इलाम/ आइतबार दिउँसो देखि इलामको चिया कारखानामा लागेको आगलागीबाट करिब १० करोड रुपैया भन्दा बढी क्षति भएको छ ।
इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढिको क्षति भएको कम्पनीका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट १ सय १० फिट लम्बाई, ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन, २४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ ।
आगलागीबाट उद्योगमा स्टक गरी राखिएको ८० हजार किलोभन्दा बढी तयारी चिया पनि जलेर नष्ट भएको काफ्लेले जानकारी दिए । चिया उद्योगमा आगलागी हुँदा कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुम बाहेक अरू सबै संरचना नष्ट भएको छ ।
आगो नियन्त्रणको लागि सूर्योदय नगरपालिका, इलाम नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको दमकलसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि उद्योग पूर्णरुपमा जलेको छ ।
उद्यमी अशोक मुरर्काको उद्योगले दैनिक १५ हजार किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमताको थियो । २०५३ सालमा स्थापना भएको इलाम टी प्रोडुसर्स प्रालिको उद्योग निजी क्षेत्रबाट स्थापना भएको दोस्रो चिया कारखाना हो ।