वडाध्यक्षको पाँच वर्षे विकास यात्राः सडक ४ माइल, साहित्यमा सहस्र माइल

  • फाल्गुन २५, २०७८
  • नवराज विष्ट
alt

‘एउटा बाटो पिच गर्नु, एउटा चौतारो बनाउनु मात्र विकास होइन । तपाईले बनाएको बाटो भोलि उप्किन सक्छ । पिच भत्कन सक्छ । तर साहित्यमा तपाईंले पाँच वर्ष गरेको योगदान स्वर्ण अक्षरले लेखिन्छ ।’
यो कुनै महान् दार्शनिकको भनाइ होइन । तर महान् काम गर्ने एकजना सामान्य मानिसको भोगाइ हो । एउटा मन्त्रीले ‘बोल्ने भाँती’ नपुर्‍याउँदा ‘वडाध्यक्ष’ जत्तिको पनि बुद्धि नभएको भनेर आलोचना गर्छ हाम्रो समाज । त्यही समाजको परिवर्तनका खातिर चेतना र बौद्धिक विकासमा उल्लेखीय काम गर्न सफल धरान १३ का ‘वडाध्यक्ष’ नेत्र काफ्लेको भनाइ हो यो ।
स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे समयावधि सकिनै लागेको छ । बढिमात्रामा उनीहरुले भौतिक पूर्वाधारलाई विकासका रुपमा देखाउने प्रयत्न गर्नेछन् । धरान– १३ का यी वडाध्यक्ष काफ्ले यस कुरालाई नकार्ने पक्षमा छैनन् । तर उनले समाजका लागि गरेका केही नौला कामले उनलाई अरु वडाध्यक्ष भन्दा भिन्न देखाउँछ ।

एउटा वडाध्यक्षले आफ्नो पाँच वर्षे कार्यकालमा ६ किलोमिटर कालोपत्रे गर्नु पनि चान्चुने कुरा होइन । १ किलोमिटर गुणस्तरीय कालोपत्रे गर्न न्युनत्तम १ करोडको हिसाब आउँछ । एउटा समुन्नत नगरको वडामा वार्षिक बजेट १ करोडसम्म हुन्छ । ५ वर्षको बजेट ५ करोडमा समेटिन्छ । सक्रिय वडाध्यक्षले नगरस्तरीय, प्रदेशस्तरीय, संघीय बजेट भित्र्याउन पहलकदमी लियो भने अलि बढी काम गर्न सक्छ । यो पाँच वर्षमा देखिने काम के गर्नु भयो भनेर जनप्रतिनिधिलाई सोध्ने हो भने लाचारी प्रकट गर्नुबाहेक अधिकांशसँग केही हुँदैन ।

कुराकानीका क्रममा वडाध्यक्ष काफ्लेले आफूले गरेका कामका लामो फेहरिस्त सुनाए । उनले यो फेहरिस्त सुनाउँदा के चाहिं गर्न सकेनछन् भन्ने प्रश्न उब्जियो । यही प्रश्नबाट यो रिपोर्ताजको दैलो उघारौं । यद्यपि रिपोर्ताजको उद्देश्य वडाध्यक्षले गरेको भौतिक विकास र कालोपत्रे सडकका बारे देखाउनु होइन । बरु बौद्धिक विकासमा उनको योगदानको चर्चा गर्नु हो । साहित्यपथमा वडाध्यक्ष काफ्लेले गरेको ‘कालोपत्रे’ चाहिं कस्तो रह्यो त ?

वडाध्यक्षले जे गर्न सकेनन्
‘मेरो परिकल्पना अनुसार एउटा काम गर्न सकिनँ । युवा लक्षित कार्यक्रम ल्याएर आर्थिक वृद्धि हुने र दुई पैसाको भए पनि आयमूलक काम सुरु गर्न सकियोस् भन्ने इच्छा थियो । वार्षिक बजेट बनाउँदा युवा लक्षित साना घरेलु उद्योग स्थापना गर्ने नीति लियौं । युवालाई उद्यमशील बनाउन केही प्रतिशत ब्याजमा रकम दिने व्यवस्था गर्‍यौं । ‘हामीले सिधै दिंदा त्यो पैसा फिर्ता हुँदैन भन्ने लाग्यो । कुनै सहकारी वा बैंकसँग सहकार्य गरेर हामीले पाँच प्रतिशतमा बैंकलाई दियौं भने बैंकले त्यसलाई आठ प्रतिशतसम्ममा युवाहरुलाई दिएर युवाहरुले उत्पादन गरेका कुराहरुलाई रोजगारमूलक बनाउने र आर्थिक वृद्धिको बाटो अगाडि बढाउने भनेर एउटा कन्सेप्ट लिएर आएका थियौं ।

