भिन्नक्षमताकी धराने स्रष्टा लक्ष्मी राई सरगम

  • बैशाख ३१, २०७८
  • प्रा.डा.भीम खतिवडा
alt

थालनी
कोरोनाको कहरले सहर र बस्तीहरू ग्रस्त छन् । अकालैमा ज्यान गुमाउन नागरिकहरू वाध्य छन् । राजनीति र सत्ता दाउपेचमा छ । मुनाफाका प्रतिशत र लेनदेनमा अड्किएका छन् भ्याक्सिनहरू । बाँच्नचन्दा मर्न झन् गाह्रो बनिरहेछ, जब शवको अन्तिम संस्कारसम्म सहज बनिरहेको छैन । स्रष्टाहरू पनि पीडाबोधमै छन् । स्वस्थ मानिसहरूलाई भय छ, कोरोनाको सङ्क्रमण होला कि भन्ने । तर, कमजोर, अस्वस्थ र पहिलेदेखि नै विभिन्न रोगले ग्रस्त आम मानिसको कथा कस्तो होला नि ! हो, स्रष्टाहरू यसमा झन् चिन्तित छन् । आज आत्मबल उच्च भएकी एक स्रष्टाकै सन्दर्भ उठाऊँ है त !

धरान, पाँचकन्या, गैरीगाउँकी लक्ष्मी राई भिन्न–क्षमताकी महिला हुन् । झमक घिमिरेपश्चात् उनी नै त्यस्ती प्रतिभा हुनन्, जसले खुट्टाका भरमा आफ्नो साहित्यिक कर्मलाई निरन्तरता दिइरहेकी छिन् । गतसाल मात्र प्रकाशित लक्ष्मीको कविता, गीत र गजलको कृतिलाई आधार बनाएर उनका शब्दहरूमा व्यक्त अक्षरको तागतलाई सम्झने मेरो सोचाइ हो । हामीमा आफ्नै निकटका बन्धुहरूका विशिष्ट क्षमतालाई चिन्न र प्रेरणा दिने चेतना र लगाब छैन । अपाङ्गताको कठोर पीडासँग जुझ्दै कलानिर्माणजस्तो कठिन कर्ममा लागिरहने तमाम लक्ष्मीहरूको सम्मानमा प्रस्तुत आलेख समर्पित गर्छु ।

चेतनाको कोमल हस्तक्षेपबाट कलाको उत्खनन हुन्छ । मानवसभ्यताको विकाससँगै चेतनाको सम्प्रेषणको कारिगरीले निरन्तरता पाइरहेकै छ । भौतिक शरीर जीवनका निम्ति सजिलो माध्यम बन्न सक्छ तर कलाको विस्तारमा शरीरभन्दा बढी मुटुको महत्व रहन्छ । मस्तिष्कले वस्तुवादी विज्ञानसँग साइनो गाँसेको हुन्छ भने कला चाहिँ मुटुको सूष्म स्पर्शमा ब्यूँझन्छ । कलाका पारखीहरू त्यसैले पनि मन मुटुका आँखाले दुनियाँ हेर्दछन् ।

गोलो पृथ्वीमा कलमको खेती गर्ने मनकारी मान्छेहरूको कमी त छैन तर हतियार जति हिंसक भयो उत्ति नै बढी व्यापकता पाउने आजको परिवेशमा साहित्य, संस्कृति र कलाका पारखीहरूको अवस्था चाहिँ त्यति भरपर्दो बनिहालेको छैन । हाम्रोजस्तो भोक, रोग र गरिबीसँग जुधेर समाज, संस्कृति र राजनीतिसमेत थाक्न लागेको अवस्थामा प्रतिकूल परिस्थितिका बीच पनि प्रभावकारी कला सृजनाको बातावरण नपाउनु प्रतिभाहरूको वर्तमान हो भन्न सकिन्छ । जे भएपनि सृजना कवि माधव घिमिरेले भनेजस्तै चट्टान फोरेर उम्रिने पीपलु त हो । यस्तै एकान्त, सीमान्त पीपलुहरूको लहरमा हुर्केको चट्टानी प्रतिभाको रूपमा लिन सकिन्छ नवसृजनाकी धनी प्रतिभा लक्ष्मी राईलाई । भीर–कुसुम बनेर अढाइ दशकअघि सुनसरीको पाँचकन्या, गैरीगाँउमा उदाएकी लक्ष्मी यथार्थमा सरस्वती पो रहिछन् । उनकै मन–मुटुका शिरपूmले बिम्वहरूसँग एकछिन रमाउने आजको रहर हो ।

