धरान । स्थानीय निर्वाचनदेखि नै साना व्यवसायीहरुको व्यापार फस्टाएको छ । वैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएसँगै धरानमा वैसाख ३१ गतेबाट मत गणना शुरु भएको थियो । मत परिणाम सुन्न धरान १२ पब्लिक स्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिषरको चौरमा सर्वसाधारण लामवद्ध भएर मत परिणामको प्रतीक्षामा बस्ने गरेका छन् । यही घुइँचोलाई मध्यनजर गरी साना व्यवसायीहरुले मौकाको फाइदा उठाएका छन् । मोमो, थुक्पा, चना, चटपटे व्यापार गर्नेहरुले दैनिक हजारौ रुपैया आम्दानी गर्ने गरेका छन् ।
ठेलामा चटपटे राखेर विक्री गर्दै आएका श्याम चौधरीले निर्वाचन अधिकृत कार्यालय अगाडि आएर ठेलामा चटपटे बेच्दा कमाई राम्रै भएको बताए । उनले भने–‘ठीकै छ, यहा आएकाहरुले चटपटे बढी खाने गरेका छन्, चटपटे बनाएर विक्री गर्न नै धौ धौ हुने गरेको छ ।’
यस्तै भनाई अर्का ठेला व्यापारी सत्रुघन साहको पनि छ । उनले समेत यहा फास्टफुड विक्री गर्दा एकै दिनमा अन्यत्र पाच दिन गरेको भन्दा बढी फाइदा भएको बताए । उनले भने–‘यस्तो अवसर बेला बेलामा मात्र आउँछ, ग्राहकलाई चटपटे, चाउमिन बनाएर दिन धौ धौ हुन्छ, व्यापार राम्रै छ ।’ उनले एकै दिनमा ५/७ हजार विक्री गरेको बताए ।
मत गणना ढिलो र सुस्त गतिमा हुदा दिक्क लागेका सर्वसाधारणका लागि चटपटे खाएर भोक मेट्ने कामसँगै समय विताउन सहज भएको सर्वसाधारण बताउछन् ।
धरान १५का सुवर्ण राइ भन्छन्–‘मत गणना असाध्यै सुस्त गतिमा भएको छ, मत परिणाा सुन्न बस्दा असाध्यै भोक लाग्ने गर्छ, ठेलामा चटपटे, मोमो, चाउमिन विक्रीमा राख्दा हामीलाई भोक भेट्नेमात्र हैन, समय विताउन समेत सहज भएको छ ।’
यस्तै भनाई धरान १६ का जीवन लुइटेलको छ । उनले समेत ठेलामा चटपटे लगायतका फास्टफुडका सामाग्री विक्री गर्दा आफूलाई धेरै सहज भएको बताए । उनले भने–‘यहा विक्री गर्न राखिएको फास्टफुडले भोक मेटाउने काम गरेको छ ।’