धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो ।
चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ ।
इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको बताएका छन । जनकचोक तिन वडाको संगम स्थलमा रहेको चोकलाई राजा जनकको नाममा समर्पित गरेर जनकचोक नामाकरण गरिएको बताए । प्रमुख जिल्ला अधिकारी माधव ठूङ्गानाले खेर गइरहेको एउटा खोल्सोलाई व्यवस्थापन गरेर विभिन्न संरचना निर्माण गरेर इलाम नगरपालिकाले उदारणीय काम गरेको बताए ।
इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिवहादुर भूजेलले राष्ट्रिय विभूति राजा जनक ऐतिहाँसिक महत्वको व्यक्तित्व भन्दै इलाम नगरपालिकाले ऐतिहाँसिक व्यक्तित्वको शालिक अनावरण गरिरहँदा नेपालीहरुको साझा भावनात्मक एकताको समेत अनावरण गरिरहेको बताए । भूजेलले मैथिली संस्कृतिका व्यक्ति, इलाम आउँदा उहाँहरुले गर्भ महशुस गर्ने बताए । कार्यपालिका सदस्य सिता रिजालले इलाम नगरपालिकाले इलामको विकासमा उदारणीय काम गरेको बताईन ।
इलाम नगरपालिकामा रहेको देशकै पहिलो चिया कारखान नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक निर्माण गरेको छ । इलाम चोक बजारमा चिया टिप्दै गरेको मूर्ति निर्माण गरिएको छ । डेढ शताब्दी अघि देखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ । नेपालमा चियाको विकास गरेर जिल्लालाई चिनाएका कारण उनको प्रतिक बनाइएको हो । इलाम नगरपालिकाले नेपालका राष्ट्रिय विभुति अरनिको नामबाट संग्रहालय निर्माण गरेको छ । सय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालयको रुपमा विकास गरेको छ । संग्रहालयमा पूर्खाले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजालाई राख्न थालिएको छ ।
जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवार लगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गरेको छ । नगरपालिकाले वडा नम्बर सातमा शंखधर शाख्वाको प्रतिमा निर्माण गरेको छ । नेपालका राष्ट्रिय विभूति र नेपाल संवतका प्रवर्तक रहेका उनले नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए । नगरपालिकाले पारीजातको शालिक निर्माण गरेको छ । नगरपालिकाले फाल्गुनन्द एयरपोर्टबाट शुरू हुने र सिद्धिथुम्का, लिङदिनटार, खात्रोक्पा महमाइ हुँदै माङसेबुङ सम्मको सडकको प्रस्थान विन्दुमा महागुरुको प्रतिमा सहितको स्वागत द्वार निर्माण गरेको छ ।