लक्ष्मीका सृजनाका बान्कीहरू
उसो त जीवनका उत्साहपूर्ण युवा उमेरकी लक्ष्मीसँग बैसका वसन्तहरू आँखा ओछ्याएर नूतन पें्रमको फागु खेल्न पर्खिरहेकै छन् । यहाँ जे छ त्यो देखिदैन र जे छैन त्यो चाँहि सर्वत्र देखिन्छ । हाम्रा शक्तिशाली हातहरू तव वेअर्थका लाग्छन् जब झमक घिमिरे र लक्ष्मी राईहरूले तिनलाई अतिरिक्त मानेर खुट्टाले च्यापेका कलमले दुनियाँलाई मुटुका मुटु कलापूर्ण जीवन–सम्वलहरू सम्पे्रषण गरिदिन्छन् । हामीे नजरमा नपरेका लक्ष्मीहरूका कलमी शक्तिलाई दैवी चटक मानेर आफ्नो कमजोरी छाया पार्न मात्र सक्छौं, तर तिनका निरन्तरका अभ्यासले ठेला उठेका साना खुट्टाको मर्म चाहिँ पटक्कै बोध गर्न सक्दैनौं । यस्ती चट्टानमा ढकमक्क फुलेकी लक्ष्मीको कलमी फूलका सुगन्धलाई पारख गर्ने भूमिपुत्र भूमीहरूले तिनका वासन्ती छटालाई बेलैमा छोपेर कलमी वान्कीका पुष्पगुच्छाहरू उन्दै सृजनाको सुन्दर माला तयार गरेको पाउँदा खुसी लाग्नु स्वाभाविकै हो ।
लक्ष्मी राईका सृजनाहरूले झलमल्ल यस काव्यमालाभित्र विशेष गरी लक्ष्मीका काव्यगत चेतनाका सुन्दर कलामय फूलहरू उनिएका पाउँछौं । मान्छेको दिलमा हिर्काउन सक्ने कलमको हतियार बोकेकी लागिन् मालामा उनिएकी लक्ष्मी । असल मान्छे बन्ने सन्देश दिनु उनको वर्तमानप्रतिको शंका र वितृष्णा नै हो भन्न सकिन्छ । आफूजस्तै र आपूmभन्दा साना नानीहरूलाई कर्तव्य र अधिकारप्रति सचेतना जगाउँनु कलमजीवीहरूकै कर्तव्य त हो । यस्तै सामाजिक उत्तरदायित्वको सन्देश दिने कविताबाट आफ्नो काव्यिक प्रवाहलाई बगाएकी लक्ष्मीले झण्डै दुई दर्जन कविताहरूका माध्यमबाट हाम्रो जीवन, कर्तव्य, दायित्व, वर्तमानका विसंगति र विकृतिहरूलाई सरल भाषामा कलापूर्ण शैलीमा प्रस्तुत गरेकी छन् । उनका कविताहरूमा बालवय र बालअधिकारको चेतना लहराएको छ । नेपाल र नेपालीको दुदर्शाको चित्रणसँगै शान्तिको अन्वेषण पनि छ । नेपाली धर्तीको प्राकृतिक सौन्दर्यको कोमल चित्रण र प्रेमी दिलको हार्दिक उच्छ्वास पनि छ ।
कोमल कविताफूलहरूमा लक्ष्मीका अझै कोमल गोडाका औंलाहरूले जिजिविषालाई कस्तरी प्रस्तुत गर्न सकेको –
पूmलझै फुल्ने मलाई पनि रहर त छ
