश्यक दोहन पनि सर्वथा अनुचित नै हुन्छ । यसर्थ, प्रकृतिको सन्तुलित प्रयोग हाम्रो उद्देश्य हुनुपर्छ ।
संसारको हरेक जीव प्रकृतिमै जन्मन्छ, हुर्कन्छ र प्रकृतिमै बिलाउँछ । प्रकृतिकै सदुपयोग गरेर प्राणीले जीवन निर्वाह गर्छ । मानिसले पनि प्राकृतिक स्रोतको प्रयोग गरेर नै जीवन निर्वाह गरिरहेको हुन्छ । प्राकृतिक स्रोतको प्रयोग कसरी गर्ने भन्ने चाहिँ मुख्य विषय हुनुपर्छ । प्रकृतिको अनावश्यक दोहनकै कारण कतिपय प्राकृतिक विपत्तिहरू सिर्जना हुन्छन्, जसको सिकार मानिसमात्र होइन, अन्य जीवहरू पनि हुन्छन् । त्यसैले प्राकृतिक स्रोतको सन्तुलित र वैज्ञानिक प्रयोगमा सबैको जोड हुनुपर्छ ।
धरान क्षेत्रमा रहेका खोलाबाट नदीजन्य सामग्रीहरू पनि सन्तुलित र वैज्ञानिक रूपमा उत्खनन् गर्न सकिन्छ तर यसका लागि कसैले हचुवाका आधारमा भनेर हुँदैन । यस विषयमा वैज्ञानिक अध्ययन हुनु आवश्यक छ । बालुवा, गिट्टीजस्ता नदीजन्य सामग्रीको प्रयोग गर्दा के–के विषयमा ध्यान दिनुपर्छ भन्ने विषयमा विज्ञहरूसँग परामर्श गर्न सकिन्छ । कतिपय स्थानमा अत्यधिक बालुवा उत्खनन् गर्दा नदी किनारका मानव बस्तीहरू जोखिममा परेका छन् । नदीजन्य सामग्री उत्खनन् नगर्दा पनि कतिपय स्थानमा खोलाको सतह बढेर बाढी बस्तीमा पस्ने जोखिम उत्तिकै हुन्छ । त्यसकारण यस्ता विषयमा वैज्ञानिक अध्ययनविना हतारमा कुनै निर्णय गर्नु प्रत्युत्पादक हुनसक्छ । यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउनु उचित हुँदैन । धरान र धरानवासीको जीवन र भविष्यसँग जोडिएको विषय भएको हुँदा यसमा सबै पक्ष गम्भीर बन्नुपर्छ । आर्थिक लाभकै लागि मानिसको जीवनलाई जोखिममा पार्नु जति अनुचित छ, प्राकृतिक स्रोतको प्रयोग नै गर्नु हुँदैन भन्ने विचार पनि त्यति नै तर्कहीन छ ।
कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००
अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना
Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved