धरान/ आइतबा मोरङको लेटाङमा प्रहरी र स्थानीय बिच झडपमा एक महिला प्रहरीको मृत्युु भएसँगै अनिश्चिकालिन कर्फ्यु जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय मोरङले सोमबार बिहान एक सूचना जारी गर्दै बिहान ७ बजे देखी अनिश्चितकलीन कर्फ्यु जारी गरेको हो ।
दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ ।
फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो ।
आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन् ।
घाँटीमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए। तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो ।