धरान । पछिल्लो २ दिनमा धरानमा ४ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यलय धरानका अनुसार धरानका बिभिन्न वडामा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थापा आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै, आइतबार बिहान करिब ८ बजे धरान १६ नौली बस्तीकी १४ बर्षीया नन्दिनी मरिक पनि आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान ११ भवानी चोक बस्ने करिब ४० बर्षका विरोध सुनुवार पनि पाशो लागेको अवस्थामा भेटिएको थियो भने शनिबारदेखि हराएका धरान १६ बस्ने ३५ बर्षीय सोनु शेर्पा आइतबार जंगलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।