झापा/ झापाको मेचीपारिका सर्वसाधारण विजुली बत्ती भए पनि अँध्यारोमा बस्न बाध्य छन् । गाउँमा विजुलीको पोल छ, घरमा बत्ती जडान गरिएको छ तर महिनौदेखि बत्ती भने बलेको छैन । उनीहरु टुकी र मैनबत्तीको सहारामा बस्न बाध्य छन् ।
बर्षाद्को समयमा आएको बाढीका कारण बत्तीको संरचना सबै भताभुंग बनाए पछि घरमा बत्ती जडान भएपनि अँध्यारोमा बस्नु परेको छ । २०७७ साल चैत्र ७ गते मेची नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखेरलले उद्घाटन गरेपछि पहिलो पटक गाउँमा बत्ती बाल्न पाउदा मेची नगरपालिका वडा नं. १५ ग्वालवस्तीका सर्वसाधारण हर्षित थिए ।
उद्घाटन गरेसँगै वैसाखदेखि विजुली बत्ती बाल्न शुरु गरेका उनीहरुले जेष्ठ, असार साउनमा मात्र विजुली बाल्न पाए । मेची खोलामा आएको बाढीले विजुलीको पोल बगाएपछि गाउँमा बत्ती नै बाल्न नपाएको ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमल यादव बताउँछन् । उनले भने, ‘उद्घाटनसँगै गाउँमा झलल बत्ती बढेसँगै गाउँबासी खुशी भयौ, तर तीन महिना पनि बाल्न पाइएन, बाढीले पोल बगाएर लगेपछि विजुली नै बल्न छाड्यो, पूरै गाउ अन्धकार बन्यो, पटक पटक खबर गर्दा पनि अहिलेसम्म सम्बन्धित पक्षले चासो देखाएको छैन ।’
नगरपालिकाले उनीहरूलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको थियो । स्थानीय सरकार तथा विद्युत् प्राधिकरणको लापरबाही र हेलचेक्राइँका कारण गाउँमा बिजुली बलेको तीन महिना नपुग्दै मेची खोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा सेवा रोकिएको अध्यक्ष यादवले बताए । उनले भने, ‘पोलहरु कहा गाड्नु्पर्ने भन्ने कुरा पनि ज्ञान नभएको विद्युत प्राधिकरणका कारण अहिले गाउँबासी अध्यारोमा बस्नु परेको हो ।’ यस विषयमा स्थानीय सरकार मेची नगरपालिका समेत चुपचाप रहेको उनको भनाई छ । उनी भन्छन्, ‘२० वर्ष अघिदेखि गाउँमा बिजुली बत्ती चाहिन्छ भनेर यहाँका बासिन्दाले आवाज उठाउदै आएका थियौ ।’
स्थानीय संगीता यादवले विजुली बत्ती नभएपछि साँझ नपर्दै खाना खानुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन्, ‘बत्ती नभएकै कारण साँझ नपर्दै हामी खाना खाइसक्छौंं ।’
नेपाल विद्युत प्राधिकारणका इन्जिनियरहरु भने जानकार नभएको बताउने गरेका छन् । प्राधिकरण भद्रपुर वितरण केन्द्रका इन्जिनियर तथा सूचना अधिकारी नरेन्द्रकुमार साहले ग्वाली बस्तीमा विजुली नभएको कुरा जानकारी नै नभएको बताए । उनले भने, ‘गाउँमा बत्ती नभएको कुरा हामीलाई जानकारी नै आएको छैन, जानकारी आएको भए हामी मर्मत गर्ने तर्फ लाग्थ्यौं ।’
उनले अस्थायी रूपमा नदीमा पोल राख्दा समस्या आएको बताए । यसका लागि केन्द्रले टेन्डर प्रक्रिया मार्फत गाउँमा बिजुली पु¥याएको भए समस्या नआउने इन्जिनियर साहको भनाई छ । उनले भने, ‘ग्वालवस्तीमा दीर्घकालीन समस्या समाधानको लागि प्राधिकरणसँग बजेट मागेर टेन्डर प्रक्रिया मार्फत बिजुली पु¥याउने विषयमा सक्दो पहल हामी गर्छौ ।’
प्राधिकरणले बनाउने बताइरहँदा पनि स्थानीयहरु भने ढुक्क छैनन् । उनीहरुले आफूहरूलाई राज्यले सधै उपेक्षा गर्दै आएको आरोप लगाएका छन् । मेचीनगर नगरपालिकामा पर्ने मेची नदीपारि ग्वालबस्ती, सिसौडाँगी र झाडुबस्तीमा करिब १ सय ५० घरपरिवार बसोवास गर्दै
आएका छन् ।