धरान । पछिल्लो समय बढ्दै गरेको गर्मीका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ ।
गर्मीका कारण झाडापाखालाका विरामीहरु बढेको प्रतिष्ठानले जनाएको छ । विरामीको चापकै कारण अहिले विरामीले सहज रुपमा उपचार गराउन नपाइरहेको गुनासो समेत बढिरहेको छ । अत्याधिक बढेको चापका कारण विरामीले विल काट्न नै धौ धौ पर्ने गरेको छ ।
छालाको समस्या लिएर प्रतिष्ठान आएका सप्तरीका रामेश्वर यादवले उपचार गरेर त्यही दिन फर्किने चाहे पनि उनी फर्किन पाएनन् । विल काट्न नै समय लागेपछि चिकित्सकलाई देखाउन ढिलाई भएपछि भोलिपल्टमात्रै चेकजाच गर्न भ्याएका थिए । उनले भने, ‘विल काट्न नै समस्या छ, अझ विमाको विल त राति १ बजेदेखि नै लाइन लागेर बस्ने गरेका छन्, विहान आएर लाइनमा लाग्दा विल काटिसक्दा चिकित्सकको देखाउने समय नै सकिएको हुन्छ ।’
झापाका मिलन राई पनि समयमै चेकजाँच गराउन समस्या हुने गरेको बताउँछन् । बच्चालाई झाडा पाखाला लागेर चेकजाँच गराउन आएका उनलाई पनि विल काट्न नै धौ धौ भएको गुनासो पोखे । बीपीमा अत्याधिक चाप बढेका कारण टाढाबाट आएका विरामीलाई उपचार गराउन कठिन हुने गरेको उनको भनाई छ । उनले भने, ‘बीपीमा अत्यन्तै चाप बढेको छ, विरामीले सहज रुपमा उपचार पाउन नै कठिन रहेको छ ।’
प्रतिष्ठानमा आएका अधिकांस सेवाग्राहीहरुले अत्याधिक चापका कारण सहज रुपमा उपचार गराउन नपाएको गुनासो गरेका छन् । प्रतिष्ठानले विरामीको गुनासोलाई सम्बोधन गर्न प्रतिष्ठानबाहिर अनलाइन टिकट काट्ने व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बीपीको चापलाई मध्यनजर गरी अनलाइन टिकट काट्न शुरु गरेसंगै ओपिडी भवनबाहिर नै बिल काट्ने तरिकाको विषयमा सिकाइने गरे ता पनि सर्वसाधारयणले त्यसलाई प्रयोग नगर्दा खासै प्रभावकारी हुन सकेको् छैन । यादव र राईलाई पनि अनलाइन टिकटको विषयमा केही थाहा नभएको बताउँछन् । उनीहरुले भने, ‘हामीलाई अनलाइन टिकट कसरी काट्नुपर्छ, थाहा छैन ।’
प्रतिष्ठानका विल काउन्टरका कर्मचारी धर्म राजंवंशीले अहिले उपचारमा आएका विरामीमध्ये अधिकांश झाडापखाला, डेंगु, ज्वरो, टाइफाइट, छालाको समस्या लगायतका हुने गरेको बताए । उनले भने, ‘विरामीको अत्याधिक चाप बढेको छ, उपचारमा आउने गरेका अधिकांश विरामी गर्मीमा हुने समस्याबाट ग्रसित हुने गरेको पाइएको छ ।’
प्रतिष्ठानका चिकित्सकहरुले पनि गर्मी महिनामा बढी बृद्धबृद्धा र बच्चाहरुलाई अनेक समस्या हुने गरेको बताएका छन् । बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बच्चामा प्राय गरेर झाडा पाखाला, ज्वरो, टाइफाइट र छालाको समस्याका विरामी आउने गरेको बताए । उनले भने, ‘गर्मीको समयमा बच्चालाई धेरै समस्या हुन्छ, गर्मीकै कारण बच्चामा झाडापखाला, ज्वरो, टाइफाइट र कहीकतै डेंगुका विरामी समेत उपाचारका लागि आउने गरेका छन् ।’ उनले गर्मी महिनामा बच्चा र बृद्धबृद्धाले अरु उमेर समूहभन्दा धेरै ख्याल गर्नुपर्ने बताए ।
प्रतिष्ठानमा प्रदेश एकबाट मात्र हैन प्रदेश २ बाट पनि विरामी उपचारका लागि आउने गरेका छन् । अहिले आउने विरामीहरु प्रायः झाडा पखाला, ज्वरो आउने, टाइफाइट हुने, छालामा इलर्जी हुने, एकाध डेंगु लगायतका विरामीहरु उपचारमा आउने गरेको अस्पतालले बताएका छन् । अहिले प्रतिष्ठानमा उपचारका लागि तीन हजार भन्दा बढी विरामी आउने गरेका छन् ।