समकालीन नेपाली कथामा साइबर संस्कृति –१

  • चैत्र १३, २०७७
  • भीम खतिवडा
alt

कुन हो साइबर युग ?
साहित्य सामाजिक चेतनाको सुन्दर प्रतिरूप हो । ऐना मात्र नभएर यो समाज–रूपान्तरणको शक्तिशाली हतियार पनि हो । यसका विविध हाँगामध्ये कथा, कविता, उपन्यास, निबन्ध र नाटक बढी लोकप्रिय बनेका छन् । नेपाली साहित्यको सन्दर्भमा कथा मौलिक लोकजीवनबाट विकसित भएर हुर्किंदै आजको अवस्थामा वैश्विक युगजीवनका सबैखाले प्रवृत्तिहरू आत्मसात् गर्दै सम्पुष्ट बनेको विधा हो । हामी सूचना र प्रविधिका कारण ‘ग्लोबल भिलेज’का बासिन्दा हुँदै गएका छौं । आजका कथा आजकै जीवनशैलीमा आधारित हुन्छन् । भूमण्डलीकरणले मानवीय सम्बन्ध, सक्रियता र कृत्यहरूमा प्रभाव पारिदिएको छ । मैनालीको छिमेकी कथाका गुमाने र धनजीतेहरू आज ‘साइबर विडो’ बनेका छन् । अनलाइनमा च्याट गर्ने पुस्ता फेसबुकबाटै सूचनाहरू आदानप्रदान गर्छन् ।
इन्टरनेटबाट नै आजको दुनियाँ नवीन जानकारी, मनोरञ्जन, व्यापार–व्यवसाय जस्ता सम्पूर्ण काम बसीबसी गर्छन् । आज संसारको एउटा कुनाबाट समग्र विश्व पर्यटन सम्भव छ । हो, यो साइबर युग हो । हामी साइबर कल्चरको अभ्यासमा छौं । सृजनामा पनि यसको जबर्जस्त हस्तक्षेप छ । विश्व सांस्कृतिक साम्राज्यवादले हस्तक्षेपको महाजालो फैलाएर पुजीवादी बजारव्यवस्थामार्फत् सानाठूला, धनीगरीब सबै मुलुकमा साइबर–फाइबर बिछ्याइसकेको छ । सञ्जालमा बाँधिएको आजको पुस्ता खान पनि भ्याउँदैन इन्टरनेटको प्रेमी बनेर । घरहरू जोडिने र भत्किने क्रम जारी छ । सामयिक प्रविधिको सकारात्मक उपयोगिताभन्दा हाम्रोजस्तो समाजमा नकारात्मक प्रवृत्ति हाबी हुँदै गएकोमा हामी आफैं असन्तुष्ट छौं र यो असन्तुष्टि पनि सामाजिक सञ्जालमार्फत् नै सार्वजनिक गरिरहेका छौं ।

मान्छेबाट उसकै अस्तित्व, भूमिका, स्वभिमान, कायिक सक्रियता मात्र हैन कि साइबर–संसर्गले त परम्परा, कृत्याकृत्य विवेक, संस्कृति र मानवीय सम्बन्धमाथि पनि मन्दविष मिसाइदिँदै छ— समय, संलग्नता, सामथ्र्यमा प्रभाव जमाएर । हो, आजको लेखनमा पनि साइबर–तागत भरिँदै गएको छ । हो, यो साइबर युग हो ।
के हो साइबर संस्कृति ?

साइबर कल्चर, डिजिटल कल्चर तथा इलेक्ट्रोनिक कल्चर भनेर पनि सम्बोधन गरिने अंग्रेजी शब्दको मिलिजुली नेपाली नाम बनेको छ ः साइबर संस्कृति ।
आजको विश्वमा सूचनाको सञ्जालले विश्वव्यापी परिवेश सृजना गरेको छ । परम्परागत संस्कृतिका ठाउँमा नयाँ र पुरानो दुबैको मिश्रणबाट नवीन मिसमासे संस्कृति बन्न पुगेको छ । राष्ट्रिय सीमा भत्काएर मानिसहरू अआफ्ना परम्परित सांस्कृतिक कृत्यहरूबाट विरत हुँदै धमाधम विश्वनागरिक भइरहेका छन् । कल्पनाको काँचे संसारमा न बन्धन, न मृत्यु न शासन, न सत्यासत्यको परीक्षण, मानिसहरू सुख र स्वतन्त्रताको खोजीमा एउटा नयाँ बिजुली–संस्कृतिमा समाहित भइरहेछन् । परम्परागत संरचना भत्काएर उत्तर आधुनिक समयचेतनाले अगाडि सारेको सैद्धान्तिक चिन्तनलाई साइबर संस्कृतिले पृष्ठपोषण गरेको छ । यसर्थ के भन्न सकिन्छ भने राष्ट्रियता, माटोका सीमाहरू, उमेर, लिङ्ग, पेसा, वर्ग, जात, धर्म र कर्मको व्यवधान पटक्कै नहुने आजको त्यही विश्वसंस्कृतिलाई साइबर संस्कृतिको रूपमा परिभाषित गरिएको हो ।