यही अवधारणामा नेपाल रेडक्रस सोसाइटीको रेस्टो कार्यक्रमअन्तर्गत डेढ लाख रुपैयाँ हामीले उपयोग गर्‍यौं  । पाँच जना बराबर ७५ हजार रुपैयाँका दरले वितरण ग¥यौं । केही साथीहरुले त्यसलाई लगेर राम्रै उपलब्धि गर्नु भयो । केही साथीले बाख्रा पालेको छु, फलानो पालेको छु, यसो गरेको छु, उसो गरेको छु भन्नुभयो । पाएको १५ हजार रुपैयाँ पनि खाएर अहिलेसम्म तिर्नु भएको छैन ।
उहाँहरुलाई पत्र काट्ने काम गरेका छौं । त्यो फिर्ता आउला कि भन्ने आशा छ । कोरोना विपद्का क्रममा धेरै रकम खर्चनु पर्ने अवस्था आएर काम गर्न सकिएन । यो कार्यक्रमलाई निरन्तरता दिएर जान सकियो भने आर्थिक उन्नति हुन सक्छ भन्ने हाम्रो आत्मविश्वास हो ।’

प्रतिपक्षको सहयोग
‘इच्छाशक्ति भएका नेतृत्वकर्तालाई अर्कोले भन्दा आफूले राम्रो गरौं भन्न लाग्दो रहेछ । तर कोही चाहिं जति बजेट पर्‍यो, पर्‍यो भएन भने हुँदैन भन्ने हुँदा रहेछन्,’ वडाध्यक्ष काफ्ले भन्छन्, ‘मलाई चाहिं १३ नम्बर वडावासी सबैले साथ सहयोग गर्नु भएको छ । पक्षप्रतिपक्षबीच अनेक टकराव हुन्छन् । मलाई अहिलेसम्म नेपाली कांग्रेस, माओवादी, राप्रपाका साथीहरु कसैले पनि तपाईंले के गर्नु भएको भनेर औंला ठड्याएका छैनन्, बरु हामीले काम गर्दैछौं है भनेपछि त्यसलाई साथसहयोग गरेर जानु भयो । हाम्रो वडाको कुरो यसलाई चाहिं अगाडि बढाउनुपर्छ भन्ने समर्थन चाहिं गरिरहनु हुन्छ ।’
काफ्ले भन्छन्, ‘उपभोक्ता समिति बनाउँदा यो बसे त्यो बसे भनेर कहिले पनि मैले हस्तक्षेपका दृष्टिले हेरिनँ । एउटा अमुक पार्टीका व्यक्ति मात्रै बस्नुपर्छ भन्ने कन्सेप्टमा म गइनँ । क्वालिटीमा सम्झौता हुँदैन । कुनै ठेकेदारलाई तपाईंले यति दिनुपर्छ भन्ने मेरो मुखबाट आएको छैन । म माग्दिनँ पनि कामको क्वालिटीको सन्दर्भमा सम्झौता पनि गर्दिनँ । र, म ठेकेदार खोजेर पनि दिँदिन । यसैले पनि सबै साथीभाइ सन्तुष्ट नै हुनुहुन्छ ।’

