मोरङ/ कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले विगतमा भन्दा राम्रो तयारी गरेको सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उनले बताए ।
प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए । मन्त्री यादवले भने, ‘कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ ।’ अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको उनले बताए । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।
कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले आग्रह गरे । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।