रोबोटमय संसार तथा प्राविधिक र यन्त्रमय जीवनशैली भित्र्याएर पुराना मूल्य र मान्यताहरू विस्थापन गराउने साइबर संस्कृतिको जरो कम्प्युटर नै हो । सन् १९५० तिर कम्प्युटरको सुरुवातको चरणमा इन्टरनेटलाई अर्पानेट भनिन्थ्यो । इन्जिनीयर तथा वैज्ञानिकहरूले मात्र कम्प्युटर प्रयोग गर्थे । सन् १९७२ मा रे टोमिलेसनले इमेलको विकास गरे भने १९८२ मा इन्टरनेटको विकास भएको हो । सन् १९९० मा बेलायती वैज्ञानिक टिम बन्र्स लीले वेभसाइट बनाउने एचटिएमएल कोडको विकास गरेपछि इन्टरनेटको व्यापकता बढेर गयो । वर्तमानमा विश्वमा करोडौं वेभसाइटहरू क्रियाशील छन् । साइबर संस्कृतिको निर्माणमा इन्टरनेटको सार्वभौम सत्ता कायम देखिन्छ । यसका लागि आज अनलाइन सामाजिक सञ्जाल, वेभपेज र ब्लगिङको भूमिका उल्लेखनीय बन्न पुगेको छ । सन् १९९९मा बेलायतका स्टिभ र जुलीले विकास गरेको ‘फ्रेन्ड रियुनाइटेड’ पहिलो सामाजिक सञ्जालको साइट थियो । यसकै लहरमा क्रमशः आज फेसबुक, ट्विटर, ब्लगपेज, स्काइपजस्ता अनेकौं सञ्जालहरू अनवरत चलायमान छन् । नेपालमा चाहिँ साइबर संस्कृतिको विधाता इन्टरनेटको प्रयोग सन् १९९८ देखि हुन थालेको हो । (त्रिपाठी ः ०७१)
शाब्दिक रूपमा अंग्रेजीको साइबर तथा अंग्रेजीकै कल्चर शब्दको नेपाली रूपबाट ‘साइबर संस्कृति’ बनेको हो । साइबर नेटसँग सम्बद्ध साइबरले यन्त्रबाट सूचनाहरू प्रवाह गर्ने अर्थ राख्छ । अति संक्षेपमा सरल ढङ्गले भन्ने हो भने कम्प्युटरको प्रयोग र यसको सञ्जालले निर्माण गरेको यन्त्रनियन्त्रित अभौतिक (भर्चुअल) समाजमा बनेको संस्कृतिलाई नै हामी साइबर संस्कृति भन्दछौं । सन् १९६३ मा ‘द अक्सफोर्ड इङ्लिस डिक्सनरी’ले साइबर कल्चर शब्दको प्रारम्भिक प्रयोग गरेको बताउने साइबर संस्कृतिविद् ज्याकोबले यसलाई भौतिक पक्ष, सूचना सम्प्रेषणको पक्ष, मानवशास्त्रीय पक्ष तथा सृजनाको पक्ष गरी चार महत्वपूर्ण आधारमा वर्गीकरणसहित अध्ययन गरेको देखन्छि । साइबर संस्कृतिमा कम्प्युटर विज्ञान र यससँग सम्बन्धित साइबर प्रविधिविज्ञानसम्बद्ध हार्डवेयर र सफ्टवेयरको विकास र यसको प्रयोगको शैली, रोबोर्ट, कृत्रिम बौद्धिकता, कृत्रिम जीवन आदिको अध्ययन गरिन्छ ।
साइबर संस्कृति पदावलीले कम्प्युटर सञ्जालको प्रयोगद्वारा समाजमा स्थापित हुँदै गरेका मूल्यमान्यता र रहनसहनमार्फत् परिचित हुँदै गरेको संस्कृति बुझिन्छ भन्ने धारणा अध्येताहरूले राखेका छन् । (त्रिपाठी ः ०७१) वर्तमान उपयोगितावादी युगजीवनको विकसित सूचना र प्रविधिमा कान्छो सन्तानको रूपमा साइबर संस्कृतिले दुनियाँमा आफूलाई स्थापित गरेको छ । पुँजीवादी बजार र विज्ञापन संस्कृतिको चरम उपनिवेश बनेर सूचना–प्रविधिका माध्यमबाट प्राकृतिक सांस्कृतिक मानवीय मूल्यहरूलाई विस्थापित गरेर घरघरमा, विशेषतः नयाँपुस्ताका टाउकाटाउकामा सवार भएको नयाँ तार–बेतार संसारको एकल प्रवृत्तिको नाम बनेको छ साइबर संस्कृति । यद्यपि हरेक विषयका सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन्, विवेक मूल्याङ्ककनको हतियार हो । साइबर संस्कृति वर्तमानमा हाम्रो समाजका लागि पनि गुलियो र रङ्गिन आकर्षण बन्दै गएको यथार्थमा हामी सबै मौन समर्थक बन्नुको विकल्प पनि छैन ।
साइबर संस्कृतिभित्र प्रचलित पारिभाषिक शब्दावलीहरू मध्ये भर्चुअल रियालिटी, हाइपर रियालिटी, ग्लोबल भिलेज, भूमण्डलीकरण, साइबर स्पेस, साइबर नेटिक्स, साइबर पङ्क, साइबोर्ग, हाइपर टेक्स, परामानव, ह्याकर, साइबर विडो, सिमुलेसन, साइबर क्याफे, भाइरस, क्र्याकर, फ्रिक, साइबर क्राइम आदि पर्दछन् ।

