धरान । प्रदेश नं. १ को धरान सहित ९ स्थानमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने सम्बन्धित संस्थाहरुले जनाएका छन् ।
निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल र्( स्पान) ले प्र्रदेश नं १ का ९ स्थान सहित देशका ११ ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जनाएका हो ।
स्पानले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट (डेटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको र त्यस्ता ठाउँमा इन्टरनेट बन्द हुनसक्छ ।’
स्पानद्वारा जारी गरिएको सूचनामा विद्युत प्राधिकरणले यी स्थानमा विद्युत लाइन काट्दा ब्याकअप सिस्टमका कारण केही समय इन्टरनेट चलिरहेपनि ब्याकअप सिस्टमले धान्न छाडेपछि कुनै पनि समयमा इन्टरनेट बन्द हुनसक्ने उल्लेख गरेको छ । जस अन्तर्गत इलाम, मोरङको विराटनगर, खोटाङ, उदयपुरको गाइघाट, सुनसरीको इनरुवा, धरान, दुहवी, लहान र डोटीमा इन्टरनेट सेवा बन्द हुनसक्ने जनाइएको छ ।
‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा ग्राहक महानुभावहरु र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउँदछौ,’ सूचनामा भनिएको छ ।
साथै सूचनामा नेपाल सरकारको उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार मात्र पोल भाडा तिर्न इन्टरनेट सेवा प्रदायकहरू तयार जानकारी समेत दिइएको छ ।