‘कमसल काम भत्काएर हिंडे ।’
‘कमसल काम गरेका ठाउँमा आफैं पनि खबरदारी गरेँ । चित्त नबुझेका ठाउँमा मैले आफैं भत्काएर हिंडे । उहाँहरुलाई सुझाव पनि दिएँ । मैले उहाँहरुलाई बारम्बार भनें ‘क्वालिटीमा सम्झौता हुँदैन ।’ कसैलाई पैसा पनि दिनुपर्दैन । उपभोक्ता, कामदार र ठेकेदारलाई मैले सदैव भनें, ‘हामीलाई आर्थिकको कुरोमा तपाईंले पाँच रुपैयाँ दिएर पचास फाइदा लिनुहुन्छ, म हुँदै बाटो कमसल बनाउनु भयो भने त्यसको जवाफदेही तपाईं स्वयम् हुनुपर्छ । कमसल देखें भनें म भत्काइ पनि दिन्छु ।’
काफ्लेले केही प्रतिनिधि घटना सुनाउँदै भने, ‘उदय मार्गको बाटो पिच गर्दा बेलुकाको समय उहाँहरुले काम गर्नु भएछ, बिहान हेर्दा मलाई चित्त बुझेन, उहाँलाई बोलाएर यो भत्काउनुस् भनें । उहाँहरुले भत्काउनु पनि भयो । कहिले पानी परिरहेका बेला काम भयो । त्यसको पनि आफैं प्रत्यक्ष अनुगमन गरेर गुणस्तरीय काम गर्न प्रोत्साहित गरें ।

‘साहित्यमार्गको कालोपत्रे’
१३ नम्बर वडा कार्यालयले साहित्य, कला, संस्कृति प्रतिष्ठान भनेर एउटा संस्था वडाकै निगरानीमा रहने गरी दर्ता गर्‍यो । त्यसको संरक्षक वडा कार्यालय रह्यो ।
‘मेरो अनुभवमा बौद्धिक कार्यक्रमले हामीजस्ता जनप्रतिनिधि युवा जोस जाँगर भएकाहरुलाई गाइडलाइन र विकासका काममा प्रोत्साहित गर्ने गर्दा रहेछन्,’ वडाध्यक्ष काफ्ले भन्छन्, ‘साहित्यलाई न उमेरले छेक्छ न बैंसले । यहाँ सात वर्षको बालबालिका देखि ९६ वर्ष पुगेका ज्येष्ठ नागरिकले पनि साहित्यिक र बौद्धिक कार्यक्रममा लाग्न सक्छन् ।’

काफ्ले अनुभव सुनाउँछन्, ‘साहित्यले भाइचारा नाता पनि कायम गर्न सक्छ । मेची महाकालीका नेपालीका बीच भाइचारा सम्बन्ध कायम गराउँछ । चाहे मेचीको ८० वर्षको कोही व्यक्ति होस् वा महाकालीको आठ वर्षको । ती दुवैलाई मित्रमिलन गराउने काम बौद्धिक क्षेत्रले गर्छ । बौद्धिक क्षेत्र र पर्यटनलाई आकर्षित गराउने सबैभन्दा ठूलो माध्यम ‘साहित्य’ नै हो ।’
साहित्य बुझ्ने र गहन अध्ययन गर्ने हो भने चाँडै नै देशलाई रुपान्तरण गर्न र परिवर्तन गर्न सकिने उनको मत छ । ‘साहित्यप्रति झुकाव हुनेले एउटा कविता मानौं चिन्डे डाँडाका विषयमा लेख्दा त्यहाँको पहिचान र सांस्कृतिक सुगन्ध विश्वभर फैलिन्छ, वडाध्यक्ष काफ्ले भन्छन्, ‘हामीले पहिचान गर्न नसकेका पक्ष एउटा साहित्यकर्मीले गरिदिन्छ ।’

धरान १३ स्थित फुस्रे ऐतिहासिक बजार हो । ‘तरुल साहित्य’ नामाकरण गरी माघे सङ्क्रान्तिका दिनमा साहित्यिक कार्यक्रम भयो । यो ठाउँमा ज्येष्ठ नागरिक तथा विशिष्ट व्यक्तित्वहरु साहित्यकर्मी छन् । बम देवान, कुन्ता शर्मा, डा. आनन्द आचार्य, वेणु आचार्य, वद्रि पलिखेजस्ता व्यक्तिले कवितामार्फत् यहाँको विशिष्टतालाई प्रकाश पारेका छन् । उनीहरुको साहित्यिक विचार र पथलाई आफूले पछ्याउने गरेको काफ्ले बताउँछन् । उनी साहित्यसँगसँगै पर्यटनलाई जोडेर लानुपर्ने बताउँछन् । उनी भन्छन्, ‘साहित्यलाई पर्यटनसँग जोड्दा हामीजस्ता जनप्रतिनिधिले के गर्ने ? भन्ने ‘कन्सेप्ट’ त्यहाँबाट प्राप्त हुन्छ ।’