समकालीन नेपाली कथामा साइबर संस्कृति कसरी प्रयुक्त छ ?
वास्तवमा प्रविधिको अतिशय विकासका कारण प्रविधि नै यस युगको संस्कृति बनेको छ । प्रविधि अन्तर्गत सूचना प्रविधिका क्षेत्रमा झनै अभूतपूर्व विकास भएको हुँदा साइबर प्रविधि नै साइबर संस्कृति बनेकोले त्यसको प्रत्यक्ष प्रभाव साहित्यमा पनि परेको छ । आजको नेपाली साहित्यमा पनि नेट, कम्प्युटर, भिडियो, विज्ञापन आदिको सघन प्रभाव परेको हुँदा साइबर झल्को दिने कृतिहरूको सङ्ख्या बढ्दो छ । यन्त्र मानव तथा तिनका अर्धमानवीय र अर्धयान्त्रिक गतिविधि भएका कृतिहरूले पनि नेपाली साहित्यमा साइबर संस्कृतिको प्रसार गरेका छन् । त्यसै गरी अहिलेका कृतिहरूमा प्रविधिसँग सम्बद्ध परोक्ष यथार्थ र अतिशय यथार्थको बढ्दो प्रयोगले पनि साहित्यमा साइबर संस्कृतिको सघनतातर्फ सङ्केत गर्छ । विद्युतीय सञ्चारको सञ्जालमा विशेषतः इन्टरनेटसँग जोडिएकाले साइबर भनेर परिभाषित गरिएको हो ।

अध्येताहरूले के स्पष्ट पारेका छन् भने नेपाली समाजमा कम्प्युटर, इन्टरनेट, मोबाइल जस्ता साइबरजन्य पक्षको प्रयोग नभइसकेको समयमा पनि कथाकारहरूले कल्पनाको आधारमा कथाहरूमा प्रविधि संस्कृतिको छिटपुट प्रयोग तिसको दशकबाट सुरु भएको हो । तर, समाजमा प्रत्यक्ष प्रयोगमा भएको साइबर संस्कृतिको यथार्थ स्वरूपलाई कथामा समेटेर लेख्ने कार्यको निरन्तरता भने साठीको दशकबाट भएको हो । पूर्ववर्ती चरणदेखि कथा लेख्न सुरु गरेर समकालीन चरण अन्तर्गत साइबर संस्कृति प्रयोग गरी कथा लेख्ने कथाकारमा कविताराम, मोहनराज शर्मा, पद्मावती सिंह, राजव, विजय चालिसे, अविनाश श्रेष्ठ आदि हुन् । (त्रिपाठी ः०७१) वि सं २०३६ मा प्रकाशित ‘यान्त्रिक यन्त्रणा’ कथामा कथाकार कवितारामले ४०० वर्षपछिको समाजको कल्पना गरेर मानिसलाई यन्त्रको इसारामा चलाएर विज्ञान स्थापित प्राविधिक संस्कृतिलाई उजागर गरेका छन् । (पोखरेल ः ००८, अनलाइन, अस्वीकृति डट कम) मोहनराज शर्माका साइबर संस्कृतिमा आधारित कथा भर्खर (२०६८) प्याँलो ख्याक (२०६८), अग्निमुख (२०६९), सात नम्बर बेन्च (२०६८) तथा राजवको डिजिटल चमकभित्र (सन् २०६४), अविनाश श्रेष्ठको नाङ्गो ( २०६४) र पद्यावती सिँहको साइबर प्रेम ( ०६९) पनि साइबर कथा नै हुन् । आख्यानकार सरुभक्तको ‘पदार्थहरूको गीत’ बमह्रवटा कथा सङ्कलित साइबर कथाकृति हो । यी सबै कथाहरूमा प्रमुख पात्र साइबोर्ग छन् ।

