धनकुटा/ पुर्वी पहाडी जिल्लाहरुमा लगाइएका गाँजा खेती पटक पटक प्रहरीले मासिदिने गर्छ । विशेष गरि धनकुटाको शहीदभुमि गाउँपालिकामा गाँजा खेती हुने गरेको छ । गाँजा खेतीलाई वैधानिक मान्ने कि अवैध मान्ने बहस चलिरहँदा धनकुटाका संघीय सांसद राजेन्द्र कुमार राईले जनता र राष्ट्रलाई समृद्ध बनाउन गाँजा खेति किसानलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।
शहीदभूमि गाउँपालिकाका जनताको समृद्धिका लागि गाँजा खेति आवश्यक भएको बताउँदै धनकुटाबाट निर्वाचित संघीय सांसद राईले २०३० सालदेखि प्रतिबन्धित भएको गाँजा खेतिलाई कानून बनाएर पुनः खेतिका लागि किसानलाई उत्साहित गर्नुपर्नेमा जोड दिए ।
धनकुटा नगरपालिका र धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटामा शनिबारबाट सुरु भएको दोस्रो एभोकाडो महोत्सवमा प्रमुख अतिथिको रुपमा आएका सांसद राईले मन्तव्यको क्रममा गाँजा खेति खुल्ला गर्दै खेति गर्नेलाई जेल हाल्न नहुने बताएका छन् । उनले भने, संयुक्त राष्ट्रसंघले समेत गाँजा औषधि भएको बताइसकेकाले यसको खेतिमा प्रतिबन्ध लगाउने नभई किसानलाई यसको खेति गर्न दिएर जनता र राष्ट्रलाई समृद्ध बनाउनुपर्छ, जनता धनी बनाउनका लागि गाँजा खेति उपयुक्त छ ।’ संसदमा विधेयक पेस गरेको भएपनि अहिलेसम्म त्यो विधेयक संसदमै विचाराधीन रहेकाले त्यो पारित गरेर गाँजा खेति खुल्ला गराउनुपर्ने राई बताउँछन् ।
धनकुटाका किसानलाई धनी बनाउन एभोकाडो खेति गर्न धनकुटावासीलाई अनुरोध समेत गरे । एभोकाडो नगदे बाली भएकाले यसबाट पैसा आउने र यो दीर्घकालीन खेति भएकाले यसमा लाग्न धनकुटाका किसानलाई राईले आग्रह गरे । एभोकाडो हेर्न र किन्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने र धनकुटाको पर्यटनलाई टेवा मिल्ने राईले बताए ।
फरक प्रसंगमा संघीय सांसद राईले केपी ओली नेतृत्वको सरकारले धनकुटा जिल्लालाई छुयााएको १० करोड रुपैयाँमध्ये शेरबहादुर देउवा नेतृत्वले ७ करोड कटाएर ३ करोड मात्र छुट्याएको भन्दै आपत्ति जनाए । उनले भने, ‘धनकुटाका जनताले के बिगारेका थिए र पैसामा कटौति भयो ।’ बजेट कटौतिप्रति आक्रामक बन्दै सरकारलाई चुनौति दिने सांसद राईले बताए । जनताको सहयोगमा सरकारको विरुद्धमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।