इलाम/ परम्परागत रुपमा गरीदै आएको कोदो खेती अहिले पनि इलामको ग्रामीण भेगमा फाट्ट फुट्ट पाईन्छ । रैथाने बालीको रुपमा रहेको र लोप हुँदै गरेको अवस्थामा अहिले पनि इलामको माई नगरपालिकाका ग्रामीण ठाउँमा कोदो खेती फाट्ट फुट्ट पाईने गरेको हो ।
नेपालमा करोडौको कोदो आयात भइरहँदा इलाममा भने फाट्टफुट्ट कोदो खेती हुने गरेको छ । सडक सञ्जाल विस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि घट्दो क्रममा रहेको कोदो खेती इलाममा अहिले पनि मासिएको छैन । जिल्लाको माईनगरपालिकाको ग्रामिण भेगका किसानले अहिले पनि कोदो खेति गरिरहेका छन ।
कम मूल्य भएकाले धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिने र खेती लगाउँदाको लागत उठाउन गाह्रो भएकाले पनि कोदो खेती लोप हुन थालेको पाईन्छ । माई नगरपालिका एककी खिकादेवि राई आफूले प्रयोग गर्नका लागि मात्र कोदो खेती गर्ने गरेको बताउँछिन । उनले भनिन राई ‘मत्वाली परियो जाँड खाईहालिन्छ त्यसैले आफूलाई मात्र खेति गरेको हो ।’
माईनगरपालिका एकमा धेरैजसो राई मत्वालीको बसोबास भएको कारण अहिलेपनि कोदो खेती गरिरहेका हुन । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकै पाक्ने बेलामा घुसुवा बालीका रूपमा लगाइने कोदोखेती जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि फाट्ट फुट्ट बाहेक खेती हुन छाडेको छ । प्रशस्त मात्रामा कोदो फलाउन सकिने जमीन रहेपनि इलाममा व्यवसायीक खेतीप्रति कृषक आकर्षित नहुँदा खेती विस्तार हुन सकेको छैन ।
कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । कोदोमा क्यालसियम, फस्फोरस र फलामको मात्रा पाईन्छ । पोषिलो भएका कारण कोदो बालबालिका, गर्भवती महिला र विभिन्न उमेरका मानिसका लागि परिवर्तित खाद्यको रूपमा पनि लिइन्छ । कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो भएपनि यसको महत्व थाहा नहुनु र सरकारले कोदो खेति प्रति चासो नदिएको कारण खेती हराउन थालेको माई नगरपालिकाका कोदो किशान विष्णु राई बताउँछन ।
नेपालमा चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङक अनुसार गत वर्ष चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।
इलाममा भने आर्थिक वर्ष २०७६÷७७ मा एकहजार पाँचसय ५९ क्षेत्रफलमा एकहजार आठसय ८२ मेट्रीकटन उत्पादन भएको तथ्याङक छ । त्यस्तै ७७÷७८ मा १६ सय हेक्टरमा खेती गरेर एकहजार नौ सय २५ मट्रीकटन उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङक रहेको छ । तथ्याङक हेर्ने हो भने कोदो खेतीको क्षेत्रफल र उत्पादन बढेको देखिन्छ ।