पाश्चात्य साहित्यमा पनि साइबर सृजना उति पुरानो भइसकेको देखिँदैन । दोस्रो विश्वयुद्धपछि मात्र यसको प्रारम्भ भएको पाइन्छ । युद्धपश्चात् नितान्त नयाँ विषयका रूपमा आरम्भ गरिएको देह र प्रविधिको सम्बन्ध सम्बन्धी सैद्धान्तिक विमर्शलाई यस दिशामा चालिएको प्राथमिक तथा झिनो प्रयास मानिन्छ । सन् १९८० मा कम्प्युटर क्रान्तिका फलस्वरूप साइबर साहित्यले प्रसारित हुने अवसर पाएको हो । सन् १९९० को मध्यतिर सूचनाप्रविधिको व्यापकतासँगै यसले स्थायित्व पाउनाका साथै प्राज्ञिक एवम् शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका लिएको देखिन्छ ।

साइबर आख्यानको वैश्विक सन्दर्भ हेर्दा विलियम गिब्सनले निउरोमान्सर (सन् १९८४) साइबर पङ्क उपन्यासद्वारा क्रमशः यसको थालनी र उत्कर्षपूर्ण प्रयोग गरेका हुन् । नेपाली साहित्यमा पूर्णतया साइबर उपन्यासको पहिलो बान्कीका रूपमा जिरो कटेज (२०६८) देखा परेको छ । यसपछि अरू केही उपन्यासमा समेत यसको पूर्ण वा आंशिक प्रयोग भएको पाइन्छ जस्तै – रमेश पौडेलको द सुप्रिम ह्युमन उपन्यासमा पूर्णतः साइबर प्रयोग छ भने होमराज आचार्यको टुल्कु उपन्यासमा आंशिक साइबर प्रयोग छ । नेपाली साहित्यमा उपन्यासको तुलनामा कथामा साइबर संस्कृतिको बढी प्रयोग भएको देखिन्छ ।
समकालीन साइबर कथा लेख्ने कथाकारहरूमा अनमोलमणि, मनोज बोहोरा, सुषमा मानन्धर, इन्दिरा प्रासाईँ, लक्ष्मणप्रसाद गौतम, भारती गौतम, विद्या सापकोटा, गोविन्द बेल्बासे, बखतबहादुर थापा, शर्मिला खड्का, मिलन सङ्ग्रौला, दीपकजङ्ग हमाल, निर्मल ज्ञवाली, उदय गौतम, भुवन त्रिपाठी, राजेश नतांश, श्रीधर पौडेल, सुविसुधा, सुमन मञ्जरी, ऋषिराम पाण्डे, जनकराज भट्ट, विप्लवमान सिंह, सविना सिन्धु, होम सुवेदी, झलक सुवेदी, सविन सिंह, धीरजकुमार श्रेष्ठ, मणि लोहनी, सुमन घिमिरे, मिलन बगाले, क्रिस लेटाङ, हरि घिमिरे, विन्देश मगर, विभोर बराल, राजकुमार पण्डित क्षेत्री, सुधीर ख्ववि, महादेव अधिकारी, बिजु अधिकारी आदि पर्दछन् ।

