धरान÷ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स) ले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
एम्सले नेसनल मल्टिपल कलेजसँगको सहकार्यमा तहका शैक्षिक कार्यक्रम सुरु गरेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामै पहिलोपटक चारवर्षे बीएड आईसीटीसहित बीएड र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ । बीएड आईसीटी शिक्षा सङ्कायअन्तर्गत स्नातक तहमा आईसीटीसम्बन्धी चारवर्षे कोर्स हो । यसले विद्यालय स्तरको दक्ष आईसीटी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएको हो ।
कार्यक्रममा उपस्थित नेसनल कलेजका सल्लाहकार सागर भट्टराईले विद्यालय तहमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरिने हुँदा यो कोर्स गरेका जनशक्तिले प्रारम्भिक चरणमा न्यूनतम प्रतिस्पर्धाबाट स्थायी शिक्षकका रूपमा नियुक्ति पाउने दावी गरे । एम्सले आफ्नै भवनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले बीएड आईसीटीमा भर्ना हुन पाउनेछन् ।
कलेजका अनुसार बीएड तथा बीबीएसको चारवर्षे कोर्स पूरा गर्न लगभग १ लाख ४० हजार रुपैयाँ लाग्ने छ भने एडभान्स डिप्लोमासम्मको कम्प्युटर शिक्षा कलेजले निःशुल्क रूपमा प्रदान गर्ने छ । त्यस्तै, बीएससी सीएसआईसीटी तथा बीईएम÷बीसीएम अध्ययन पूरा गर्न विद्यार्थीहरूको ४ देखि ५ लाखसम्म खर्च हुने गरेकोमा एम्स कलेजमा २ लाख रुपैयाँसम्ममा विद्यार्थीले अध्ययन पूरा गर्न पाउने छन् ।
पत्रकार सम्मलेनमा कलेजका व्यवस्थापन समूहका संयोजक दुर्गा सुवेदीले शिक्षासँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्ने उद्देश्यले कलेजले विभिन्न प्रकारका छात्रवृत्तिहरूको पनि व्यवस्था गरेको जनाए । उनका अनुसार एकल आमाका सन्तानहरूलाई कलेजले ५० प्रतिशत छात्रवृत्ति दिनेछ भने दलित, आदिवासी जनजाति, सीमान्तकृत समुदाय, क्षेत्र र विपन्न वर्गका विद्यार्थीहरूका लागि पनि छात्रवृत्तिको व्यवस्था गरेको छ ।
धरानलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न यी शैक्षिक कार्यक्रमहरूले सहयोग पु¥याउने कलेजका प्राचार्य मित्र तामाङले बताए । तामाङले आगामी वर्ष बीएएलएलबी, बीसीए, बीआईएम, बीआईटी, एमएड र एकवर्षे बीएड जस्ता कार्यक्रमहरू सञ्चालन गरिने बताए ।