धरान । राज्यबाट अनुदान तथा विभिन्न प्राविधिक सहयोग नपाउँदा कुखुरापालक कृषकहरु पेशा छोडेर पलायन हुन थालेका छन् । स्वदेशमै बसेर कृषि पेशाबाट आश्रित हुन कोशिष गरे पनि लगानी डुब्दै जान थालेपछि कुखुरापालक पेशा नै छोड्न बाध्य बन्दै गएका छन् ।
धरान १५ का राजन कार्कीले २ बर्ष घरमै बोइलर कखुरा पाले । ४० हजार लगानी लगाएर शुरु गरेको व्यवसाय पहिलो बर्ष ६० हजार आम्दानी भयो । आम्दानी राम्रो भएपछि उनी हौसिएर १ लाख रुपैयाको लगानीमा कुखुरा पाल्न थाले । लगानी बढाएकै वर्ष कुखुरामा संक्रमण रोग देखियो । रोगकै कारण कुखुरा मर्न थाले । कुखुरामा देखिएको रोग नियन्त्रण गर्न प्राविधिक सहयोगका लागि धाए तर कुखुरा मर्न छाडेनन् । त्यो बर्ष लगानी उठ्नको साटो उपचारमा दोब्बर खर्च भयो ।
१० बर्ष दक्षिण कोरियामा बसेर आएका उनले सानो घर बनाएर बाँकी रकमले कुखुरा पालन गर्न थालेका थिए । तर कुखुरा रोगका कारण मर्न थालेपछि कुखुरापालन गर्नै छाडिदिए । अहिले सानो किराना पसल सञ्चालन गरेर बसेका छन् । उनी भन्छन्, ‘प्राविधिक ज्ञान पनि राम्रो भएन, सरकारी स्तरबाट पनि केही सहयोग पाइएन, कुखुरा पाल्दा ३ लाख भन्दा बढी घाटा लाग्यो त्यही भएर पाल्नै छाडेर अहिले किराना पसल खोलेको छु ।’ किराना पसलबाट अहिले जसोतसो घर खर्च चलेको उनी बताउँछन् ।
यस्तै धरान ८ लांघाली चौकका मोहन बस्नेतले पनि वैदेशिक रोजगार साउदी अरबबाट फर्किएर धरान ४ मा साथीहरुसँग मिलेर कुखुरा फर्म खोले । तीन जनाको समूहमा खोलिएको फर्म सञ्चालन गर्दा ३ लाख रुपैया उनीहरुले लगानी लगाएका थिए । प्रतिव्यक्ति एक लाख रुपैया उठाएर सञ्चालन गरेको फर्म २ बर्ष वित्न नपाउदै बन्द गर्नुपर्ने अवस्था आयो । बस्नेत भन्छन्, ‘प्राविधिक ज्ञान नभई कुखुरा पालन गर्दा समस्या हुँदो रहेछ ।’ उनले पहिला ज्ञान लिएर मात्र फर्म खोल्न अरुलाई सुझाव दिएका छन् ।
कार्की र बस्नेत मात्र हैन कुखुरापालन गर्ने मध्ये केहीले राम्रो आम्दानी गरे पनि धेरैले घाटा व्यहोर्नु परेको छ । राज्यले कृषकलाई सहयोग गर्ने स्पष्ट नीति नहुँदा समस्या भोग्नु परेको हो । कुखुरापालनबाट राम्रो आम्दानी भएपनि प्राविधिक ज्ञानको अभावका कारण पेशाबाटै विस्थापित हुनुपर्ने बाध्यता भएको कृषकहरु बताउँछन् ।
स्वदेशमै केही गर्ने अभिप्रायले शुरु गरेको यस्ता कुखुरा पालन गर्ने युवाहरुलाई सरकारले केही राहतको प्याकेज ल्याउनुका साथै प्राविधिक ज्ञान दिनुपर्ने आवश्यकता छ । वैदेशिक रोजगारलाई छोडेर हौसिएर स्वदेशमै शुरु गरेको व्यवसाय अन्ततः लामो समय सम्म टिक्न नसकी अर्को पेशा अंगाल्न बाध्य हुन्छन् । सरकारले वास्तविक कृषकलाई अनुदान, प्राविधिक ज्ञान दिएर व्यवसायीक बनाउने नीति अवलम्बन गर्न आवश्यक छ ।