विराटनगर । तेस्रो भेरियन्टको प्रकोप नबढोस भनेर एक नम्बर प्रदेश सरकारले योसँग जुध्न तयारी शुरु गरेको छ ।
अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यान केन्द्रीत गरेको जनाइएको छ । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आंकलन गरी त्यसको पूर्वतयारी शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन् ।
“सक्दो रुपमा व्यवस्थापन गर्न प्रयास गर्दैछौं, त्यो पनि नयाँ तरिकाले । एक अस्पताल सुव्यवस्थित बनोस भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लन्ट अनिवार्य देएिकोले प्लान्ट जडान गर्दैछौं । एचडियू, आईसियू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्ति वृद्धि गर्न गईरहेका छौं,” राईले भनिन् ।
मन्त्री राईका अनुसार प्रदेशका हरेक अस्पतलमा दुई मेडिकल चिकित्सक, दुई विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुने र को कहाँ जाने भन्ने तय हुँदै गरेको जानकारी दिएकी छन् । “तलबभत्ता वृद्धि गरिएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु जस्ता हिमाली जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई ३ सय प्रतिशत तलब भत्ताको व्यवस्था हुनेछ,” उनले भनिन्,“पहाडी जिल्लामा २ सय ५० र तराईमा २ सय प्रतिशत भत्ता दिइने छ ।” मन्त्री राईले अस्पताललाई उच्च प्रविधियुक्त बनाउन ४० लाखका दरले बजेट विनियोजन गरेको आइतबार प्रदेशसभा बैठकमा जानकारी गराएकी छन् ।
यसबाहेक संक्रमणले मृत्यु हुनेको शव राख्न परे मर्चरी हाउस व्यवस्था, शवलाई सदगत गर्न शव वाहन र बिरामी ओसार्न ‘ख’ वर्गको एम्बुलेन्स तत्कालै उपलब्ध गराइने राईले बताइन । जिल्ला अस्पतालाई नै क्षमता विस्तार गरेर संक्रमितको उपचारको प्रबन्ध तत् ठाउँमा मिलाइने भन्दै शव बाहन पनि पठाएर अब शव उठाएर कहाँ र कसरी लाने भन्ने द्विविधा हुन नदिने जिकिर गरिन ।
खोप अभियानलाई तीव्रता
मन्त्री राईले दिएको जानकारी अनुसार प्रदेश नं १ मा खोप अभियानसमेत तीव्र गतिमा संचालन भई रहेको छ । कोभिसिल्ड २०७७ फागुन २ गते ३९ हजार १७ भायल अर्थात ३ लाख ९३ हजार एक सय ७० डोज प्राप्त भएको थियो । जसमध्ये पहिलो र दोस्रो डोज लगाउनेहरु ५२ हजार ८ सय ५५ जना छन् । २ लाख ५६ हजार ३९१ जनाले दोस्रो डोज लगाउन बाँकी छ । एस्ट्राजेनेका भुटान र जापानबाट आएकाले अब छुटेकालाई दोस्रो डोजको व्यवस्था हुने राईले बताइन ।
गत जेठ २५ गते भेरोसिल १ लाख ७८ हजार २ सय २२,साउन ११ गते १ लाख ६९ हजार ९६० भाईल प्राप्त भएको थियो । प्रदेशमा भेरोसेलको पहिलो डोज ३ लाख २८ हजार ३ सय २७ जनाले लगाएका छन् । बाँकी ६६ हजार ३०० जनाले दोस्रो लगाउन बाँकी छ । जोन्सन एन्ड जोन्सन ४८ हजार भायल प्राप्त भएको थियो । एक भायल पाँच डोज हुने भएकोले यसको जम्मा डोज २ लाख ४० हजार लगाउने क्रम जारी छ ।
मन्त्री राईले भनिन्,“यो एक डोज लगाउँदा हुने भएकोले वैदेशिक रोजगारमा जाने, अपांगता भएका व्यक्ति, शरणार्थी, फ्रन्टलाइनर र सरकारले तोकेका व्यक्तिलाई लगाइएको छ ।” उनले केन्द्रबाट खोप प्राप्त गरिरहंदा जिल्ला तोकेर आउने गरेको र सोहीमार्फत तहहरुमा वितरण हुने गरेको सुनाइन ।
जिल्लामा डिसीसीएमसीमार्फत पठाउने गरिएकोले कतै अलाभ र दुरुपयोग भएको भन्ने आफूलाई पनि महसुस भएकोले अब उचित व्यवस्थापन गरिने मन्त्री राईको कथन छ । “खोप लुकाएको भन्ने कुरा आएको छ । त्यसमा गम्भीर ध्यानाकर्षण भएको छ । अनुगमन गर्ने, चुस्तदुरुस्त गर्ने कार्यक्रम बनाई रहेका छौं । उमेर हद केन्द्रले नै तोकेर पठाएको हो । अब श्रमिकहरुलाई पनि केन्द्रीत भएर खोप लगाउने तयारी गरिदैछ,” उनले भनिन् । पछिल्लो भेरियन्टका कारण प्रदेश नं १ मा कोरोना तीव्र गतिमा फैलिरहेको छ । यो प्रदेश देशभरमै हटस्पट बन्न पुगेको छ । मृत्यु संख्या पनि हरेक दिन बढ्दो क्रममा पुगेको छ । दैनिक एक हजारभन्दा अधिकमा संक्रमण पुष्टि भईरहेको छ । दैनिक मृत्यु संख्या औसत दशजना छ ।