वडाध्यक्ष काफ्ले भन्छन्, ‘ऐतिहासिक फुस्रे बजारमा हिजो ढाकर बोकेर हिंड्नेहरुको पसिनाले सिन्चित भूमि हो । यहाँबाट हाम्रा बाउबाजेले नुन मट्टितेल सामल बोकेर उकालो लाग्नु भएको थियो । १४ जिल्लाको पौरखीहरुको ‘ट्रान्जिट पोइन्ट’ थियो । त्यो बजारको अस्तित्व अहिले समाप्त भएको अवस्थामा छ ।’

२०३४ सालमा जिरोपोइन्ट हुँदै धनकुटा लागेपछि फुस्रे ओझेलमा पर्‍यो । विगतको इतिहास समाप्त हुने अवस्था आएको काफ्ले बताउँछन् । ‘यहाँको इतिहास यसको नामाकरण र यहाँ किन जाने भन्ने देखाउन एउटा इतिहासको संरक्षण र आन्तरिक पर्यटन भित्राउन समेत इतिहासको मोडल बनाएर अगाडि बढेका छौं ।’ वडाध्यक्ष काफ्ले भन्छन्, ‘यसले धरान १३ लाई देशविदेशमा चिनाउने प्रयास गरेको छ ।’

धरान १३ मा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव भयो । महोत्सवमा भारतका सिक्किम, दार्जिलिङ, आसामलगायतबाट ८० बढी स्रष्टालाई निम्तो मान्न आए ।
‘महोत्सवले सिंगो धरानको प्रचारप्रसार गर्ने र धरानको भौगोलिक अवस्थितिका बारेमा दुनियाँलाई बुझाउने काम गरेको छ । ऐतिहासिक कुराको उत्खनन् गर्दै त्यसलाई पर्यटन र विकासका रुपमा प्रवर्धन गर्न सकिने रहेछ ।’ वडाध्यक्ष काफ्ले भन्छन्, ‘साहित्यलाई पर्यटन र विकाससँग जोड्न सकिने रहेछ । सुन्दर शहरमा विदेशीलाई आतिथ्यता गराउन पनि साहित्य क्षेत्रबाटै पहल गर्न सकिने रहेछ ।’
साहित्यिक गतिविधिले धरान १३ लाई चिनाउने काम गरेको रहेछ भन्ने महसुस गर्दा उनी आफू आनन्दित हुने बताउँछन् ।

‘प्राध्यापक डाक्टर टङ्क न्यौपानेले पनि भेटमा भन्नु भएको थियो । मलाई अन्त जतासुकै गए पनि १३ नम्बर वडामा आउँदा खुसी लाग्ने बताउनु हुन्छ, साहित्य विधामा जनप्रतिनिधि आफैं लागेर काम गरेको विषयले उहाँलाई प्रभावित बनाएछ ।’ काफ्ले भन्छन्, ‘उहाँजस्ता विशिष्ट विद्वानको प्रतिक्रियाले पनि हामीलाई प्रोत्साहित गर्दो रहेछ । उहाँले क्यानडामा पनि धरान १३ को नाम सुन्नु भएको भन्दै धन्यवाद दिनुभएको छ ।’ उनी भन्छन्, ‘एक प्रकारको भावना बोकेर सकारात्मक सोचका साथ साहित्य विधालाई प्रवर्धन गर्न सकियो भने नगर र देशको रुपान्तरण गर्न सकिन्छ ।’