खोइ कहाँ फुल्ने ठाउँ नै छैन
जूनझैं ज्योति छर्ने मलाई पनि मन त छ
खोई कसरी छरूँ मसँग त्यो उज्यालो नै छेन
(चाहना मेरो )
सिमेन्टका चिहाने महलहरूमा मसिनो चामल डकारेर विनाउद्देश्यको साहित्य र जीवन नदेख्ने कला तयार गर्ने साँडेफर्मान जारी गर्ने तथाकथित टाउकेहरूका लागि लक्ष्मीका जीवन बोल्ने कविताहरूमा कुनै नयाँ प्रयोग र क्याक्टसे विम्वहरू भेटिनुलाई हामी अतिसामान्य भन्छौं । हाम्रो गाउँकी लक्ष्मी आधाआकाश थेग्ने कलमी सामथ्र्य बोकेकी शक्तिशाली मिसायल मात्र नभएर यो दुनियाँलाई बदल्ने र नयाँ दुनियाँको निर्माण गर्ने हैसियत राख्छिन् पक्का । साँच्चै त उनी भीरपूmल हुन्, जसको वर्तमान तराइका बाह्रमासे र लेकका लालीगुराँसको जीवनभन्दा नितान्त भिन्न छ । देशप्रेम नबिर्सने तिनका मनमा व्यक्तिप्रेमको अतृप्त अभिलाषा यसरी अभिव्यक्त देखिन्छ –
हाँस्न भन्दा रुन नै बेस होला मलाई
मोतीभन्दा अमूल्य छ हाम्रो आँसु
किनेर पाइन्न यो...उपहार मलाई
आँसु त यौटा उपहार हो
(रुँदै रुँदै)
एउटा यथार्थ मानसिक अतृप्ति कविताका थँुगाहरूमा मनग्ने देखापरेको छ । शारीरिक असामथ्र्यलाई पचाएर बाँच्न वानी परेको मुटुमा आजसम्म थुप्रिएका पीडादायी अनुभूतिहरूले जीवनवादी कलममाथि कतैकतै हस्तक्षेप गरेर निराशाका सुसेलीहरू पनि सुनिएका छन् –
जीवन नै अन्धकार भएपछि गर्न के सकिन्छ
बाँकी रहेको यौटा आँट पनि हारेर जान्छ
.. ..
शिखर चुम्ने इच्छा थियो
तर मेरो जीवन अन्धकार यो
(अन्धकार रहेछ यो जीवन)
विद्यालयीय शिक्षाको उपलब्धीभन्दा प्राकृतिक प्रेरणा स्वाध्ययनको अभ्यासबाट खारिँदै गएको लक्ष्मीको साहित्यिक अवतरण साँच्चै कोमल शब्दपूmलहरूको नरम मालिका नै बन्न पुगेको छ ।
कविताजस्तै तर भिन्न विधागत प्रस्तुतिका रूपमा स्थापित गजल–सृजनामा पनि लक्ष्मीको कलम राम्ररी नाचेको छ । उनी गजलहरूमा पे्रम जीवन र सामाजिक परिवेशका वरिपरि विचरण गरिरहेकी छन्
म मर्दा तिमी बा“च्छौ भने ढल्नलाई तयार छु प्रिये
म जल्दा तिमी खुसी हुन्छौ भने बल्नलाई तयार छु प्रिये
... ... ...
म रु“दा तिम्रो ओठमा सधैं हा“सो आउ“छ भने
रु“दै सारा जिन्दगी छिमल्नलाई तयार छु प्रिये


प्रकृतिस“ग पानीको नाता अनन्त अटुट
प्रेमिल फूलका जातको खा“चो छ अझै

सार्न सके यो आ“खामा तिम्रो आ“सु सार्ने थिए“
तिम्रो पीडा परेलीका बलेंसीमा झार्ने थिए“
मलाई थाह छ कति व्यथाहरू सहेर बा“चेकी छ्यौ
सक्ने भए सारा व्यथा सहेरै म निखार्ने थिए“

मेरो विश्वास तिमीलाई मासुभात भयो हैन ?
तिमीस“ग आस्था भर्ने दिल र बुझाइ छैन रहेछ
प्रारम्भिक प्रयासमा पूर्ण परिष्कारको सर्त राख्नु राम्रो हुँदैन पनि । काफियाको धर्म निर्वाहमा चुकेका सेरहरूले उनका कमजोरी स्पष्ट पारेका छन् भने मात्रा, लय र शब्दका आयतन तथा विम्व र भावको वस्तुगत सैद्धान्तिक गणित थुप्रेै ठाउँ बिग्रिंएको पाइएला तर लक्ष्मीको गजलप्रतिको अनुराग गतिशील अभ्याससँगै सचेत प्रयासको बाटोमा हिंड्दैछ भन्ने कुरा उनका गजल–पूmलहरूको बाटिकामा डुल्ने तपाइँ–हामीले अनुभव गर्न सक्दछौं ।
लक्ष्मीका सृजनाको तेसो अवतार भाकाबद्ध गीतहरूको मूच्र्छना बनेर यस कृतिमा झङ्कृत भएको छ । उनका गीतहरू व्यक्तिमनबाट उठेर नेपाली धर्तीको विचरणसम्म गर्न पुग्छ झन्डै छ दर्जन गीतहरूको मेलामा पस्दा हामीभित्र लक्ष्मीको मन र मुटुको उचाइले स्पर्श गर्छ । उमेर, अपेक्षा, असन्तृप्ति र सपनाहरू फुलेका गीतले सबैभन्दा बढी आत्मिक पे्रमलाई व्यक्तिगत विम्बमा सार्वजनिक गर्न खोजेको देखिन्छ । आन्तरिक सौंन्दर्य उनको प्रणयगीतनिम्ति सम्बल बनेको छ । यस्ता लयदार गीति पूmलहरूमा दुईथान राष्ट्रगान र एउटा लोकदोहोरी पनि फुलेको देखिन्छ । समग्रमा लक्ष्मीका गीतिभावनाहरू पनि कवितामा जस्तै जीवनप्रति होसियार, प्रेममा तम्तयार र कर्तव्य तथा दायित्वप्रति अंशियार बनेका छन् भन्न सक्छौं हामी ।

बिसौनीमा
सजिलो मात्र खोज्ने मीठो मात्र रोज्ने स्वार्थी खुट्टा र जीब्राहरूलाई भीर–कुसुमपट्टि त्यत्ति मोह नजाग्ला तर हामी कर्मवादी जीवनवादी नेपालीहरू धर्तीका छातीमा फुलेका लक्ष्मीपूmलहरूको महकलाई मूल्यवान् ठान्छौं । असहज जीवनशैली, अस्वाभाविक लेखनशैली, असमर्थ पदयात्राकै कारण यिनको कलमी हतियार बेजोड बनेको निष्कर्ष हतारमा निकाल्नुभन्दा अभ्यास, अवसर र अविश्रान्त साधनाले असम्भव यात्राहरूपनि सम्भव बन्छन् भन्ने विश्वासको दृढता व्यक्त गर्नु हामी जायज ठान्छौं । सृजनाको सगरमाथा ताकेर क्रियाशील मेरी प्यारी बहिनी लक्ष्मीका कलमी सपनाहरू सँधैसँधै पूर्ण बनून् भन्ने सुकामना व्यक्त गर्दै हामीले पनि लक्ष्मीले जस्तै सामाजिक जीवनको उत्तरदायित्व र कर्तव्यप्रतिको इमान्दारितालाई यिनीबाट प्रेरणाको रूपमा लिनुपर्छ ।
असहज समयमा जीवन र जीवनहरू नै सङ्कटग्रस्त छन् । कोरोना महामारीको हैँजाले कहिले र कस्लाई समात्छ, केही भन्नै सकिन्न । सरकार खोप किन्नखोज्दा पनि नपाएको भन्दै रुँदैछ । यस्तो जटिल समयमा भिन्न क्षमताका धनी धरानक्षेत्र र मुलुककै होनहार स्रष्टा सरगमहरूको खानपान र स्वास्थ्यबारे स्थानीय सरकारले गतवर्षजस्तै यसवर्ष पनि मानवीय मनले र अभिभावकीय प्रेरक हातले सस्नेह ससम्मान रेखदेख गरोस् । सरगम मात्र नभएर आम नागरिकहरूको जीवनको सुरक्षामा दायित्वबोधका साथ चासो राखोस्, बस् हाम्रो माग, हाम्रो आह्वान र अपेक्षा यत्ति ।

 

 

bhim-khatiwada

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

[email protected]

 

 

 

 

 

 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved