विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भभएका भन्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम संसदको यही अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं आइतबार प्रदेशसभा बैठकमा राईले भने,“ढुंगामात्रै हुँदो हो त त्यो फुटाउने पर्ने ठाउँमा छ । तर, धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ ।
खुवालुङलाई संरक्षण गर्नुपर्छ ।” जलयातायात संचालन गर्न नदीको बहावलाई च्यानलाईज गर्ने काम शुरु भएको र खुवालुङको विषयमा आफूले संघीय सरकारसंग पनि कुराकानी गरेको बताए । निजी तहमा कसैले “मसंग औजार छ फुटाउँ भनेको होला तर प्रदेश र स्थानीय सरकारको तहमा यसलाई फुटाउने कुनै कुराकानी वा तयारी भएको छैन,” मुख्यमन्त्रीको भनाई छ ।
उनले कोभिडको महामारीले कसैलाई नछोडेको भन्दै दल, भूगोल, वा वर्ग विशेष कोही पनि अछुतो रहन नसेको स्पष्ट गरे । भने,“राम्रा मनसायले आएका सुझावलाई ग्रहण गरिने छ । तर, बाँकी विरोधका लागि विरोधका कुरा अथवा सार्वजनिक खपतका लागि राखिने कुरा वा आत्मसन्तुष्टिका लागि विचार वा टिप्पणी प्रति मेरो भन्नु केही छैन् ।”
राईले प्रदेश सरकार समृद्धितर्फको बाटोमा रहेको र तीन वर्षमा ठूला ठूला उपलब्धी हांसिल भएको जिकिर गरेका छन् । “त्यसलाई देख्न सक्नु पर्यो, भन्न सक्नु पर्यो । नराम्रा कुरामात्रै हेर्नु हुँदैन थियो,” राईले भने,“यसपटक महामारीका कारण अलिकति ढिला गरेर नीति कार्यक्रम पेश गर्नुपर्ने बाध्यता रहन गयो । तर प्रदेश सरकार विकासको लागि चिन्तित छ ।” उनले कहिलेसम्म महामारीको भोगाई गर्नुपर्ने हो ठेगान नभएको भन्दै खोपलाई प्राथमिकतामा राखेर सरकारले नागरिकलाई खोप दिलाउन संघीय सरकारसंग पनि समन्वय गरिरहेको जिकिर गरे ।
‘केवल कार कहाँ पुग्यो ?’ भन्ने सांसदको प्रश्नको जवाफ दिदैं सोलुखुम्बुबाट पोङ्देसम्म केबलकार अध्ययन, अर्को खण्ड चतराहुँदै सुरुङ, जलमार्ग र केवलकार सहितको अध्ययन हुँदै गरेको सुनाए । “सम्झौताको तयारी भएको छ ।
धरानदेखि मुलघाटसम्मको सुरुङ मार्ग हाम्रो औकातबाट नहुने भएपनि त्यसपश्चात प्रारम्भिक अध्ययन गर्न संघीय सरकारसंग छलफल भएको छ,” राईले भने,“पचास वर्षसम्म हुन नसकेको विकास प्रदेश सरकार आएपछि शुरुवात भएको छ । झोलुङ्गे पुल बनेको छ । नारा नराख्ने, सपना नदेख्ने र महत्वाकांक्ष नबोक्ने हो भने समृद्धि पाउन सकिन्न ।” उनले प्रदेशको नामाकंन यही अधिवेशनबाट टुंगो लगाएर मात्र संसद बैठक अन्त्य गर्ने बताए । नीति तथा कार्यक्रममाथि ३२ जनाले भाग लिएका थिए ।