आजको साइबर संस्कृतिका विविध आयामहरूलाई विषय, पात्र र परिवेशमा समायोजन गरेर कथा लेख्ने स्रष्टाहरूको निकै लामो सूची बन्न पुग्छ । अतिसंक्षेपमा पूवोक्त केही चर्चित समकालीन कथाकार र तिनका साइबर संस्कृतिसम्बद्ध कथाकृतिको विवरणात्मकरूपमा प्रस्तुति यहाँ सान्दर्भिक हुने छ ।
साइबर संस्कृतिका विविध आयामहरूमा आधारित भएर लेखिएका समकालीन कथाहरूमा अनमोलमणिको टेस्ट्युब बेबी र मेरी प्रेमिका (०६६), मनोज बोहोराको ह्याकर (सन् ०१०), सुषमा मानन्धरको साइबर नशा (सन् ०१२), इन्दिरा प्रसाइँको त्यो रात (सन् ०१३), लक्ष्मणप्रसाद गौतमको उत्तर आधुनिक प्रेम पाँच(०६६), भारती गौतमको साइबर साइनु (०११), विद्या सापकोटाको नीलो तृष्णा(०११), गोविन्द बेल्बासेको दैलो लगाएको आवाज ( ०१०), बखतबहादुर थापाको कम्प्युटर आतङ्क(०६७) शर्मिला खड्काको फेसबुक वास्तविकता (०११), मिलन सङ्ग्रौलाको च्याट गर्ल(०१३), दीपकजङ्ग हमालको मार्लिन (०१२), निर्मल ज्ञवालीको भर्चुअल रियालिटी (०१३), उदय गौतमको अधुरो कुरा (०१३), भुवन त्रिपाठीको फेसबुक जोन (०१२) र प्रथम खगोलीय शिखर सम्मेलन(०१२), राजेश नतांशको फेसबुकको वास्तविक फेस (०६७), श्रीधर पौडेलको लिभिङ टुगेदर, सुविसुधाको बदलिँदो बादल र स्वास्नी मान्छे(०६७), सविना सिन्धुको समाचार वाचक, ऋषिराम पाण्डेको डायरी तथा विप्लवमान सिँहको कम्प्युटर कथाजस्ता कथाहरू कथासङ्ग्रह, अखबार र अनलाइन पत्रिकाहरूमा प्रकाशित भएका छन् । (त्रिपाठी ः ०७१) पूर्वोक्त कथाहरूका माध्यमले स्रष्टाहरूले नेपाली समाजमा सघन बन्दै गएको साइबर संस्कृतिको राम्रो स्वरूप देखाएका छन् ।
यिनका अतिरिक्त होम सुवेदीको एसएमएस मोह, झलक सुवेदीको पुरानो प्रेमको नयाँ कथा, शर्मिला खड्काको इमेल नं तीन, सविन श्रेष्ठको मिसाइल त्राश, धीरजकुमार श्रेष्ठको बालुवाको घर, मणि लोहनीको शरीर दर्शन तथा सुमन घिमिरेको नोस्टाल्जिक इमेलजस्ता कथामा पनि साइबरजन्य चत्रिलाई प्राथमिकता दिइएको देखिन्छ । यसै गरी अनलाइन पत्रिकाहरूमा प्रकाशित मिलन बगाले, क्रिस लेटाङ, हरि घिमिरे, विन्देश मगर, विभोर बराल, राजकुमार पण्डित क्षेत्री, महादेव अधिकारी तथा विजु सुवेदीका क्रमशः सिपीको ढिपी(०१०), फेसबुक (०१३), उत्तरोत्तर स्खलन (०१३), परीक्षण(०१२), तस्वीर भइसकेको मानिस (०१२), फुर्वाको कम्प्युटर (०१२), स्काइपले गर्दा (०१३) तथा अत्याचारी फातुकजस्ता कथाहरू साइबर संस्कृतिमा आधारित छन् ।
खास गरी समकालीन नेपाली कथामा साइबर संस्कृतिको प्रभावलाई आत्मसात् गरेर कथालेखन गर्ने प्रभावी स्रष्टाहरूमा मोहनराज शर्मा, सरुभक्त, पद्मावती सिँह, राजव, अनमोलमणि, इन्दिरा प्रसाइँ, मनोज बोहोरा,उदय गौतम तथा सुषमा मानन्धर आदिको नाम लिन सकिन्छ । यी कथाकारहरूले आफ्ना कथासृजनामा साइबोर्गको सुष्ठु प्रयोगसँगै हाइपर रियालिटी र भर्चुअल संस्कृतिको प्राथमिकताका साथ उपयोग गरेर साइबर संस्कृतिको उत्कृष्ट प्रयोग गरेका छन् ।


क्रमशः

 

bhim-khatiwada

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भिम खतिवडा

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved