धरान । करिब तिन वर्ष अघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि संचालनमा आउन सकेको छैन् ।
संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क संचालन गर्न नमाने पछि करिब तिन वर्ष देखि अलपत्र बनेको छ । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ ।
अहिले बसपार्कमा लागुपदार्थ दुव्र्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका मात्रै नभइ बराहक्षेत्र, इटहरी, धरान, बिराटनगर र सप्तरी सम्मको टिकटकरहरुले टिकटक र युटुबरहरु भिडियो बनाउन आउने गरेका छन् ।
कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पौष २५ गते तत्कालिन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उदघाटन गरेका थिए । कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिलेनै करिब १० करोड रुपैयाँको हाराहारीमा इनरुवा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका ५ का वडाध्यक्ष अन्जनी पोखरेलको अध्यक्षतामा बसपार्क संचालन समिती गठन भएको थियो अहिले समिती पनि नेतृत्व विहिन बनेको छ ।
तिन वर्ष बितिसक्दा पनि बसपार्क संचालन नहुँदा जग्गादाता सहित स्थानीयहरु पनि आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले निशुल्क रुपमा ५ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । उनले बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरुसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालन गर्ने नगरपालिकाको मनशाय नरहेको उनको आरोप छ ।
शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकोले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले आनाकारी गरिरहेको छ । इनरुवा नपाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब बराबरको रकम पाउनुपर्नेमा टेण्डर १ अर्ब ८० करोडमा मात्रै भए पछि बाँकीको रकम २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउँने मेयर मेहताले बताउँदै आएका छन् । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरद्वारा निर्माण भएको थियो ।