इलाम / इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट फागुन ८ देखि इलाम काठमाडौं उडान हुने भएको छ । काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएसँगै उडान हुने भएको हो । साताको प्रत्येक आइतबार उडान गर्नेगरी नगरपालिका र तारा एयरलाईन्सको बीचमा सम्झौता भएको हो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ ।
हवाई यात्राको लागि एकतर्फि भाडा आठ हजार ७ सय कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको ब्यवस्थापन र भूमिस्थ सेवाको ब्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेखछ । नगरपालिका र तारा एयरलाईन्सका बीचमा भएको सम्झौता १२ उडान अर्थात तीन महिनाको लागि भएको हो ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सञ्चालन र यहाँबाट हवाईयात्रा गर्ने बानीको विकासको लागि नगरपालिकाले एयरलाईन्ससंग सम्झौता गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन् । तीन महिनासम्म नियमीत उडानमा यात्रुको चाप पुगे उडान दिगो हुने उनको भनाई छ । इलामबाट नियमीत उडानको लागि नगरपालिकाले हवाई उडानको लागि सहुलियत दिने भएको छ । हवाई यात्राको एकातर्फि टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को ब्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, ब्यापारी र खेलाडीले प्राप्त गर्नेछन् । विमानस्थलबाट नियमीत उडान भएमा इलामको पर्यटन प्रवद्र्धनमा सकरात्मक प्रभाव पर्नेछ ।
इलाममा हवाई यात्रा नहँुदा यहाँ आउन चाहाने पर्यटकहरु पनि लामो यात्रा गर्नुपर्ने झञ्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमीत उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पुरा भएको पाँच महिना वित्दापनि उडान शुरु भएको थिएन । विमानस्थल बनाउन शुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमानै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दशवर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालिएको थियो ।