धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भए पछि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदमा ११ जनाको नाम सिफारिस गरेको छ ।
सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले बताए । एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रदेश सदस्यहरु मनोज कुमार मेन्याङ्बो, प्रदेश सदस्यहरु विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई र किशोरकुमार कार्की, जिल्ला सदस्यहरू मिन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्वजिल्ला समिति सदस्य तिर्थ मास्के रहेका छन् ।
सिफारिस हुनेहरुमध्ये पहिलो नम्बरमा हालका उपमेयर मञ्जु भण्डारी र दोस्रो नम्बरमा पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको नाम उल्लेख छ । नेताहरुका अनुसार उनीहरु दुईमध्ये एक जनाले टिकट पाउने संभावना धेरै छ ।
एमाले धरान नगरसमितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य शुसिला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई रहेका छन् ।
उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिश गरेको हो । जिल्ला कमिटीबाट प्रदेश कमिटी हुदै केन्द्रीय कमिटीमा उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश हुनेछ । जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्नेछ ।