‘साहित्यमा लगानी’
साहित्य विकासका सन्दर्भमा वडाध्यक्ष काफ्ले भन्छन्, ‘भौतिक रुपमा मैले यो अवधिमा झण्डै ६ किलोमिटर सडक बनाएँ हुँला । म आएपछि पहिलो वर्ष कुन्ता दिदी, बम देवान दाइ, डा. गोपाल भण्डारीसँग सहकार्य गर्दै साहित्य कला प्रतिष्ठान स्थापना ग¥यौं । दोस्रो वर्ष अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव गर्‍यौं । यो कार्यक्रम सकेपछि हामी झनै व्यस्त बन्यौं । शनिबार म कहिल्यैं खाली बस्दिनँ । बिदाको समय साहित्यमै समर्पित हुने गरेको छु । पुस्तक विमोचन, रचना वाचनलगायतका कार्यक्रममा कहीँ न कहीँ पुगेकै हुन्छु । वडाध्यक्षज्यू आइदिनु प¥यो भन्नुहुन्छ । मोरङ, झापा त नजिकै भए ।
पहिलो कृति प्राध्यापक डाक्टर भीम खतिवडाको आस्थाका अम्मल पुस्तक प्रकाशन गरी हामीले वृहत् रुपमा कृतिको विमोचन ग¥यौं । क्रान्तिकारी धारमा लागेर, आफ्नो जीवनलाई नाट्यकर्ममा समर्पित गर्नु हुने गोपाल देवान दाइलाई अध्ययन गरेको थिएँ । उहाँको इतिहास पढ्न पाउँदा म प्रोत्साहित भएँ । उहाँसँग कुरा गरेर उहाँका नाट्यकृति ‘दमनको राप’ प्रकाशन ग¥यौं । त्यसको पनि वृहत् कार्यक्रम गरेर विमोचन ग¥यौं । त्यसले हाम्रो हाइट बढायो । हालै हामीले तेस्रो पुस्तक गजल सङ्ग्रह प्रकाशन र विमोचन गर्‍यौं । प्रदेश १ का गजल लेखन अभियानका संयोजक गजलकार रोमु अधिकारीको गजल सङ्ग्रह ‘बरियो’ मेची महाकाली र देशविदेश पुगेको छ । जसले प्रत्यक्ष हामीलाई पनि उभ्याएको छ । दुबई, मलेसियाबाट हामीलाई प्रतिक्रिया आइरहेको छ ।
साहित्य कला प्रतिष्ठानको वार्षिक उत्सवका बेला हामीले नुवाकोटका स्रष्टा सुमित्रा सुमी बहिनीलाई सम्मान गरेका थियौं । उहाँले लकडाउनका बेला सर्जकहरुलाई साहित्यिक कार्यक्रममार्फत् निरन्तर जोडी रहनु भयो । साहित्य विधाको अभियानलाई उहाँहरुले निरन्तर चलाउनु भयो । धनकुटाका स्रष्टा, बराहक्षेत्रका प्रकाश दिप्साली, साहित्य साधनामा निरन्तर लागिरहनु भएका हिक्मत खड्कालगायत पाँच जनालाई नगदसँगै सम्मान गर्‍यौं ।’

वडाध्यक्ष काफ्ले भन्छन्, ‘वडाको साहित्यिक गतिविधिले यहाँको पनि उच्च मूल्यांकन भएको पाएको छु ।’
‘बैतडी, डोटीदेखि नुवाकोट हुँदै आसामसम्मका साथीहरु सम्पर्कमा हुनुहुन्छ । राराका साथीहरुले अनलाइन अन्तर्वार्ता लिनुभयो,’ वडाध्यक्ष काफ्ले भन्छन्, ‘नुवाकोटका साथीहरुले प्रत्यक्ष कुराकानी गर्नु भयो । साथीहरुले सोध्नु हुन्छ– जनप्रतिनिधि भएर कसरी साहित्यिक कार्यक्रममा लाग्नु भयो ? उहाँहरुले भन्नुहुन्छ – बाटोघाटो कुलोपैनी, पानी ट्याङ्की बनाउनु पर्ने किन साहित्यिक क्षेत्रमा लगानी गर्नु भयो ?’

वडाध्यक्ष काफ्लेले भन्ने गरेका छन्– ‘एउटा बाटो पिच गर्नु, एउटा चौतारो बनाउनु मात्र विकास होइन । तपाईले बनाएको बाटो भोलि उप्किन सक्छ । पिच भत्कन सक्छ । तर साहित्यमा तपाईंले पाँच वर्ष गरेको योगदान स्वर्ण अक्षरले लेखिन्छ । जसको चर्चा जुनीभर हुन्छ ।’
बौद्धिकताको विकासमा पनि जनप्रतिनिधिले जोड दिनुपर्ने काफ्लेको भनाइ छ । बौद्धिक क्षेत्रको विकास गर्नुपर्छ भन्ने जबसम्म जनप्रतिनिधिमा ज्ञान हुँदैन तबसम्म विकासको औचित्य नहुने उनको तर्क छ । बौद्धिक र भौतिक विकासलाई सँगै लिएर जानुपर्ने उनी बताउँछन् ।

नवकला साहित्य समूहमा आवद्ध भएर काम गरेको पुरानो उर्जा र प्रोत्साहन वडाध्यक्ष भएपछि काफ्लेले उपयोग गरिरहेका छन्, जसले उनको कामको प्रशंसा भएका छ । काफ्ले भन्छन्, ‘साहित्य कला संस्कृति प्रतिष्ठानले नित्यकर्म आफ्नो ठाउँमा गरेकै छ । मेचीमहाकाली जाने अभियान पनि सुरु गरेका छौं । तर, अब निर्वाचन घोषणा भएपछि यो सम्भव छ कि छैन हेर्नै पर्ने हुन्छ ।’

उपसंहार
‘टिकट पाउने कुरामा मिहिनेत गर्नुपर्ने कुरै भएन । तत्कालीन मेयर स्वर्गीय तारा सुब्बाले दश–बाह्र चोटि धाएरै कुरा राख्नु भयो । मैले कृषि बजारको जागिर छाडेर वडाध्यक्षमा उठें । मलाई सम्झना छ, तारा दाइसँग वार्ता पनि रातको ११ बजे कृषि उपज बजारमा बसेको थिएँ । उहाँले त्यसैबेला चुनावी खर्चसमेत भनेर एक लाख रुपैयाँ दिनुभयो । साठी थान भेस्ट उपलब्ध गराउनु भयो ।
वडाध्यक्षहरु पैसा तिरेर टिकट लिएको कुरा सुनाउँछन् । काफ्लेले तत्कालीन नेतृत्वबाट आर्थिक प्रोत्साहनसमेत पाएर जनताको काम गर्ने अठोट गरे ।

वडाध्यक्ष काफ्ले जनप्रतिनिधि हुँदाका अनुभव सुनाउँदै भन्छन्, ‘तारा दाइले चुनावमा कसरी जाने भन्दा पनि पैसा लगेर निर्वाचन परिचालन कमिटीलाई जिम्मा दिनू, सबै कुरो उसैले मिलाउँछ । तपाईले केही गर्नु पर्दैन भन्नु भयो । मैले बहत्तर हजार रुपैयाँ निर्वाचन परिचालन कमिटीलाई बुझाएपछि चुनावमा लड्ने काम भयो ।
चुनाव मेरो पहिलो अनुभव थियो । त्यस अगाडि मैले वडा नागरिक मञ्चको अध्यक्ष भएर तीन कार्यकाल काम गरेको थिएँ । वडा नागरिक मञ्चमा काम गरेको अनुभवले मलाई वडा सञ्चालन गर्न सजिलो भयो ।

पार्टीले बनाएको घोषणापत्र अनुसार ८५÷९० प्रतिशत काम पूरा भएको छ । जनताको अपेक्षा ठूलो हुन्छ । त्यो अनुसार गर्न नसके पनि कामको सिलसिलामा सबै क्षेत्रमा काम गरिएको छ । ‘यो टोलमा पैसा परेन’ भन्ने कसैमा गुनासो होला जस्तो लाग्दैन । सूर्य मार्गको तल्लो पुलदेखि उँधोमात्र पिच भएको थियो । त्यसदेखि माथि पिच भएको थिएन । हामी आएपछि मात्रै यहाँ (सूर्य मार्ग) देखि फुस्रेसम्मको पिच भयो । बाटाघाटाका सन्दर्भमा अरु वडाभन्दा चाहिं बढी काम भएको हो कि भन्ने महसुस चाहिं छ ।

मोटामोटी २० वर्षसम्म जनप्रतिनिधिविहीन रहँदा कर्मचारी साथीहरुले स्थानीय निकाय सञ्चालन गर्नु भयो । त्यतिखेरको अवस्था र अहिले जनप्रतिनिधि आएपछिको अवस्था हेर्दा दोब्बर नै विकास भएको महसुस गर्न सकिन्छ । गर्दा नहुने भन्ने कुरो चाहिं केही पनि रहेनछ । काम गर्ने इच्छाशक्ति हुँदा र गर्छु भन्ने भावना राखेर काम गर्दा काम हुने र विकास पनि निकै नै हुने रहेछ ।
धरान १३ मा यो अवधिमा झण्डै ६ किलोमिटर सडक निर्माण र कालोपत्रे भएको छ । शिवधाराको आरसीसी ढलाइ, संघीय प्रहरी कार्यालय पछाडिको बाटो, अनाम टोल पछाडिको बाटो, उदयमार्गको बाटो, सूर्यमार्गको बाटो यी सबैलाई हेर्दा विकास भएको देखिन्छ । यो वडाको भौगोलिक स्थिति र यहाँको प्रकृतिअनुसार धेरै बाटाहरु आरसीसी ढलाइ गरेका छौं ।

जनप्रतिनिधि आएपछि कुलो पैनी, बाटाघाटा, पाटी चौतारामात्र विकास भन्ने ‘कन्सेप्ट’लाई हामीले तोड्यौं । हामीले विकास बजेटसँगसँगै, भौतिक विकास र बौद्धिक विकासलाई पनि लानुपर्छ भन्यौं । महिला, बालबालिकाका क्षेत्रमा पनि उल्लेख्य काम ग¥यौं । बालबालिकाको सन्दर्भमा संघीय संरचनापछिको प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भयौं । त्यसैगरी साहित्यको क्षेत्रमा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव गर्न सफल भयौं । युवा लक्षित कार्यक्रम, खेलकुदका क्षेत्र विकास, ज्येष्ठ नागरिक भ्रमण, ज्येष्ठ नागरिक भवन, बालबालिका भ्रमणका कार्यक्रम ग¥यौं । स्वास्थ्यका क्षेत्रमा वडाकै पहलमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना ग¥यौं ।

हामीले घोषणापत्रमा पर्यटनका कुरा गरेका थियौं । पर्यटनका सन्दर्भमा बीपी पार्क, ओशो ध्यान केन्द्र, जैविक विविधता पार्क निर्माण गरी प्रवर्धन ग¥यौं । रक गार्डेन बनाउने भनेर तयारी गरेका छौं । ज्येष्ठ नागरिकलाई विश्रामालय बनाउनु पर्छ भनेर हामीले दुई ठाउँ अमर हाट र फुस्रेमा काम ग¥यौं । ज्येष्ठ नागरिकलाई बैठक बसाउने छलफल गराउने मादल, हारमोनियहरुको व्यवस्था गरिदिएका छौं । उहाँहरु आउनु हुन्छ, बस्नुहुन्छ ।
प्रशासनिक कामलाई छिटोछरितो गरेका छौं । पाँचदेखि दश मिनेटभित्रैमा सामान्य काम गरेर पठाउँछौं । अनावश्यक ह्रस्वदीर्घका कारणले दुःख दिने परिपाटी छैन । कामको सिलसिला एउटा रफ्तारमा गरेका छौं ।

गौरा मार्ग र सारङ्गालाई जोड्ने भनेर तीन वटा पुल बनायौं । जातीय संघसंस्थाको संरक्षण गर्ने पनि हाम्रो दायित्वमा पर्छ । हामीले किरात राई यायोक्खालाई ५ लाख रुपैयाँ दियौं । उहाँहरुले वान्तवा खिमको काम गर्नु भएको छ । जातजाति भेषभूषा, संस्कृतिका लागि पनि हामीले काम गर्नु पर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेका छौं ।
काम गर्ने क्रममा कहिलेकाहीं त्रुटि हुन सक्छ । प्रशासन चलाउने मान्छेले प्रशासकको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । कुर्सीमा बसेपछि सबैलाई माया गर्छु भन्ने पनि नहुने रहेछ । कहिलेकाहीं गाली गर्नुपर्ने पनि हुन्छ । फटाइँहरुलाई नियन्त्रण गर्नुपर्ने पनि हुन्छ ।

खहरे करिडोरहरुको नियन्त्रणका लागि ‘पम्पिङ वाल’हरु निर्माण गर्ने काम भइरहेको छ । सर्दू नियन्त्रणका लागि ‘ग्याबिङ वाल’हरु निर्माण गर्ने काम भइरहेको छ ।
केही काम अधुरा छन् । गौरा मार्ग निर्माण गर्ने सन्दर्भमा अलिकति बाँकी छ । नागेश्वर मार्गको ड्रेन बनाउने काम सुरु भएको छ, पूरा गर्न बाँकी छ ।

खुकुरी स्तम्भ तथा गोल्डेन भिलेज पार्क निर्माणका लागि अन्तिम चरणमा ‘सोइल टेस्ट’ भएर ‘डिपिआर’ सम्पन्न भएको छ । काम चाँडै सुरु हुँदै छ । यो पूर्वकै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्र बन्ने छ । पर्यटनलाई टेवा पुर्‍याउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यका साथ भूपू गोर्खा सैनिकहरु लागिपर्नु भएको छ । काम अन्तिम चरणमा छ । अमर हाटमा प्रदेशबाट पार्क निर्माण हुँदैछ । त्यसको काम पनि अन्तिम चरणमा पुगेको छ । अमर सेवा समाजलाई हामीले केही रकम दिएर पक्की संरचना बनाउने कि भनेर काम थालेका छौं । जीर्ण अवस्थामा रहेको उदय बाल विकास केन्द्रलाई ढलाइ गरेर ट्रस्टसम्म लगाउने वातावरण मिलाइएको छ । ती क्षेत्रका प्रायः बाटो सम्पन्न भएका छन् । बाँकी एउटा बाटो पनि हालै १० लाख रुपैयाँ परेर ‘ड्रेन’ र ‘एजिङ’ लगाउने काम भइरहेको छ । राई टोलको काम पिच हुने क्रममा छ । भूपू सैनिक मार्गमा प्रदेशबाट १० लाख र उपभोक्ताबाट ४ लाख रुपैयाँ उठाएर बाटो सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अविरल मार्गमा ‘ड्रेन’, ‘एजिङ वाल’ सकिएको छ । बाटो सम्पन्न गर्न बाँकी रहेको छ । दर्शन मार्गको बाटो ‘ड्रेन’ र ‘एजिङ’ भएको छ । आउने दिनमा त्यसलाई सम्पन्न गर्नु पर्ने भएको छ । देवी मार्गको बाटो तलमाथि ‘ड्रेन’ र ‘एजिङ’ सकिएको छ । पिच गर्न बाँकी छ । यसरी ‘पाइपलाइन’मा रहेका काम मोटामोटी सकिएको छ । यो टोललाई पैसै परेन भन्ने जनगुनासो नहुनु पर्ने हो । गौरा मार्गका लागि अहिले पनि २० लाख विनियोजित छ । २० लाखले ठाउँठाउँमा ‘एजिङ वाल’ गरिनेछ । सकियो भने बहुवर्षीयमा हाल्ने तयारी छ ।

kafle-_1

 

७५ प्रतिशत समथर भए पनि २५ प्रतिशत पहाडी भेगले छोएको वडा हो यो । यो वडाका केही उच्च क्षेत्रमा कृषि क्षेत्र घोषणा गर्नु पर्छ भनेर कार्यापालिका बैठकबाट निर्णय भएर नगर सभाबाट पास गरिएको छ । बेसार, अदुवालगायत मसाला बालीको यहाँ सम्भावना रहेको छ ।

शिक्षाका क्षेत्रमा कुरा गर्दा हामी आउँदा जीर्ण रहेका बालविकास केन्द्रहरुको मर्मत गर्ने काम भएको छ । राम्रै हिसाबले मन्टेश्वरीकै तुलनामा यसलाई सञ्चालन गर्ने नीति लिइएको छ । फुस्रे स्कुल जीर्ण थियो । त्यसलाई साढे ६ करोड चानचुन बजेट संघीय सरकारबाट आएर डेढ करोड बराबरको काम सम्पन्न भएको छ । अर्को टेन्डरको प्रक्रिया अघि बढाइएको छ । प्रदेशका माननीय सभामुख प्रदीपकुमार भण्डारीबाट ५० लाख आएर पछाडिपट्टि दुई तलाको भवन निर्माण सम्पन्न गर्‍यौं ।
यसरी हेर्दाखेरि शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा पनि काम गरेका छौं ।’

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved