इटहरी । प्रदेश एकको राजधानी मोरङको बिराटनगर स्थित मुख्यमन्त्री कार्यालयको मुख्य गेटैमा राखिएको छ, हात धुने साबुन पानी ,सेनीटाइजर ।
कार्यालय प्रवेश गर्ने जो कोहीलाइ पनि ज्वरो नाप्ने सहित साबुन पानीले हात धुएर सेनिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइन्छ । मन्त्रालयका प्रत्येक कोठै पिच्छे सेनिटाइजर राखिएको छ । कसैमा शंका लागे तुरुन्तै पिसिआर जाँचको व्यवस्था पनि गरिएको छ ।
मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनीमा त्यस्तै स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको छ । अहिले नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर उच्च सुरक्षाका साथ सेवा सुविधा दिइएको छ ।
सरकारले कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउन मातहतका कार्यालय र आम नागरिकहरूलाइ अनुरोध गरेको छ, तर विशिष्ठताको आधारमा स्वास्थ्य सुरक्षा व्यवस्था गरेर कोरोनाको समयमा पनि विभेद गरिरहेको छ । जुन सेवा सुविधा प्रदेश एक मुख्यमन्त्रीको कार्यालय र सिमा नाकाहरूमा अपनाइएको छ त्यो स्थानीय सरकार र जनस्तरमा भने लागु भएको देखिन्दैन ।
सुनसरीको इटहरी उपमहानगरको कार्यालयमा प्रवेशद्वारमा स्यानिटाइजरको समेत व्यवस्था गरिएको छैन । प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत लगायत अन्य अधिकृततहका कार्यकक्षमा मात्र स्यानिटाइजर राखिएको छ । संक्रमणको दर उच्च रहेको कारण जोखिम न्युनिकरण गर्न उपमहानगरको सबै सेवा बन्द गरिएको जनाएको छ ।
त्यस्तै सुनसरीको अन्य गाउँपालिका तथा नगरपालिकाहरूको अवस्था पनि उस्तै नै छ । इनरूवा, बराहक्षेत्र, दुहबी नगरपालिका र धरान उपमहानगरपालिकामा भने सामान्य सतरकता स्वरुप गेटमा हात धुने साबुन पानी र स्यानिटाइजरको ब्यवस्था गरिएको छ । अन्य पालिकाहरूमा भने स्वास्थ्य सुरक्षाको व्यवस्था देखिन्दैन् । संक्रमणबारे सामान्य जनस्तरमा के कस्तो सावधानी अपनाइएको छ त्यसको नियमित अनुगमन कोहीबाट पनि हुन सकेको छैन ।
संक्रमणको जोखिम बढ्दै गए पछि प्रदेश एकको १४ वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा मुख्य राजमार्गमा मात्रै सिमित रहेको छ । नगरका भित्रि गाउँहरूमा ब्यापार ब्यवसाय भने खुल्लै देखिएको छ । सुनसरीको इटहरी, धरान, दुहबीको भित्रि गाउँमा कोरोना सचेतना अभियाननै भद्रगोल अवस्थामा रहेको छ । इटहरी उपमहानगरको मुख्य राजमार्ग क्षेत्रसंग जोडिएका ब्यापार ब्यवसाय ठप्प बनेका छन भने भित्रि राजमार्गमा भने धेरै व्यवसायहरू खुल्ला गरिएको भेटिएका छन् ।
निषेधाज्ञाको उल्लंघन गरी व्यवसाय सञ्चालन गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले एक साता यता नगरका भित्रि गाउँबाट एक दर्जन बढीलाइ नियन्त्रणमा लिएर छाडेको थियो । भित्रि गाउँमा गस्ति गर्ने क्रममा एक साता भित्र १५ जनालाइ नियन्त्रणमा लिइ छाडिएपनि पुनः पुरानै अवश्थामा देखिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख अर्जुन केसी बताउँछन् ।
प्रशासनले जारी गरेको निषेधाज्ञालाइ उल्लंघन गरी ब्यवसाय संचालन गरेका ६ जना व्यवसायीलाइ जरिवाना तिराइएको छ भने १ सय ७८ जना ब्यवसायीहरूलाइ नियन्त्रणमा लिइ छाडिएको डिएसपी केसीको भनाइ छ ।
प्रदेश एकमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट संक्रमित हुनेहरूको संख्या ५० हजार नाघेको छ । प्रदेश एक सामाजिक बिकाश मन्त्रालयको तथ्यांक अनुसार गत चैत्र अन्तिम साता देखि आइतबार बिहान सम्ममा नयाँ भेरीयन्ट सहितको कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ५० हजार ४ सय ६८ पुगेको हो । संक्रमणको दर संगै प्रदेश एकमा मृत्युदर पनि बढेको छ । संक्रमणकै कारण प्रदेशमा अहिले सम्म ७ सय ४६ जनाको मृत्यु भइसकेको सामाजिक बिकाश मन्त्रालयले जनाएको छ ।