देश कोरोना महाव्याधिबाट मुक्त भइसकेको छैन । सङ्क्रमण दरको वृद्धि रोकिएको समाचार आइरहे पनि सङ्क्रमण रोकिएको छैन र सङ्क्रमितहरूको मृत्यु हुने क्रम पनि रोकिएको छैन । सर्वसाधारण नागरिक समस्या झेल्न उसै गरी बाध्य छन् ।
यस्तो कठिन परिस्थितिमा इटहरीबाट दुःखद् समाचार आएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु वरण गरेका ब्यक्तिको शव बुढीगङ्गा मुक्तिघाटमा स्थानीयले जलाउन नदिएपछि विवाद चर्किएको समाचार आएको छ । यो निकै दुःखद् र नकारात्मक समाचार हो । केही समयअगि धरानमा पनि यस्तै अवस्था आएको थियो । धरानको खत्रीधारास्थित दाहसंस्कार स्थलमा स्थानीयले सङ्क्रमितको शव जलाउन दिएनन् । सङ्क्रमणबाट ज्यान गुमाउनेको शव स्थानीयले त्यहाँ जलाउन नदिएपछि त्यस्ता शवलाई जलाउन स्थानीय सरकारले अर्कै स्थानमा व्यवस्था मिलाएको छ ।
यो विषयले मानवताको मृत्यु भइरहेको देखाउँछ । हामी र हाम्रो समाज कसरी अमानवीय बन्दैछ भन्ने यी दुई प्रतिनिधि घटनाले प्रस्ट पार्छन् । सङ्क्रमितको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनु आवश्यक छ । सङ्क्रमण पैmलिएमा जनजीवन अझ बढी कष्टकर हुने र त्यसको नकारात्मक प्रभाव हाम्रै समाजमा थपिने पनि निश्चित छ तर यसो भन्दैमा तिनका शवलाई जलाउन नदिने प्रवृत्तिले कुनै पनि अर्थमा उचित र सकारात्मक छैन । यस्ता प्रवृत्ति र चिन्तनले पीडित परिवारको मानसिकतामा कस्तो असर पर्ला भन्ने पनि सोच्न नसक्नु हाम्रो अमानवीय चरित्र हो ।
सङ्क्रमितको शव व्यवस्थापनमा सावधानीका सबै उपाय अवलम्बन गरेर सुरक्षित बनाउन अनुरोध गर्न सकिन्छ र यसका लागि सकेको सहयोग पनि गर्नुपर्छ । स्थानीय समुदायमा सङ्क्रमण पैmलिने कुनै सम्भावना नरहने गरी शव व्यवस्थापनका लागि आग्रह गर्नुलाई अस्वाभाविक मान्नु हुँदैन तर शव व्यवस्थापनमै अवरोध पु¥याउनु अमानवीयताको पराकाष्ठा हो । यसलाई मानवीय चरित्र मान्न सकिँदैन । यस्ता घटनाले समाजमा मानवीय चरित्रको क्षयीकरण हुँदै गएको देखाउँछ ।
यो महामारी हो । आज जीवित भएका हामीमध्ये जो कोही पनि यो महामारीको चपेटामा पर्न सक्छौँ । यो यथार्थलाई हामीले मनन् गर्नु आवश्यक छ । कसैको जीवन पनि अजम्मरी छैन भन्ने तथ्यलाई बिर्संदा मानिसले मानवीय चरित्र र स्वभाव नै गुमाउँदै गएको छ । यसले सुखद् भविष्यलाई सङ्केत गर्दैन ।
रोगबाट ज्यान गुमाउनु अपराध होइन । मृतकका आफन्त र परिवारजन पनि अपराधी होइनन् तर आप्mना स्वजन गुमाएर त्यसै पनि पीडित बनेका उनीहरूको मानसिकतामा यस्तो व्यवहारले कस्तो असर पर्ला ? यस विषयमा पनि हामीले संवेदनशील हुनु आवश्यक छ । मृत्यु सबैको हुन्छ । आपूmले पनि एक दिन मर्नुपर्छ भन्ने नबिर्सौं । कसको मृत्यु कसरी र कुन कारणबाट हुन्छ, यो अनिश्चित छ ।